प्रणय शाही बने ‘मिस्टर काठमाडौं’

प्रणय शाही बने ‘मिस्टर काठमाडौं’


जिमखानाका प्रणय शाहीले दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । उनले विभिन्न ५ तौल समूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगिताको ७५ केजीमाथि प्रणय पहिलो हुँदै फाइनल चरणमा प्रवेश गरेका थिए । ५५ केजीमा मसल्स मेनियाका आवाज प्याकुरेल, ६० केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेसका रमेश कार्की, ६५ केजीमा सुरेश मुनिकार र ७० केजीमा मसल्स एन्ड फिट्नेसका अमितकुमार मण्डल पहिलो भएका थिए । अमितले स्ट पोजरको उपाधि पनि हात पारे ।

प्रणयले मिस्टर काठमाडौंका लागि १ लाख र तौलसमूहमा पहिलो भएवापत छुट्टै नगद १० हजार पुरस्कार हात पारका थिए । अन्य तौलसमूहमा पहिलो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए । दोश्रोले ५ र तेश्रोले ३ हजार नगद हात पारे । मिस्टर काठमाडौंमा ८१ प्रतिस्पर्धी सहभागी थिए ।

त्यस्तै दोश्रो महिला एथलेटिक्स फिजिकमा नेपाल ब्यायाम मन्दिरकी रजनी श्रेष्ठ पहिलो भइन् । मसल्स वल्र्डकी शोभा मानन्धर दोश्रो र सेप्स टु फिट्नेस एन्ड जिमकी सन्ध्या श्रेष्ठ तेश्रो भए । ११ प्रतिस्पर्धी सहभागी महिलाको विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाए ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत प्रथम जुनियर मिस्टर काठमाडौंको उपाधि फिट्नेस फस्ट जिमका दामोदर श्रेष्ठले जिते । न्यु बुल्स जिमका जोन भण्डारी दोश्रो तथा फ्लेक्स जिमका सुजन गुरुङ तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे । यु–२१ उमेरसमूहको प्रतिस्पर्धामा २१ खेलाडी सहभागी थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठ, आयोजक संघका अध्यक्ष सुरेश सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए ।