काङ्ग्रेसको भावी नेतृत्व गगन पुस्तामा कि आरजुको हातमा ?

काङ्ग्रेसको भावी नेतृत्व गगन पुस्तामा कि आरजुको हातमा ?


– देवप्रकाश त्रिपाठी

वृद्ध नेताहरूले लगाएको सिलबन्दी तोडेर काङ्ग्रेसमा कुनै युवाले पार्टीको नेतृत्व तहमा आफूलाई पुऱ्याउन सक्नुलाई सगरमाथा आरोहण गर्नुबराबरको कठिन कार्य मानिन्छ । नेताका नातेदार, पारिवारिक सदस्य या प्रियपात्र रहेका कतिपय व्यक्तिले युवावयमै उच्च तहको मौका पाएका छन् भने त्यसलाई हामीले हेलिकोप्टरबाट सगरमाथाको शिखर चुम्ने अवसर पाएको दृष्टान्तका रूपमा बुझ्नुपर्छ र यसप्रकारको अवसर पाउनेमा महेश आचार्यलगायत केही सीमित व्यक्ति मात्र छन् ।

आन्दोलनको लामो पृष्ठभूमिबाट आएका डा. प्रकाशशरण महत, बालकृष्ण खाण, डा. मीनेन्द्र रिजाल, एनपी साउद, चन्द्र भण्डारी र विश्वप्रकाश शर्माहरू नेता बन्न अझै सङ्घर्ष गर्दै छन् । गगन थापाले पञ्चायतविरुद्धको सङ्घर्षमा योगदान पुऱ्याउन नपाएको भए पनि उनले आफूलाई आजको हैसियतमा पुऱ्याउन ठूलै सङ्घर्ष गर्नुपरेको छ । विद्यार्थी राजनीतिमा क्रियाशील रहँदा स्वयम् गिरिजाप्रसाद कोइराला गगनको वेग रोक्न अग्रसर भएका थिए, कोइरालाको अवरोधलाई समेत पन्छाएर अघि बढ्न गगन सफल भएका हुन् । महेश आचार्य र गगन थापा दुई भिन्न पृष्ठभूमि भएका र भिन्न शैलीमा स्थापित हुन पुगेका व्यक्ति हुन् । गगन थापाले कसैको प्रत्यक्ष संरक्षण या आशीर्वाद प्राप्त गरेको देखिन्न, अप्रत्यक्ष प्रोत्साहन या संरक्षणको चर्चा गर्नु उचित नहुन सक्छ ।

देखिने पक्षका आधारमा भन्नुपर्दा गगन आफ्नै क्षमता र परिश्रमबाट स्थापित युवा नेता हुन्, त्यसैले उनका विरुद्ध अति उच्च तहको षड्यन्त्र रचिएन या उनको यात्रामा अनपेक्षित र अप्रत्यासित अवरोध पैदा भएन भने उनी आफूमा सक्रिय हुन सक्ने ऊर्जा रहँदै काङ्ग्रेसको नेता बन्न सम्भव छ । नेपाली काङ्ग्रेसको आन्तरिक परम्परा, संस्कार र पद्धतिभन्दा भिन्न ढङ्गले स्थापित हुन पुगेकोले गगनका विरुद्ध बाँकी सबैथरी मोर्चाबद्ध हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न र त्यस्तो मोर्चाबन्दीचाहिँ गगनको राजनीतिक भविष्यका निम्ति ज्यादै घातक हुन सक्छ ।

बीपी कोइराला एक विचारक, क्षमतावान्, प्रतिभाशाली, दूरदर्शी र आत्मविश्वासी नेता थिए । उनीजस्ता नेताले समेत न्यून क्षमताका भूदेव राई आफ्नाविरुद्ध पार्टी सभापतिको उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिँदा या यदाकदा आलोचनात्मक भूमिकामा देखापर्दा पनि बीपीले त्यसलाई ‘एन्जोय’ गरे । गणेशमान सिंहले असहमति या विरोध जनाउँदा बीपी त्यसलाई हाँसी–हाँसी ग्रहण गर्थे । तर, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरप्रति सधैँ गम्भीर रहे भने तुल्सी गिरीदेखि प्रदीप गिरीसम्मको क्षमता र बुद्धिलाई प्रयोग–उपयोग गर्ने हार्दिक रुचि बीपीमा पनि देखिएन । बरु उनीहरूसँग बीपी सधैँ होसियार रहे ।

