सुन लुट्न आएका शम्शेर पक्राउ

सुन लुट्न आएका शम्शेर पक्राउ


सुन लुट्ने योजना बनाएर नेपाल आएका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । एक थान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको पूर्वी चम्पारण रक्सौलको मौजे निवासी महम्मद शम्शेरलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

मौजेलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नियमित चेकजाँचका क्रममा निजलाई गएराति वीरगन्जको बाइपास सडकखण्डको रामटोलबाट पक्राउ गरिएको जानकारी दिइयो ।

पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए अनुसार मोहम्मद वीरगन्जको सुन व्यापारीलाई लुट्ने योजना बनाएर आएका थिए ।

विआर २२ एम ३२६३ नं को मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका शम्शेरमाथि शंका लागी चेकजाँच गर्दा प्रहरीले मोटरसाइकलको सिटमुनी एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन थान गोलीलगायत प्रतिबन्धित सामान फेला पारेको थियो ।

अभियुक्त मुहम्मद हातहतियार मुद्दामा ६ वर्षअगाडि पक्राउ परेर चार वर्ष कैद भुक्तान गरी दुई वर्षअगाडि रिहा भएको प्रहरीले जनाएको छ । रिहा भएपछि पनि पुनः वीरगन्जको सुन व्यापारीलाई लुट्ने योजनासहित मोहम्मद वीरगन्ज छिरेको उनसँगको बयानका आधारमा प्रहरीले दाबी गरेको छ ।

बताइएअनुसार २०६८ असार १४ गते वीरगन्जको माइस्थानस्थित अलंकार ज्वेलर्समा लुटपाट गर्ने क्रममा महम्मदलाई प्रहरीले पक्राउ गरेको थियो ।