जहाँ विदेशी पर्यटक हनिमुन मनाउन रूचाउँछन् (मनमोहक दृश्यसहित)

जहाँ विदेशी पर्यटक हनिमुन मनाउन रूचाउँछन् (मनमोहक दृश्यसहित)


– छविलाल बगाले

यतिबेला मनाङ विश्वभर नै प्रख्यात बनेको छ । अन्नपूर्ण र मनास्लु पदमार्गले मनाङलाई मुलुकमा मात्र नभई विश्व समुदायमै चिनाउन सघाएको हो । मनाङको पहिचान र चर्चाले नेपाललाई पनि पहिचान दिलाइदिएको छ ।

एकपटक मनाङ पुग्नेहरु पटक–पटक जान खोज्छन् । कतिपय त दोहो¥याएर अनि ते¥ह्रयाएर पनि मनाङ पुग्ने गरेका छन् । मनाङ भन्ने बित्तिकै सबैको मनमा आइहाल्ने विषय बनेको छ हिमालपारीको सुन्दर जिल्ला । त्यसमा पनि हार मिलेर टलक्क टल्किएका हिमाल, संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल, गुम्बा, माने, चैत्य, तालतलैया अनि हरिया खर्कले मनाङ पुग्ने मनहरुलाई फुरुङ्ग पारिदिने गर्दछ ।

हिजोआज विदेशी मात्रै होइन नेपालकै आन्तरिक पर्यटक पनि शहरी सकस छाडेर केही दिन मन हल्का तुल्याउन या फुरुङ्ग हुन परिवारका साथ मनाङ पुग्ने गर्दछन् ।

मनाङको मनास्लु पदमार्गमा रहेको पोंकर ताल देशी विदेशी पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । पदमार्गमा आएका पर्यटकहरु एकपटक जसरी पनि यस तालमा पुग्ने गर्दछन् । कोही नपुगेर विरहको गीत गाएर बस्न बाध्य यो ताल पछिल्लो केही वर्षयता विदेशीहरुको हनिमुन अनि स्वदेशीहरुको मायाले गद्गद् हुन थालेको छ ।

४१ सय मिटरको उचाईमा अवस्थित पोङ्कर ताल पछिल्ला केही बर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकहरुको रमणिय गन्तब्य बन्दै गएको छ । मनास्लु पदमार्गमा पर्ने यो ताल मनास्लु हिमालको काखमा अवस्थित भएकोले पर्यटकको रमणिय गन्तब्य बनेको हो ।

गोरखाको आरुघाटबाट पैदलयात्रा गर्दै आएका पर्यटकहरु एकपटक पोङ्कर तालसम्म पुगेर फर्कने गरेको भिमथाङस्थित होटल पोङ्करका संचालक धनबहादुर गुरुङ बताउँछन् । उनका अनुसार पर्यटकहरुले एकदिन समय लम्ब्याएर पनि ताल पुग्ने गर्दछन् । ‘मनास्लु पदमार्गको काखमा रहेको यो तालले सात समुन्द्रपारीका मात्रै होइन् स्वदेशी पर्यटकहरुको पनि मन जितेको छ’– धनबहादुर भन्छन्, ‘भीमथाङबाट डेढ घण्टाको पैदलयात्रापछि मनोरम पोङ्कर ताल पुग्न सकिन्छ ।’

नेपालको नक्सा आकारमा फैलिएको पोङ्कर तालमा हिमालका दृश्यहरु छर्लङ्ग देख्न सकिन्छ । कुनै कुशल चित्रकारले बनाएको अवर्णनिय यो तालमा पुग्ने जो कसैलाई पनि लाग्न सक्छ कि हामीले प्राकृतिक सम्पदाको समुचित प्रयोगमा ध्यान दिन सकेका रहेनछौँ । तालको रमणीय दृश्यको अवलोकन गर्नको लागि काठमाडौंबाट मनाङ पुगेका प्रकृतिप्रेमी नारायण भण्डारीले प्रकृतिको बरदानलाई राज्यले प्रयोगमा ल्याउन नसकेको बताए । ‘राज्यले तालको विकासका लागि बेवास्ता गरेको रहेछ ।’ पत्रकार भण्डारीले भने, ‘सरकारले मनाङमा अरबौंं खर्च गरेर खर्बौं लैजान सक्ने ठाउँ मनाङमा छ । यस्ता प्राकृतिक बरदानको प्रयोग गरिएमा मुलकको विकासमा टेवा मिल्नेछ ।’

तालको दृश्यावलोकनका लागि पर्यटकहरु प्रायः बिहानको समयमा पुग्ने स्थानीय पर्यटन ब्यवसायी गुनराज गुरुङ बताउँछन् । विहान सुर्योदयको प्रकाश सिधैं तालमा पर्ने हुनाले पर्यटकहरु सबेरै तालमा पुग्ने गर्दछन् । ‘हिमालबाट बगेको चिसो हावाले तालमा जमेको पानीलाई हल्लाइदिँदा पर्यटकहरु मोहित हुने गर्दछन्’, गुनराजले भने, ‘रमणीय दृश्यका कारण तालमा पुग्नेहरू फर्कन मान्दैनन् ।’