बीपीसँगै काम गरेका कारणले हुन सक्छ कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालासम्ममा विशिष्ट ‘क्वालिटी’ भेटिन्छ । तर, गिरिजाप्रसादको पुस्ताले योग्य र क्षमतावानभन्दा ‘एस म्यान’लाई प्राथमिकतामा राख्ने परम्परा बसाइदिए । आफूसँग असहमत र क्षमतावानजस्ता देखिनेहरूलाई बढार्दै लैजाने र आज्ञापालकहरूलाई मात्र ‘स्पेस’ दिने गिरिजाप्रसादकै शैलीको अनुशरण सुशील कोइरालाले पनि गरेका हुन् र अहिले शेरबहादुर देउवा पनि गर्दै छन् ।

सुशील कोइरालाको आफ्नो निजी परिवार नभएकोले उनले डा. शशाङक, डा. शेखर र सुजाताहरूको उत्थानमै चित्त बुझाएर मृत्युवरण गरेका हुन् । तर, शेरबहादुर देउवाको स्थिति भिन्न छ, देउवाले जति महत्वाकाङ्क्षी र ‘क्षमतावान्’ पत्नी नेपाली काङ्ग्रेसको अहिलेसम्मका कुनै पनि नेताहरूले पाएका थिएनन् । काङ्ग्रेसको समकालीन नेताहरूमध्ये कतिपयका पत्नी क्षमतावान् भए पनि उनीहरू पतिको सफलतालाई नै आफ्नो सफलता ठानेर गृहिणी भूमिकामा अर्थात् गृह व्यवस्थापनमा सीमित भएर बसेका छन् । कतिपय नेताका पत्नीमा चाहिँ महत्वाकाङ्क्षा देखिए पनि क्षमता भएको पुष्टि हुन सकिरहेको छैन ।

कुनै समय कार्यकर्तासँग भेट गर्न गिरिजा गाउँ–गाउँसम्म जाने गर्दथे, गाउँगाउँमा पुगेर गिरिजाले हजारौँ कार्यकर्ता बनाएका पनि थिए । गिरिजाले वर्षौँ लगाएर दुःखसाथ बनाएका कार्यकर्तालाई सुशीलले गिरिजाकै घरको ढोकामा उभिएर आफ्नो बनाएका हुन् । यसरी गिरिजाप्रसादको ढोका कुरेर बस्नेले त काङ्ग्रेसका ‘कार्यकर्ता’लाई आफ्नो बनाएका थिए भने आरजुले त शेरबहादुरको घरै कुरेकी छिन्, देउवाको कारण आरजु होइन आरजुका कारण देउवा बनेको सन्देश प्रवाहित गर्न उनी सफल भएकी छिन् ।

काङ्ग्रेसका भावी नेता र तिनका पत्नीबारे यहाँ चर्चा गर्न आवश्यक ठानिएको छैन । नेताहरूमध्ये देउवा एक मात्र त्यस्ता व्यक्ति हुन् जसले अत्यन्त महत्वाकाङ्क्षी र ‘क्षमतावान्’ पत्नी पाएका छन् । पति देउवासँग पत्नी आरजुले कुन कुरामा कतिसम्म भरोसा राख्छिन् यो सोधखोजको विषय बन्न सक्ला, तर आरजुमाथि देउवाले भर पर्नुपर्ने र भर पर्ने गरेका विषयचाहिँ अनेकौँ छन् । आफूलाई कुनै न कुनै कारणवश मन नपरेका मानिसलाई देउवाको ‘क्लोज सर्कल’बाट उनले टाढा पुऱ्याइसकेकी छिन् र देउवाको घेरा आफूअनुकूलका सीमित व्यक्तिहरूबाट व्यवस्थित बनाएकी छिन् । आफ्नो कान र आँखाभन्दा बाहिर देउवा रहनै नसक्ने गरी उनले देउवाको दैनिकी तय गरेकी छिन् । संसददेखि सिंहदरबार र बालुवाटारदेखि बुढानीलकण्ठसम्म देउवाका निम्ति कुनै त्यस्तो ‘सेपरेट’ स्थान छैन जहाँ आरजुका आँखा, कान नपुगेका हुन् ।

