ठाडोभाकाका एक्ला गायक भेडीखर्के साइँला थलिए

ठाडोभाकाका एक्ला गायक भेडीखर्के साइँला थलिए


– छविलाल बगाले

चर्चित तर, लोपोन्मुख ‘ठाडो भाका’का एक मात्र मुर्धन्य गायक भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारी बिरामीले थलिएका छन् । ठाडोभाका सम्राट शिरोमणी ८४ बर्षीय गायक भेडीखर्के साइँला गएको मध्यसाउनदेखि बिरामी परेका हुन् । उनी घरायसी आर्थिक समस्याले राम्रो उपचार पाउन नसकेका उनी राम्रो अस्पतालसम्म पुग्न सकेका छैनन् ।

सुन्दरबजार नगरपालिका–२, सिमहार घर भएका उनि अहिले सुन्दरबजार नगरपालका ६, अर्चलेटोलमा रहेको जेठी छोरीको घरमा बसिरहेका छन् । उनको हेरचाह गर्ने भन्दै श्रीमती पनि उनीसँगै छोरीज्वाइँको घरमा बसेका छन् । अहिले खान नरुच्ने, खोकी लाग्ने, पेट दुख्ने र ज्वरो आउने समस्या बढेको भेडीखर्के साइँलाले बताए ।

भेडीखर्केका एक छोरा र त्नि छोरी छन् । घरमा छोरा भएपनि उनले वास्ता नगर्ने गरेको स्थानीयको भनाई छ । भेडीखर्केका ज्वाइँ शम्सेर लौडारीका अनुसार करिव दश दिनयता उनले खाना खाएका छैनन् । पानी पनि दिनमा मुस्किलले एक कप मात्र पिउने गरेको उनको भनाई छ । जति औषधी गरेपनि निको नहुने लौडारीको बताउँछन् ।

सहयात्री देवीबहादुर गुरुङका अनुसार नागरिकले सम्मान गरे पनि भेडीखर्केलाई सरकारले सम्मान गरेको छैन । सरकारले सम्मान नभई उपचार गराइदिए पुग्ने उनको भनाई छ । नेताको उपचारका लागि करोडौँ पैसा खर्च गर्ने तर सरकारले कलाकारलाई बचाउन कुनै कदम नचाल्ने उनको भनाई छ । गुरुङले भेडीखर्के साइँलाको उपचार गर्न सवै एकजुट हुन अपिल गरे ।

विरामी अबस्थामा रहनुभएका भेडीखर्के साइँलाले भने, ‘बल हुँदा सबैको हाइ–हाई पाए, तर अहिले बिरामी भएर थलिँदा कोही पनि नआउँदा दुख लागेको छ ।’ स्वस्थ हुँदा बोलाएर गित गाउन लगाउनेहरु आजभोली विरामी पर्दा फर्केर पनि नआएको उनले गुनासो पोखे ।

लमजुङको तत्कालीन सिन्दुरे गाविस वडा नम्बर ७, तुर्लङकोटमा वि.सं. १९९० भदौ ३१ गते बाबु बलभद्र अधिकारी र आमा नन्दकुमारीको कोखबाट जन्मिएका अधिकारीले १२ बर्षको उमेरदेखि अहिलेको ८४ बर्षको उमेरसम्म ठाडो भाका गाउँदै आएका छन् । यद्यपी उनका दर्जन बढी गीतहरु पनि रेकर्ड भइसकेका छन् ।

पहिले देउबहादुर दुरा र पञ्चैसुब्बा गुरुङले यस भाका प्रचलनमा ल्याए पनि देशविदेश फैलाउने काम भेडीखर्के साइँलाले गरेका हुन् । २० बर्षअघिसम्म भक्तिमाया दुरासंग विभिन्न कार्यक्रममा ठाडो भाकामा रातदिन छर्लंगै हुने गरी गाउने उनले सबै सहयात्रीलाई गुमाएपछि पछिल्लो समय बन्दीपुरकी उत्तम गुरुङसँग ठाडोभाका गीत गाउँदै आएका छन् ।

उनको उपचार जिल्लामा नभएपछि काठमाडौ ल्याइएको छ । उनको उपचार खर्च सबै सरकारले बेहोर्नुपर्ने एक वक्तव्यमार्फत ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले बताएका छन् ।

ब्राह्मण समाजमा छोराले गीत गाउनु हुँदैन भन्ने प्रचलन रहेको बेलामा पनि उनले खासगरी आफ्ना पिताजीको आँखा कान छल्दै गाउने काम गरी शिखर व्यक्तित्व बन्न सफल भएका अद्वितीय पुरुष हुन् भेडीखर्के । नौ वर्षको उमेरदेखि गाउन थालेको त्यो ठाडोभाका गीत उनले एक महिना अघिसम्म जिल्ला र जिल्लाबाहिर हने मेला महोत्सवहरुमा गाउने गर्थे ।