बढि उचाईमा रहेको यो तालबाट मनास्लु, लार्के पिक, पुर्ती हिमाल, चियो, तिल्चे पिक, जरक्याल, हिमलुङ, रत्नचुली लगायतका आधा दर्जन हिमश्रृङ्खलाका मनमोहक टाकुराहरू देख्न सकिने अर्का स्थानीय चेकमान गुरुङ बताउँछन् । उनले मनाङमा अथाह संभावना भएर पनि केही नभएको झै बस्नुपरेको बताए ।

उनका अनुसार मनास्लु पदमार्गभित्रै पर्ने पोङ्कर तालमा पछिल्लो समय हनिमुन मनाउने जोडीहरु पनि पुग्ने गरेका छन् । ‘हिमालमुनिको छुट्टै संसारको अनुभव लिनका लागि नवजोडीहरू पनि तालमा रमाउन आइपुग्छन्’, गुरुङले भने, ‘अब स्थानिय तहमा जनप्रतिनिधीहरु आएकोले केही आशा भने जागेको छ ।’

कुल १८ दिनको पैदलमार्गको रुपमा विख्यात मनास्लु पदमार्गमा भारत, जापान, बेलायत, इजरायल, चाइनिज, अमेरिकी पर्यटकहरु बढि आउने गर्दछन् । यस तालको विकासका लागि दुर्गम विकास समितिले तालको एकातर्फको भागमा गोेरेटो बाटोको निर्माण गरेको छ । स्थानीयहरूले तालको संरक्षण र विकासका लागि राज्यभन्दा पहिल्यै तालसम्म पुग्ने र तालको एकतर्फको भागमा बाटोको निर्माण गरेको पर्यटन ब्यवसायी पुष्पबहादुर गुरुङ बताउँछन् ।

तालसम्म पुग्ने बाटोमा फूलेका रङ्गीबिरङ्गी हिमाली फूल र त्यसको बास्नाले पर्यटकलाई झनै मोहित पार्ने गर्दछ । हिमालप्रतिको मोह, पहाडका रमणीय दृश्य र हिमालका अनुपम रंगहरूको फोटो सुट गर्न पाउँदा पर्यटक निकै खुशी हुने गर्दछन् । ‘मनाङ यस्तो प्राकृतिक वस्तुहरुको भण्डार हो जहाँ हरेक मिनेटमा फरक–फरक सुन्दरता देख्न पाइन्छ ।’ स्थानीय पर्यटन ब्यवसायीसमेत रहेका पूर्वसांसद कोमल घलेले भने, ‘मनसुनको समयमा पदमार्गको पदयात्रा र पोङ्कर तालको भ्रमण गर्न छुट्टै मज्जा आउँछ ।’

पदमार्गमा पहाडबाट कपाल कोर्न फिजाएको केशजस्तो छङछङ गर्दै बगेको अनगिन्ती झरनाहरू, नागबेली आकारमा बगेको मस्र्याङ्दी र दुधखोला, दर्जन बढि खहरे खोला सुसाएको आवाज सुन्न र देख्न सकिन्छ । पदमार्गमा विभिन्न थरिका चराहरुको आवाज, धुपी र सल्लाहरु सुसाएको आवजले यात्रा झनै मज्जा बनाउने गर्दछ । बनैभरि फुलेका फरक–फरक प्रजातिका फूलले हामीलाई मात्रै होइन सात समुन्द्रपारीका विदेशी पर्यटकलाई समेत चकित र मोहित पार्ने गर्दछ ।

चारैतिर हिमालले घेरिएको सुन्दर भुगोलको रूपमा रहेको मनास्लु पदमार्ग अन्तर्गतको तिल्चे गाउँको पूर्वमा मनास्लु, मन्सुरी, चुरागी, पुङ्गी हिमाल छन् भने पश्चिममा घ्याचुकाङ, कंगारु हिमाल, उत्तरमा चियो, हिम्लुङ, लार्के, तिल्चे पिक, निम्चो र ग्ल्यासिया हिमालहरु हार मिलाएर बसेका छन् । जसले पदमार्गमा आउने पर्यटकहरुको मन लोभ्याउने गर्दछ । पदमार्गमा अवस्थित पोंकर तालले पदमार्ग र मनाङको गरिमालाई त उचों बनाएको छ नै त्यसमा पनि मुलुककै इज्जत अझै चुल्याएको र चिनाएको छ ।

