सिमेन्ट उद्योगको तातो हावाबाट बिजुली निकालिने

सिमेन्ट उद्योगको तातो हावाबाट बिजुली निकालिने


सिमेन्ट उद्योगले बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर चार मेगावाट विद्युत् उत्पादन गर्न लागिएको हो । यसरी खेर गएको तातो हावालाई प्रयोग गरेर विद्युत् निकाल्ने प्रणाली जडान गर्न लागिएको नेपालमै पहिलो पटक हो ।

चीन भ्रमणमा जाँदा यस्तो प्रविधि देखेपछि वाष्प प्रविधिको प्रयोग गरी बिजुली निकाल्ने अठोट गरेको खुलासा गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका पशुपति मुरारकाले नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५ मेगावाट विद्युत् उत्पादन गरिने बताए । यस्तै, दोस्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गरिने उनको योजना छ । यसरी चार मेगावाट विद्युत् उत्पादन गर्न उद्योगमा थप रु ८० करोड लगानी लाग्ने छ ।

सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणालीको जडानका लागि चीनबाट सामान ल्याउने प्रक्रिया समेत शुरु गरिएको र आगामी सात महिनाभित्र विद्युत् उत्पादन शुरु हुने मुरारकाको दाबी छ ।

सिमेन्ट उद्योगबाट निस्केको तातो हावा खेर गइरहेको र वातावरण समेत प्रदूषित भइरहेको अवस्थामा विद्युत् उत्पादन गर्ने प्रणाली जडान भएपछि वातावरणीय रुपमा कुनै समस्या नआउने दाबी गर्छन् मुरारका ।

मुरारका समुहबाट नेपालमा जगदम्बा, मारुती, शिवम जस्ता निजी क्षेत्रका ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने सरकारी स्वामित्वको उदयपुर, हेटौँडा सिमेन्ट सञ्चालनमा छन् । ती उद्योगमा समेत यस्तो प्रणाली जडान गर्न सकिने बताइन्छ ।