सानुबाबु सिलवाल
अमेरिकामा झन्डै झन्डै सालाखाला ९८ प्रतिशत नेपालीहरु श्रमजीवी अर्थात वर्किङ क्लासमा पर्दछन् । उनिहरु श्रम गर्छन्, बिल भुक्तानी, तिरनतारन समयमै गर्छन् र २ प्रतिशत नेपाली अन्य प्रोफेसनलमा पर्दछन् । अर्थात, उनीहरुको कमाइ सरदर कमाउने अमेरिकनकै हाराहारीमा हुनुपर्दछ।
कानुनी कागजको अभावमा थुप्रै संख्यामा नेपाली श्रमिकहरु शोषित, पीडित र अन्यायमा परेका या भ्वाइसलेस छन् भन्दा भयो। अर्कोथरि ठुलो जमात छ नेपालीहरुको जो अङ्ग्रेजी भाषाको अभावमा रोजगारदाता, साहु अर्थात मालिकबाट दिनदिनै, घन्टैपिच्छे पीडित, शोषित र अप्ठेरोमा छन्, जहाँ आफ्नो भावना पोख्नै सक्दैनन् । श्रममा जाँदा बाटाभरि गाडी वा सार्वजनिक सवारी वा पैदलै जाँदा पनि फोनमा वा म्युजिक सेट कानमा लगाएर नेपाली दोहोरी, नेपाली सङ्गीत सुनेर हिँड्ने समुदाय काममा पुग्दा साहु, को-वर्कर वा आफ्ना म्यानेजरसँग आफ्ना तनाखा, आफ्ना बेनेफिट र मर्का सुनाउन सक्दैनन्, यही भाषाको अभावमा। यो संख्या पुरुषभन्दा महिलाहरुको बढी छ, अर्थात् यस सवालमा नेपाली महिलाको स्थिति झन् दयनीय छ।
अमेरिकी साहु, भारतीय साहु, पाकिस्तानी साहु वा अन्य समुदायका साहुहरुबाट ठगिनु, श्रम शोषणमा पर्नु, सरदर र न्युनतम् ज्याला पनि नपाउनु त छँदै छ हाम्रै समुदाय नेपाली रोजगारदाता, नेपाली साहुहरुबाटै ठगिने, श्रम अनुसारको तलब र ज्याला नपाउनु र आफ्नै जात र आफ्नै नेपालीबाट ठगिनु र श्रम शोषणमा पर्नु अर्को दुखदायी अबस्था विद्यमान छ अमेरिकामा। दुःखको कुरा नेपाली समुदायमै नेपाली समाजसेवक, वरिष्ठ समाजसेवीबाटै आफ्नै नेपाली कामदार, महिलाहरु ठगिनुचाहिँ अर्को पीडा भन्नैपर्ने भयो।
अमेरिकामा रहेका पीडित, शोषित र मर्कामा परेका श्रमिक नेपालीहरुको हितमा चाहेमा एउटा व्यक्तिले त सहयोग गर्न सक्छ भने एनआरएन अमेरिकाले त प्रशस्तै काम गर्न सक्दछ । यसका लागि जनचेतनासहितको अभिमुखिकरण र उद्दारका विविध कार्यक्रम एनआरएन अमेरिकाले सार्न सक्दछ । तर कसरी ?
अमेरिकामा धेरै नेपाली श्रमिकहरुको जीवनबिमा पनि छैन। धेरैलार्इ थाहा पनि छैन जीवनबिमा गर्न जरुरी छ भनेर। कस्तो कुनखाले र कस्तो प्रकारको जीवनबिमा कालन्तरका लागि बढि लाभदायक छ भन्ने पनि धेरै नेपाली श्रमिकहरुलार्इ थाहा छैन अमेरिकामा। बढो जोखिमयुक्त काममा तल्लिन छन् नेपालिहरु । उनिहरुको वर्कर कम्पेन्सेसन, लाइफ इन्सुरेन्स, उनिहरुको वर्किङ बेनेफिटका बारेमा छलफल गर्न सक्दैनन् धेरै महिला तथा पुरुष नेपाली श्रमिकहरु । आफ्नै साहुबाट ठगिने, आफ्ना बेनेफिट, राहत र अधिकारका लागि लडीदिने थुप्रै सरकारी एवम् गैरसरकारी अमेरिकन संस्थाहरु क्रियाशील छन् तर ती पीडित शोषित श्रमिकहरुलार्इ यो जानाकारी, सुचनाको हेक्का नै छ, न कसैले भनिदिन्छन् नै, न त उनिहरु आफ्ना आवाज बुलन्द गर्ने र अधिकारका निम्ति लडीदिने संस्थामा आफ्ना भाबना ब्यक्त गर्ने अवस्थामा नै छन् ।
केहि समयअघि नर्थक्यारोलिनामा एक नेपाली जो १० बर्षसम्म एउटा इन्डियन रेस्टुरेन्टमा, वैधानिक बन्ने कागजको लोभमा परी रेस्टुरेन्टको भित्री पकाउने तातो राफमा ओभनमा रातदिन नभनी काम गर्दा कागज र अलिक बढि तलब बढाइदिनका लागि साहुसँग थरथर काँपेर बोल्दा उनलार्इ अब आइन्दा यसरी बढि तलब र कागजको माग गरेमा डीपोर्ट गरिदिने धम्की दिएपछि आत्तिएर रुवाबासी गर्दै पंक्तिकारसँग सहयोगको याचना गर्न आइपुगे । यो पीडा देखेपछि पीडित नेपाली भाइको उद्दार मात्र नगरी वर्षौंदेखिका अतिरिक्त तलबसमेत दिलाउन भूमिका निर्वाह गरेँ मैले । यो व्यक्तिगत बखानका लागि नभई सचेतनाको लागि यसरी सार्वजनिक गर्दैछु म । यसरी एक पीडित नेपालीलाई दुःखको भूमरीबाट पार मात्र नलगाई वर्षौंको अतिरिक्त तलबका अलावा उही भारतीय साहुले गरिदिएको स्पोन्सरबाट ग्रिनकार्ड पनि हात लागेको छ त्यो भाइलाई । परिवारलार्इ समेत स्पोन्सर गरि अमेरिका ल्याउने तरखरमा छन यतिबेला उनी । यससम्बन्धी आलेख छिट्टै लेख्ने नै छु, ताकि अन्य पीडितलाई प्रेरणा होस् र पाठकवर्गलाई सन्तुष्टि मिलोस् ।
अन्त्यमा, यसरी अमेरिकामा रहेका पीडित, शोषित र मर्कामा परेका श्रमिक नेपालीहरुको हितमा चाहेमा एउटा व्यक्तिले त सहयोग गर्न सक्छ भने एनआरएन अमेरिकाले त प्रशस्तै काम गर्न सक्दछ । यसका लागि जनचेतनासहितको अभिमुखिकरण र उद्दारका विविध कार्यक्रम एनआरएन अमेरिकाले सार्न सक्दछ । तर कसरी ? यसबारे पनि म अवश्य लेख्ने छु ।
प्रतिक्रिया