विज्ञान मन्त्रालयमा बोहोरा, वनमा पाण्डे र उद्योगमा थापा

विज्ञान मन्त्रालयमा बोहोरा, वनमा पाण्डे र उद्योगमा थापा


प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । सपथ भने भोलि मात्र हुनेछ ।

कमल थापा नेतृत्वको राप्रापाबाट फुटेर बनेको पशुपति शमशेर नेतृत्वको राप्रपा प्रजातान्त्रिकले मन्त्री परिषदमा पहिलो चरणमा तीन मन्त्रीलाई पठाउने निर्णय गरेको छ ।

पार्टीको आज बसेको बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयमा दीपक बोहोरा, वन मन्त्रालयमा विक्रम पाण्डे र उद्योग मन्त्रालयमा सुनील थापालाई पठाउने निर्णय गरेको हो ।

यसैगरी, उद्योग राज्यमन्त्रीमा रेशम लामालाई पठाउने भएको हो । नयाँ मन्त्रीहरुको सपथ सोमबार बिहान साढे ११ बजे हुनेछ । राप्रपा प्रजातान्त्रिकका १८ सांसद छन् ।

यसअघि बोहरालाई सरकारमा सामेल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गर्दे आउका थिए । तर चर्को दवाबपछि उनलाई समान्य मन्त्रालयका जिम्मेवारी दिन प्रम देउवा तयार भएको बताइएको छ ।

राप्रपा प्रजातान्त्रिकले थप राज्यमन्त्री र सहायकमन्त्री पनि मागेको थियो । तर, प्रधानमन्त्री देउवाले अस्वीकार गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको छ । ‘भोलि विहान ११ बजे सपथ तय भएको छ,’ उनले भने ।

भोलि मन्त्रिपरिषद् विस्तारसँगै देउवा सरकार ५४ सदस्यीय हुनेछ । यो अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् हुनेछ । यसअघि भदौ ४ गतेको विस्तारसँगै देउवा सरकार ५० सदस्यीय भएको छ, जसमा तीन उप्रधानमन्त्री, २३ मन्त्री र २३ राज्यमन्त्री छन् ।