कुनै बेलाका अव्यवस्थित देउवालाई उनले व्यवस्थित त बनाएकै हुन्, देउवाको जतिसुकै निकटका व्यक्ति भए पनि आफूसम्म नआएसम्म कसैको कुनै काम नबन्ने स्थिति पनि आरजुले बनाइसकेकी छिन् । देउवा शक्तिमा रहँदैमा उनले आमालाई राजदूत, भाइलाई धनाढ्य र आफूका लागि निर्वाचन क्षेत्रसमेत बनाइसकेकी छिन् । काङ्ग्रेसमा दशकौँदेखि सक्रिय रही लामो समय जेलजीवन बिताएका र पार्टीको नेतृत्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नेताहरू आफ्ना पाउमा लम्पसार पर्ने स्थिति पनि आरजुले बनाएकी छिन् । र, शक्तिकेन्द्रको छेउछाउमा बस्नेहरूले समेत आफ्ना लागि कति ठूलो स्थान बनाएका हुन्छन् भने आरजु त बीचैमा छिन् र, स्वयम् शेरबहादुर देउवासमेत उनको अघिल्तिर उभिएर गिडगिडाउनुपर्ने अवस्था बनिसकेको छ । राजा वीरेन्द्र सक्रिय राजनीतिमा रहँदा उनी आफ्नी पत्नीका अगाडि जति निरीहझैँ देखिन्थे, आरजुले रानी ऐश्वर्यालाई बिर्साउँदै लगेकी छिन् । राजतन्त्र विस्थापित भए पनि महारानीको स्मृति उनले दिलाएकी छिन् ।

सुशील कोइरालाले गिरिजाप्रसाद कोइरालाको ढोका या ढोकाछेउको कोठा कुरेकै भरमा पार्टीको सभापति र देशको प्रधानमन्त्री पद हात पारेका थिए, अराजुको स्थिति सुशीलको भन्दा अनेकौँ दृष्टिले उच्च छ, भिन्न छ । सुशील कोइराला आफैँमा क्षमतावान् मानिँदैनथे, उनमा वाक्कला, वाक्पटुता, अध्ययनशीलता, चिन्तनशीलता र गतिशीलता थिएन । र, गिरिजाप्रसादले उनलाई आफ्नो उत्तराधिकारीको रूपमा सोचेकासम्म पनि थिएनन् । यसका बाबजुद सुशीलले काङ्ग्रेसको सभापति र प्रधानमन्त्री पद हात पारेका थिए ।

अपमान, उपेक्षा र चरम आलोचना सहेर पनि सुशीलले गिरिजाप्रसादको ढोका छोडेनन् । गिरिजाको ‘डम्पिङसाइट’ बनेर उनी सधैँ छेउमा उभिइरहे । उनी यसरी गिरिजाको छायाझैँ देखिँदा मानिसले ठाने– गिरिजाप्रसादको सबभन्दा नजिकका मानिस यिनै हुन् । जसले गिरिजासँग भेट गर्ने मौका पाउन सक्दैनथे, तिनले सुशीललाई भेटेर चित्त बुझाउँथे । कुनै समय कार्यकर्तासँग भेट गर्न गिरिजा गाउँ–गाउँसम्म जाने गर्दथे, गाउँगाउँमा पुगेर गिरिजाले हजारौँ कार्यकर्ता बनाएका पनि थिए । गिरिजाले वर्षौँ लगाएर दुःखसाथ बनाएका कार्यकर्तालाई सुशीलले गिरिजाकै घरको ढोकामा उभिएर आफ्नो बनाएका हुन् ।

