दशैँको अवसर पारेर ‘राष्ट्रिय चलचित्र अवार्ड’

दशैँको अवसर पारेर ‘राष्ट्रिय चलचित्र अवार्ड’


नेपाल चलचित्र विकास बोर्डले प्रत्येक वर्ष असार १६ गते संस्थाको वार्षिकोत्सवको अवसरमा वितरण गर्दै आएको ‘राष्ट्रिय चलचित्र अवार्ड’ दशैँको अवसर पारेर वितरण गरिने जानकारी दिइएको छ । सकभर दर्शैअघि नै अवार्ड वितरण गरिने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

प्राविधिक कारण दर्शाउँदै यस वर्षको अवार्ड असारमा वितरण गरिएको थिएन । बोर्डका पदाधिकारी रिक्त भएका कारण अवार्डबारे समयमै निर्णय हुन नसकेको सम्बद्ध पक्षको भनाई छ ।

प्रत्येक वर्ष वैशाख १ गतेदेखि चैत मसान्तसम्म निर्माण भएका नेपाली चलचित्र मूल्यांकन गरी वर्षभरको उत्कृष्ट चलचित्र, नायक,नायिका, निर्माता, छायांकन, गीत, लाइभटाइम अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिन्छ ।

पुरस्कार छनोट समितिको सिफारिसका आधारमा राष्ट्रपतिबाट प्रदान गरिँदै आएको प्रत्येक पुरस्कारका राशि एक लाख रहेको छ ।