मन्त्रिपरिषद् विस्तार गरेर आचारसंहिता उल्लंघन गरेको ठहर

मन्त्रिपरिषद् विस्तार गरेर आचारसंहिता उल्लंघन गरेको ठहर


निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तारले आचार संहिता उल्लंघन भएको ठहर गरेको छ । साथै चुनावको निष्पक्षतामा असर गर्न सक्ने भन्दै यस्ता कार्य नगर्न नगराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेश र संसदको चुनावका लागि भदौ १४ बाट आचार संहिता लागू भएको र सातबुँदे निर्देशन दिइसकेको स्मरण गराउँदै आयोगले पछिल्लो मन्त्रिपरिषद् विस्तार त्यस विपरित भएको ठहर गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकका तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

आयोगले भनेको छ, ‘मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने हुँदा यस्ता किसिमका कार्य नगर्न नगराउन सरकारलाई आग्रह गर्दछ ।’

यो आचार संहिता विपरित भएको भन्दै प्रमुख विपक्षी एमाले र राप्रपासहितका दलले विरोध गरेका छन् ।