प्रधानन्यायाधीश पराजुलीसँग प्रमुख निर्वाचन आयुक्तको आग्रह

प्रधानन्यायाधीश पराजुलीसँग प्रमुख निर्वाचन आयुक्तको आग्रह


प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष गोपाल पराजुलीसँग प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित निर्वाचन आयोगका पदाधिकारीले भेटवार्ता गर्नुभएको छ । सर्वोच्च अदालतमा आइतबार भएको भेटवार्तामा प्रधानन्यायाधीश पराजुलीलाई प्रमुख निर्वाचन आयुक्त डा. यादवले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि न्यायाधीश ८७ जना तथा न्याय सेवाका अधिकृत १०८ जना गरी १९५ जना (जगेडा समेत) को नामावली असोज ४ गतेसम्ममा उपलब्ध गराउने व्यवस्थाका लागि आग्रह गर्नुभएको थियो ।

आयोग पदाधिकारीको टोलीले उक्त निर्वाचन प्रयोजनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई लेखी पठाएको व्यहोरा अनुरोध गर्दै प्रधानन्यायाधीशको अध्यक्षतामा रहेको न्यायपरिषद्बाट आयोगलाई विगतमा जस्तै महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा गरेको थियो ।

जिल्ला न्यायाधीशको नेतृत्वमा न्याय सेवा तथा अन्य सेवाका अधिकृतबाट वैशाख ३१ र असार १४ गते स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको स्मरण गराउँदै आयोगका तर्फबाट प्रदेश दुईमा हुने स्थानीय तहको निर्वाचनका लागिसमेत मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा जिल्ला न्यायाधीश तथा न्याय सेवा र अन्य सेवाका अधिकृत खटिनुभएको जानकारी गराइएको थियो ।

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीले आगामी निर्वाचनका लागि पनि निर्वाचन आयोगलाई न्यायाधीश तथा न्याय सेवाका अधिकृत पठाएर सहयोग पु¥याउने बताउनुभएको राससले जनाएको छ । प्रधानन्यायाधीश पराजुलीले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण, स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढंगबाट व्यापक सहभागिताका साथ सम्पन्न भएकामा समस्त न्याय सेवा परिवारका तर्फबाट खुशी व्यक्त गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

भेटका अवसरमा आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी पौड्याल, सुधीर शाह तथा सर्र्वोच्च अदालतका मुख्य रजिस्टार नहकुल सुवेदी र न्याय परिषद्का सचिव राजन भट्टराई र आयोगका सचिव बेगेन्द्रराज शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो ।