ओलीमाथि निधिको अनौठो आरोप, कांग्रेसको निशानामा एमाले

ओलीमाथि निधिको अनौठो आरोप, कांग्रेसको निशानामा एमाले


– हेमशंकर सिंह (राजविराज)

आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पहिलो शक्ति भएर एमालेलाई उछिन्न यतिखेर नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू तराई झरेका छन् ।

सप्तरी सदरमुकाम राजविराजबाट आज (२७ भदौ मंगलबार)देखि काङ्ग्रेस नेताहरूले चुनावी सभालाई सम्बोधन गर्न शुरु गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगै मधेशवादी दललाई समेत काङ्ग्रेस नेताहरूले आफ्नो निशाना बनाएको अनुभूति गरिएको छ ।

मधेशको मत लिन कांग्रेस नेताहरूले मूलतः संविधान संशोधन प्रस्तावको साहारा लिएजस्तो प्रतीत हुन्छ । प्रमुख प्रतिपक्षी एमालेको असहयोगका कारण संविधान संशोधन हुन नसकी मधेशी जनताको हक–अधिकारको सुनिश्चितता हुन नसकेको दाबी उनीहरूले गरीरहेका छन् । एकातिर मधेशविरोधी र अर्काेतिर विकासविरोधीको रुपमा एमालेलाई चित्रण गरिँदै छ भने अर्काेतिर विभाजित र आफैभित्र पनि मेलमिलाप नभएको तथा राष्ट्रिय राजनीतिलाई थेग्न नसक्ने हैसियतयुक्त शक्तिको संज्ञा मधेशवादी दललाई कांग्रेसले दिइरहेको छ ।

मंगलबार राजविराजमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस मात्र मधेशी भावनाको पार्टी रहेको र एमाले मधेशविरोधी रहेकाले एमालेलाई जवाफ दिन कांग्रेसलाई जिताउनुपर्ने तर्क गर्नुभयो । नेपाली कांग्रेसलाई विजयी गराए मात्र मधेशको सबै समस्याको समाधान हुनेमा जोड दिंदै देउवाले कांग्रेस मात्र देशभक्त, प्रजातन्त्रवादी र मधेशवादी पार्टी रहेको दबी गर्नुभयो ।

कांग्रेस जिते मात्र लोकतन्त्र रहने भन्दै देउवाले मधेशवादी दलभित्र आपसी मेलमिलाप नहुनुका साथै आपसमै शंका, उपशंका रहेकाले उनीहरुले मधेश चलाउन नसक्ने जिकीर गर्नुभयो । राजविराज नगरपालिकामा मेयर र उपमेयरलाई जिताए यहाँ सिटी हल, रंगशालाको निर्माण गर्ने आश्वासनसमेत उहाँले दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशबाटै कांग्रेसको उत्पत्ति भएको र कांग्रेस मात्र जनताको पक्षको पार्टी रहेको दाबी गर्नुभयो । देशलाई नै उज्यालो पार्ने अरुण जल विद्युत योजना नेकपा एमालले मासेको आरोप लगाउँदै पौडेलले नेपाली कांग्रेसले कसैसँग विभेद हुन नदिने कुरामा जोड दिनुभयो ।

यस्तै, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संविधान त्रुटीपूर्ण रहे पनि सो सच्याउन एमाले असहयोगी भएको आरोप लगाउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमहामन्त्री विमलेन्द्र निधिले परिवर्तनलाई व्यवस्थित गर्न संविधान जारी भए पनि त्यसमा रहन गएको कमजोरी सच्याउन संशोधनको बाटो अगाडी बढाइएपछि एमाले पछि हट्नुका साथै बेइमान पार्टीको रुपमा अघिसरेको आरोप लगाउनुभयो । नेकपा एमालेप्रति निकै आक्रामक देखिएका निधीले एमालेलाई गैरजिम्मेवार पार्टीको संज्ञा दिंदै पहाड र मधेशविरोधी पार्टी रहनुका साथै पहाड मधेश र हिमाल एमालले जोड्न नचाहेको आरोप लगाउँदै भन्नुभयो– ‘उ मधेशविरोधी मात्र नभई संघीयतालाई खारेज गर्न लागिपरेको शक्ति हो, एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा त्यहाँका अधिकारीहरुसँग संघीयता मास्न सहयोग मागेका छन् ।’

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा निर्वाचन प्रचार समितिका उप संयोजक रमेश लेखक, नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष डिला संग्रौला, नेपाली कांग्रेस सप्तरी क्षेत्र नं. ३ का क्षेत्रिय सभापति महानन्द यादव, नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव, राज्यमन्त्रीद्वय सिताराम मेहता र तेजुलाल चौधरी, नेवि संघका केन्द्रिय अध्यक्ष नैनसिंह महर, सांसदत्रय सुरेन्द्रप्रसाद यादव, रंजित कर्ण र सकलदेव सुतिहार राजविराज नगरपालिकाका मेयरका उम्मेदवार धु्रव देव तथा उपमेयरका उम्मेदवार सुशिला कुमारी यादव र नगरसभापति शम्भुलाल देव लगायतका वक्ताले नेपाली कांग्रेसको जित सुनिश्चित भएको ठोकुवा गरेका थिए ।