‘गगन होइन, आरजु नै बन्छिन्’

‘गगन होइन, आरजु नै बन्छिन्’


भदौ २१ गते प्रकाशित घटना र विचारमा अति रोचक विषयमा एउटा आलेख पढेपछि त्यसमा आफ्नो केही विचार प्रस्तुत गर्ने जमर्को गर्दै छु । यादव शर्माले काङ्ग्रेसको भावी नेतृत्व गगन पुस्तामा कि आरजुको हातमा भन्ने शीर्षकमा लेखेको लेख रोचक लाग्यो । पहिले गगनको साख गिर्दै गएको थियो, स्वास्थ्यमन्त्री बनेपछि काम गरेर उनले देखाए, त्यसको लाभ गगन थापालाई पनि भएको छ ।

गिर्दो साखलाई उनले माथि उठाएका छन् । तर, देशमा बढ्दो भ्रष्टाचार र नेतृत्वको मनपरीतन्त्रलाई हेर्दा भविष्यमा आरजुहरू नै हावी हुन सक्ने देखिन्छ । अहिले आरजुले गर्न नसक्ने के छ ? उनले आफ्नी वृद्ध आमालाई जापानजस्तो देशको राजदूत बनाइदिएकी छिन् । आफ्ना ताबेदारहरूलाई ‘मालदार’ मन्त्रालयको मन्त्री बनाइदिएकी छिन्, प्रधानमन्त्री बनेका आफ्ना पतिलाई मुठ्ठीमा राखेकी छिन्, औँलाको इसारामा नचाएकी छिन् ।

यसरी आरजुलाई पञ्चायतकालकी बडामहारानी ऐश्वर्य (जसलाई पम्फादेवी उपनामले समेत चिन्ने गरिन्थ्यो) सँग लेखमा तुलना गरेको पनि मलाई उचित लाग्यो । यद्यपि भ्रष्टाचारको मामिलामा जे भए पनि चारित्रिक मामिलामा ऐश्वर्यमाथि कसैले प्रश्न उठाउने ठाउँ थिएन । राजा वीरेन्द्रबाहेक ऐश्वर्यको नाम कुनै अर्को पुरुषसँग जोडिएको थिएन । आरजुको चुरीफुरीले गर्दा कुनै बेला जनताका नेता शेरबहादुर देउवा पनि आफूलाई सम्राट् ठान्ने तहमा पुगेका छन् ।

शेरबहादुर सुदूरपश्चिमका जनतालाई त आफ्नो रैती नै ठान्छन्, सत्ताको अहङ्कारले उनी मत्ताहात्तीजस्ता भएका छन् । त्यसैले सार्वजनिक स्थलमा जे पायो त्यही बोल्ने र जसलाई पायो त्यसलाई जथाभावी गाली गर्ने गर्दछन् । देउवा यसैगरी सत्ताको मालिक भइरहने र आरजुले यसरी नै सोहोरिरहने हो भने गगन र उनको पुस्ताले राम्रै काम गरेछन् भने पनि नेतृत्वमा स्थापित हुन गाह्रो छ । आरजु नै देउवाको वास्तविक उत्तराधिकारी बन्ने ठान्छु म । काङ्ग्रेस पार्टीमा नेता अप्रजातान्त्रिक कार्यकर्ता दास भएकाले पनि मैले उक्त पार्टी आरजु उर्फ नवपम्फादेवीको हातमा जाने देखेको हुँ । लेखक महोदयले पनि यस्तै सङ्केत गरेका छन् । उनलाई म धन्यवाद दिन चाहन्छु ।

– जगतसिंह कठायत, कैलाली