मनाङका विशेषता अनेक छन् । मन्दमन्द बतासले हरेक पर्यटकलाई मिठो चुम्बन गरिदिन्छ । फुस्फुसाउने हिँउले अँगालो मार्न आउँदा हरेक व्यक्ति रोमाञ्चित बनेर रमाउने गर्छन । भीर, पहरा, ताल, झरना र कलकल बग्ने खोलाको सुसेलीले हरबखत डाकिरहन्छ । यस्तो भू–स्वर्गको समुचित प्रयोग गरी यश र ऐश्वर्य कमाउन राज्य भने चुकिरहेको छ ।

हुन पनि स्वर्गको एउटा टुक्रा पृथ्वीमा आएर बास मागेजस्तो गरी बसेको छ मनाङ जसले यहाँ पुग्ने हरेकलाई स्वर्गीय एवं स्वर्णीम आनन्दको अनुभूति दिलाउछ नै । मनाङलाई माया गरे मनाङले त्यही मायाको गुन राष्ट्रको शीर सम्मानले गदगद हुने गरी तिर्ने पक्का छ । सबैको मनमा बसेको मनाङलाई माया गर्ने धेरै छन्, दया देखाउने उत्तिकै छन् र सम्मान गर्ने सहृदयी पनि प्रशस्तै छन्, त्यही भएर मनाङको शान चुलिँदो छ, चम्किँदो छ र चर्चित बनिरहेको छ र बनिरहने छ ।

मनाङ नभइदिएको भए मनास्लु पदमार्गमा यात्रा गर्न कोही किन आउँथ्यो होला र ? यो ठाउँको विचित्रताले यस्तै प्रश्न सोध्न लगाउँछ । कुम जोडेर बसेको छिमेकी जिल्ला गोरखा, मुस्ताङ र लमजुङसँगै हातेमालो गर्दै मनाङको सौन्दर्यले बर्षेनी हजारौं पर्यटकलाई लोभ्याइरहेको छ । मनाङका विशेषता अनेक छन् । मन्दमन्द बतासले हरेक पर्यटकलाई मिठो चुम्बन गरिदिन्छ ।

फुस्फुसाउने हिँउले अँगालो मार्न आउँदा हरेक व्यक्ति रोमाञ्चित बनेर रमाउने गर्छन । भीर, पहरा, ताल, झरना र कलकल बग्ने खोलाको सुसेलीले हरबखत डाकिरहन्छ ।

यसरी पुग्न सकिन्छ पोंकर ताल
यस तालमा पुग्नको लागि शुरुमा काठमाडौं, पोखरा, चितवन जताबाट गएपनि लमजुङ सदरमुकामसम्मको यात्रा गर्नुपर्दछ । विहान सबेरै निस्किएमा एकैदिनमा मनाङको धारापानी पुग्न सकिन्छ । धारापानी पुग्नको लागि लमजुङको बेसीशहरस्थित मनाङे चौताराबाट धारापानी सम्मको जीप यात्रा गर्नुपर्दछ । मनाङको धारापानीमा जीपबाट ओर्लिएपछि मस्र्याङ्दी नदीमाथिको झोलुङ्गे पुल तरेर थोंचे हुँदै मनोरम स्थल तिल्चे गाउँ पुग्न सकिन्छ । तिल्चेमा बास बसेका पर्यटकहरु भोलिपल्ट बिहानै पैदलयात्रा गर्दै गोवा, सुर्की, याकखर्क, हाँबु हुँदै भिमथाङ पुगेर बास बस्नुपर्दछ । निकै मनोरम स्थलको रुपमा विख्याथत भिमथाङबाट डेढ घण्टाको पैदलयात्रा पछि पोंकर ताल पुग्न सकिन्छ ।

कति लाग्छ खर्च ?
खान बस्नको लागि मुस्ताङ जिल्लाको तुलानामा मनाङ निकै सस्तो जिल्ला हो । एकरात बस्दा अनि शाकाहारी खाना र मासुसहितको खाना खाँदा एकजनाको बढिमा २ हजार पर्छ । यो रेट सुविधासम्पन्न होटलको हो । यदाकदा मनाङ महँगो छ भनेर पनि केही नेपाली पर्यटकहरू जान नमानेको सुन्ने गरिए पनि सोचेकोभन्दा बढि आदर–सत्कार अनि सस्तो–सुलभ छ ।

हिँड्न नसक्नेका लागि घोडाको ब्यवस्था
ताल जानको लागि पर्यटकहरूले घोडा पनि चढ्न पाउँदछन् । उनिहरुले पोंकरसम्म जानको लागि ५ देखि ७ हजारमा घोडा भाडामा पाउने गर्दछन् । यहाँ घोडामा जानभन्दा सकभर पैदलयात्रा नै गर्दा उपयुक्त हुन्छ । ठाउँ ठाउँमा निर्माण गरिएका पर्यटकीय होटलहरुले पदमार्गमा आउनेहरुलाई सेवा दिने गर्दछन् ।