मतदाता फकाउन साडीमा एक हजार, एउटै भोजमा दश क्वीन्टलसम्म मासु 

मतदाता फकाउन साडीमा एक हजार, एउटै भोजमा दश क्वीन्टलसम्म मासु 


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेश नं. २ को निर्वाचन निकै खर्चिलो बनिरहेको बताएका छन् ।

उनले पहाडमा भन्दा मधेशमा निर्वाचन बढी खर्चिलो र पैसाको व्यापक चलखेल हुने गरेको पाइएको छ । चुनावी अभियानका क्रममा लामो समय दुई नम्बर प्रदेशमा बसेर फर्किएका प्रचण्डले भने, ‘एउटै भोजमा दश क्वीन्टलसम्म मासु, रक्सीको व्यापक प्रयोग देखि एक जना मतदातालाई साडीमा १ हजार रुपैयाँ राखेर दिने गरेकोले पाइयो । ’

सोमबार सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मधेशको अधिकारका लागि आफ्नो पार्टीले लडेको उल्लेख गर्दै असोज २ गते हुने स्थानीय तहको चुनावमा माओवादी पहिलो पार्टी बन्ने दावी गरे ।

प्रचण्डले मधेश र पहाडबीचको दूरी कम गर्न राष्ट्रिय पार्टीले चुनाव जित्नुपर्ने खाँचो औल्याए । उनले भने, ‘दुई नम्बर प्रदेशका नागरिकलाई राष्ट्रियतासंग जोड्नका लागि पनि राष्ट्रिय पार्टीले चुनाव जित्नुपर्छ, यसले मात्र राष्ट्रियता बलियो बनाउँछ।’

उनले बुथ कब्जा गर्नेहरुको विशेष निगरानी राख्न र कडा सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रीलाई आग्रह गरिएको बताए ।

मधेशमा पञ्चायतदेखि बुथ कब्जा गर्नेहरु अहिलेसम्म रहेको भन्दै रक्सी र मासु खुवाएर बुथ कब्जा नगरे माओवादी मधेशमा पहिलो शक्ति बन्ने सम्भावना रहेको दावी गरे ।