यसरी गिरिजाप्रसादको ढोका कुरेर बस्नेले त काङ्ग्रेसका ‘कार्यकर्ता’लाई आफ्नो बनाएका थिए भने आरजुले त शेरबहादुरको घरै कुरेकी छिन्, देउवाको कारण आरजु होइन आरजुका कारण देउवा बनेको सन्देश प्रवाहित गर्न उनी सफल भएकी छिन् । दासवृत्तिका विचारविहीन कार्यकर्तालाई कसरी प्रयोग–उपयोग गर्न सकिन्छ भन्ने विषयको ज्ञानसमेत आरजुले प्राप्त गरिसकेको बुझिन्छ । नेपाली काङ्ग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनसँग कुनै प्रकारको नाता–साइनो नभए पनि शेरबहादुर देउवासँगको साइनोको भरपूर उपयोग आरजुले गरिरहेकी छिन् । देउवाको कार्यकाल पूरा हुँदासम्म नेपाली काङ्ग्रेसकै साइज के हुने हो भन्ने मात्र चिन्ताको विषय हो, जुन साइजको भए पनि आरजुले देउवाको उत्तराधिकारी बन्ने सम्पूर्ण आधारचाहिँ खडा गरिसकेकी छिन् ।

गगनको पुस्ताभन्दा अगाडि काङ्ग्रेसका दर्जनौँ नेता छन् । डा. शशाङ्क कोइराला, डा. रामशरण महत, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, बालकृष्ण खाण, ज्ञानेन्द्र कार्की, एनपी साउद र चन्द्र भण्डारीदेखि विश्वप्रकाश शर्मासम्म पनि गगनभन्दा अगाडिको पुस्ताका नेता हुन् । उल्लिखित नामहरूमध्ये पार्टीको नेतृत्व लिन सक्ने क्षमता सबैजसोमा देखिन्छ । तर, काङ्ग्रेसमा मानिसको भिड कि त अहिले शक्तिशाली रहेका शेरबहादुर देउवाकोमा लागेको छ, कि गगन थापातिर ज्यादा आकर्षित भएको देखिँदै छ । यही स्थितिले निरन्तरता पाइरहेमा भोलि यस्तो अवस्था पनि उत्पन्न हुन सक्छ, जहाँ काङ्ग्रेसका आमनेता–कार्यकर्ताले आरजु या गगनमध्ये एउटालाई रोज्न बाध्य हुनुपरोस् ।

आरजुको राप, ताप र गगनको वेगबाट जोगिन काङ्ग्रेसका बाँकी सबै नेताहरू एकै स्थानमा उभिए भने त्यसले काङ्ग्रेसभित्र एउटा प्राकृतिक मेरुदण्डीय धारको निर्माण नगर्नेचाहिँ होइन, तर उल्लिखित सबै नेताहरू एक ठाउँमा रहनचाहिँ मुस्किल छ । बरु कुनै न कुनै निहुँमा आरजु या गगनमध्ये एउटाको पछिल्तिर उभिन ढिलो, चाँडो जोकोही नेता तयार भए भने आश्चर्य नहुन सक्छ, त्यतिबेलासम्ममा काङ्ग्रेसको आकार, प्रकार र प्रभावचाहिँ कति बाँकी रहन्छ भन्ने मात्र चिन्ता र जिज्ञाशाको मूल विषय हो ।

काङ्ग्रेस यस्तो अजिङ्गर हो, जसमा भयङ्कर प्रतीत हुने प्राणी पनि पचाउन सक्ने क्षमता अहिलेसम्म छ । काङ्ग्रेसलाई जो–जसले आफ्नो ठाने पनि काङ्ग्रेसले कसैलाई पनि आफ्नो ठान्दैन । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूलाई त बहिर्गमन गराउन यो पार्टी तयार हुन्छ भने अरू कसैले काङ्ग्रेसलाई आफूबिना चल्नै नसक्ने ठानेको छ भने त्यो केवल भ्रम मात्र हुन सक्छ । बीचको पुस्ता एकजुट हुन सक्दा केही समय तिनको हातमा काङ्ग्रेस रहन सम्भव भए पनि ती नेता एकजुट हुने या हुन सक्ने सम्भावना क्षीण भएकोले काङ्ग्रेसको भविष्य गगन पुस्तामा या आरजु राणाको हातमा पुग्न सक्ने सम्भावना बढ्दै गएको छ ।