पारा ओलम्पियन लक्ष्मीलाई स्वर्ण

पारा ओलम्पियन लक्ष्मीलाई स्वर्ण


पारा ओलम्पियन लक्ष्मी कुँवरले प्रथम सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर स्पाइनल इन्जोरतर्फको इभेन्टमा स्वर्ण पदक जितेकी छन् । उनी रियो पारा ओलम्पिक सहभागी खेलाडी हुन् । उनले ५० मिटर दुरी १ मिनेट १३ दशमलव ९७ सेकेन्डमा पार गरेकी थिइन् । यस अघि नेपालमा पारा पौडीको २५ मिटरमा मात्र प्रतिस्पर्धा गरिन्थ्यो । पहिलो पटक स्वदेशमा नै ५० मिटरको दुरीको स्पर्धामा सहभागी हुन पाएकोमा उनले खुसी व्यक्त गरिन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको सो प्रतियोगिताको पुरुषको ५० मिटर स्पाइनलमा अक्कल तामाङ प्रथम भए । उनले ५८ दशलमब ७८ सेकेन्डमा दुरी पुरा गरे । एम्पुटीतर्फका ५० मिटर फ्रिस्टाईमा महिलातर्फको स्पर्धामा सिरता छुलुङ प्रथम भइन् । उनले ५५ दशमलव ३८ सेकेन्डमा दुरी पुरा गरिन् । त्यस्तै सो स्पर्धाको पुरुषतर्फ भिम कुमारले ३४ दशमलव १८ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जितेका थिए ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार तथा मेडल प्रदान गरेका थिए । प्रतियोगिताको उद्घाटन भने राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्य र राष्ट्रिय पारालिम्पिक कमिटीका कार्यवहाक अध्यक्ष केदारबाबु शिवाकोटीले गरेका थिए ।

नेपालमा यस अघि पारा पौडी प्रतियोगिता २५ मिटरमा मात्र गराइदै आएकोमा पहिलो पटक ५० मिटरमा स्पर्धा गराइएको राष्ट्रिय पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले बताए । प्रतियोगिता दुइ दर्जन खेलाडीको सहभागीता रहेको थियो ।