बक्सिङमा ‘महाअध्यक्ष’ बन्ने विष्णुगोपालको दुस्साहस !

बक्सिङमा ‘महाअध्यक्ष’ बन्ने विष्णुगोपालको दुस्साहस !


– श्रीविक्रम भण्डारी

कुनै पदीय हैसियतविना नेपाल बक्सिङ संघलाई विष्णुगोपाल श्रेष्ठले हत्याउन खोजेपछि अहिले संघमा हंगामा मच्चिएको छ । श्रेष्ठले जबर्जस्ती ‘महाअध्यक्ष’ बन्न खोज्दा खेलकुद क्षेत्रमा उनको असली अनुहार पर्दाफास भएको भनी आलोचना सुरु भएको छ ।

संघको विधानविपरीत मानार्थ अध्यक्ष हत्याउन सफल भएका श्रेष्ठले सोही पदको फाइदा उठाउँदै बक्सिङ संघमा कब्जा जमाउन लागेको संघका कार्यसमितिका पदाधिकारीले आरोप लगाएका छन् । बक्सिङ संघमा कुनै वैधानिक हैसियत नभएका श्रेष्ठले कसरी संघमाथि धावा बोले यो अहिले अहम र चर्चाको विषय बनेको छ । बक्सिङ संघका अध्यक्ष राम अवालेको सरलपनको फाइदा उठाउँदै श्रेष्ठले यस्तो हर्कत गरेको स्रोतको दाबी छ ।

प्राप्त जानकारीका अनुसार हालै झापामा विष्णुगोपाल श्रेष्ठ, राम अवालेको केही बक्सिङका कार्यसमितिका सदस्यहरुको अनौपचारिक बैठक बसेको थियो । सोही बैठकमा बक्सिङको समग्र विकास र विस्तारको लागि भन्दै एउटा कोर समिति गठन गर्ने उनीहरू बीचमा सहमति भएको बुझिएको छ । त्यसपछि विष्णुगोपाल श्रेष्ठको अध्यक्षमा हालै कोर समितिको गठन भएको थियो । उक्त समितिको सदस्यमा राम अवाले, अर्जुनबहादुर केसी, भोजराज सिटौला, किरणबहादुर श्रेष्ठ, सविन भट्टराई, गौतम सजकु र श्याम अवाले रहेका थिए ।

कार्यसमितिमा बहुमत भएको दाबी गर्दै कोर समिति गठन भएपनि पूर्ण समितिले उक्त कोर समितिलाई खारेज गरको थियो । संघका अन्य पदाधिकारीहरुले नियमसम्मत हुने कुराप्रति आफुलाई कुनै आपत्ति नभएको भन्दै पूर्ण समितिले फैसला मान्य हुने बताएका थिए । त्यसपछि पूर्ण समितिले अहिले कोर समिति आवश्यक नभएको भन्दै खारेज गरेको स्रोतले बताएको छ ।

पूर्ण समितिमा यो विषयमा छलफल हुँदा अधिकांश सदस्यहरुले यसको विरोध गरेका थिए । त्यसपछि कोर समितिको सदस्यमा बसेका संघका महासचिव सविन भट्टाचार्यले पनि असहमति प्रकट गरेका थिए ।

यो विषयमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेसंग सम्पर्क गर्दा उनले यो सबै बक्सिङ खेलको समग्र विकासको लागि श्रेष्ठको अध्यक्षमा कोर समिति गठन गरिएको बताए । पछि यो समितिको वारेमा पूर्ण वैठकमा लैजाँदा साथीहरूले असहमति प्रकट गरेपछि समिति खारेज भएको जानकारी गराएका छन् । जे गर्दा बक्सिङको राम्रो हुन्छ, मैले त्यो गर्ने हो भन्दै अवालेले आफुू साथीहरुको निर्णयको पक्षमा भएको प्रस्ट पारेका थिए ।

त्यस्तै संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले यो सबै विष्णुगोपालको चाल भएको प्रस्ट पारेका छन् । बक्सिङ संघमा हाबी हुन श्रेष्ठले यस्तो खेल खेलेको उनको आरोप छ । अवालेको सोझोपनको फाइदा उठाउँदै आफुलाई महाअध्यक्ष बनाउन श्रेष्ठको यो चालवाजी हो । तर अध्यक्षलाई छायामा पार्ने र सिध्याउने कार्य श्रेष्ठले गर्दासमेत अवालेले उनकै समर्थन गर्नु र उनकै इसारामा किन नाचेका हुन् त्यो बक्सिङको लागि दुर्भाग्य भएको केसीले बताए । श्रेष्ठको बक्सिङमा कुनै हैसियत छैन भन्दै केसीले एउटा सल्लाहकारले किन महाअध्यक्ष बन्न खोजेको हो त्यसको संघका पदाधिकारीले पर्दाफास गर्नुपर्ने बताए ।

यसैगरी संघका सदस्य ओमनारायण श्रेष्ठले उनीहरुले झापामा बसेर के सल्लाह गरे ? कोर समिति बन्नु त्यसैको उपज भएको बताएका छन् । नियमसम्मत हुने कुराप्रति आफुहरुलाई कुनै आपत्ति नभएको बताउँदै बक्सिङ संघमा विनाहैसियतको व्यक्तिलाई कसरी कोर समितिको अध्यक्ष बनाउन सकिन्छ प्रतिप्रश्न गरे ? आखिर को हो, विष्णुगोपाल श्रेष्ठ ? श्रेष्ठ केवल संघको सल्लाहकार मात्रै हो, मानर्थ अध्यक्ष पनि होइन । मानार्थ अध्यक्ष बन्न विधानमा पनि उल्लेख हुनुप¥यो, विधानमै नभएको पदमा श्रेष्ठ कसरी मनार्थ अध्यक्ष भयो ? त्यसको जवाफ पनि अध्यक्ष अवालले दिनुपर्ने ओमनारायणले बताए । यहाँ सवै मिलेमतोमा भएको छ, संघ यसरी चल्दैन, संघ विधान अनुरुप चल्नुपर्छ । यसैकारण आफु लगायत साथीहरुले यसको विरोध गरेर कोर समितिलाई खारेज गरेको उनले बताए ।
यसरी अहिलेसम्म पर्दा पछाडिबाट बक्सिङ संघलाई चलाउँदै आएका विष्णुगोपाल श्रेष्ठले कोर समितिको अध्यक्ष बन्दै बक्सिङ संघ हडप्ने दुस्साहस गरेपछि उनको भित्री रणनीतिको पर्दाफास भएको छ । तर विडम्बना, श्रेष्ठको उक्त चाललाई पूर्ण समितिको बैठकले खारेज गरिदिएपछि उनको बक्सिङ संघको महाअध्यक्ष बन्ने सपना चकनाचुर भएको छ ।