चुनावको मुखमा एमाले जनकपुरमा तीव्र विवाद

चुनावको मुखमा एमाले जनकपुरमा तीव्र विवाद


चुनावको मुखमा एमाले जनकपुरमा तीव्र विवाद देखिएको छ । उम्मेदवारको विषयलाई लिएर एमाले धनुषामा तीव्र विवाद देखिएको हो ।

एमाले नगर कमिटीका अध्यक्ष सहित जिल्ला कमिटीका सदस्यहरुले शुक्रबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरि असन्तुष्ट सार्वजनिक गरे ।

उनीहरुले नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीबाट सर्वसम्मत भएका उम्मेदवारलाई जिल्ला कमिटीका अध्यक्ष राजकिशोर यादवले उल्टाउने काम गरेको भन्दै आक्रोश पोखेका थिए ।

जिल्ला कमिटीका अध्यक्ष यादवले आर्थिक चलखेलका आधारमा उम्मेदवार उल्टाउने काम गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले पार्टी नेतृत्वले कारवाही नगरे आधिकारिक उम्मेदवारविरुद्ध उत्रने चेतावनी समेत दिए ।
‘पार्टीबाट सर्वसम्मत रुपमा चयन भएका उम्मेदवारलाई पैसा लेनदेन गरेर जिल्ला कमिटीका अध्यक्षले उम्मेदवार उल्टाएका हुन’ सुरेन्द्र राईले भने,‘यसलाई सच्चाउने काम भनेको पार्टी अध्यक्षलाई कारवाही हो । कारवाही भएन भने मधेसमा एमालेलाई ठुलो क्षति पुग्छ ।’

पत्रकार सम्मेलनमा असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार दिने उम्मेदवारहरु समेत उपस्थित भएका छन् ।

पत्रकार सम्मेलनमा बाँडिएको प्रेस विज्ञिप्तिमा जनकपुर उपमहानगरपालिकाको वडा नं ८ मा मोहन उपाध्यायको ठाउँमा दिनेशकुमार सिंह, वडा नं ११ मा रामसिकिल मण्डलको नाममा सर्वसम्मत भएकोमा विनोद मण्डललाई दिइएको, वडा नं १३ मा कमला कवारीको ठाउँमा शुभनारयाण मण्डल, वडा नं २० मा धैर्यकान्त झाको ठाउँमा रामसोभित दास, वडा नं २२ मा रामसोभित मण्डलको ठाउँमा प्रदीप कुमार ठाकुरलाई उम्मेदवार बनाइएको भन्दै असन्तुष्टहरुले आक्रोश पोखेका छन् ।

उनीहरुले जिल्ला कमिटीबाट सर्वसम्मत भएको निर्णय पुस्तिका समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

पार्टीको जिल्ला कमिटीले सर्वसम्मत रुपमा पठाएको नामलाई उम्मेदवार नबनाइएपछि उनीहरु सबैजना स्वतन्त्रमा उम्मेदवारी हालेका छन् । एमालेको असन्तुष्टी धुनषाकै नगराइन र कमला नगरपालिकामा पनि देखिएको छ ।

नगराइन नगरपालिकामा वडा नं ७ का अध्यक्ष ब्रहमदेव मण्डलको ठाउँमा रामदुलार मुखिया, वडा नं ८ को वडा अध्यक्ष सुरेन्द्र मण्डलको ठाउंमा सञ्जय राउत र कमला नगरपालिकाको वडा नं १० को मटुक नाथ महतोको ठाउँमा नगेन महतोलाई उम्मेदवार बनाइएको असन्तुष्टहरुको भनाई छ ।