वित्तीय कानून व्यवहारमा उतार्न अर्थराज्यमन्त्री राणाको निर्देशन

वित्तीय कानून व्यवहारमा उतार्न अर्थराज्यमन्त्री राणाको निर्देशन


२१ बुँदे घोषणा पत्र जारी गर्दै व्यवस्थापन गोष्ठी सम्पन्न

अर्थराज्यमन्त्री उदयशमसेर राणाले २१ बुँदे घोषणा पत्रमा महत्वपूर्ण विषय समेटिएको बताउदै नेपालमा धेरै राम्रा नियम कानुनहरु भएको, धेरै राम्रा कार्यक्रम घोषणा हुने गरेको भए पनि कतिपय अवस्थामा व्यवहारमा उतार्न नसकिएको बताए । उनले दुई दिने व्यवस्थापन गोष्ठीको निस्कर्षको रुपमा जारी भएको उक्त घोषणापत्र व्यवहारमा उतार्न निर्देशन दिए । राजस्व वृद्धिका लागि नयाँ प्रविधिको अवलम्बन गर्नु पर्ने बताउदै मंसिर १ गतेदेखि कार्यान्वयनमा लल्याउने गरी तयारी गर्न निर्देशन दिए । राज्यमन्त्री राणाले समस्याहरु आउने र त्यसलाई सुधार गर्दै जान समेत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

दक्षिण एशियामा विकासको दृष्टिले नेपाल पछि परिरहेको बताउदै अब प्रविधिको विकास र प्रयोगबाट राजस्व संकलनमा जोड दिन र देशलाई समृद्धितर्फ लैजान राजस्व प्रशासनको महत्वपूर्ण भूमिका रहेको उनले बताए । उनले राम्रा कामका लागि मन्त्रालय सधै राजस्व प्रशासनको पक्षमा रहेको समेत जनाए । कार्य सम्पादन गर्दा समस्या आउछ भनेर नया प्रविधिको विकास र प्रयोग नगरी बस्ने भन्दा पनि समस्या आए समाधान गर्दै र सुधार गर्दै जान समेत राज्यमन्त्री राणाले निर्देशन दिए ।

महालेखा परीक्षक टंकमणि शर्माले आफू विभागको महानिर्देशकको पदमा कार्यरत रहंदा कर दिवस तथा पांच वर्षे रणनीतिक सुधारका कार्यक्रमको समेत शुरुवात गरिएको बताए । उनले तीन करोड नेपालीमा १५–१६ लाख मात्र करदाता करको दायरामा आएको देखिएकोले कारोवारमा संलग्न सवै पेशा, व्यवसायीहरुलाई करको दायरामा ल्याउन निर्देशन दिए । महालेखा परीक्षकको कार्यालयले परीक्षणको लागि माग गरेका लेखा, कागजात, विवरण जुनसुकै वखत माग्न र हेर्न सक्ने संवैधानिक व्यवस्थाको बारेमा समेत जानकारी गराएका थिए । उनले अनलाईनलगायत आधुनिक प्रविधिको माध्यमबाट हुने कारोवारमा हुन सक्ने राजस्व चुहावट तर्फ विशेष ध्यान दिन र कर प्रशासनको गरिमा बढाउने कार्यमा क्रियाशिल रहन समेत निर्देशन दिए ।

राजस्व सचिव शिशिरकुमार ढुंगानाले गोष्ठीको निचोडको रुपमा घोषणा पत्र जारी गरेकोमा बधाई दिदै व्यवहारमा आएका समस्याहरुलाई समूहगत रुपमा छलफल गरेका थिए । उनले समस्या के हो र त्यसको समाधान के हो भन्ने पनि पहिचान गर्नु पर्नेमा जोड दिए । त्यसैले पहिचान भएका समस्यालाई समाधान गर्नेतर्फ लाग्न निर्देशन दिदै राजस्व सचिब ढंगानाले कर प्रशासनमा देखिएका समस्या समाधान गर्न तथा आगामी आर्थिक वर्षमा गरिने कामको कार्यान्वयन रणनीति तय गर्न गोष्ठी सफल भएको दाबी गरे ।

उनले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयमा मन्त्रालय सधै साथमा रहेको बताउदै सूचनामा आधारित भएर बजार अनुगमन गर्न र त्यसलाई नतिजामुलक बनाउनका लागि व्यवसायिक ढंगले प्रस्तुत हुन समेत निर्देशन दिए । उनले भने,‘हामीले विगतमा गरेका प्रतिवद्धताहरुको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै हाल देखिएका जल्दा बल्दा विषयहरु पूँजीगत लाभकर, कर परीक्षण र अनुसन्धानको गुणस्तर, सूचनामूलक करदाता दर्ता प्रकृया लगायतका विषयमा विशेष ध्यान दिएर कार्य सम्पादन गर्नु पर्छ ।’ कर्मचारीलाई अनुशासनमा रही पदीय मर्यादामा आँच आउन नदिने गरी कार्य सम्पादन गर्न र सदाचार पद्दतिलाई जीवनको अंगको रुपमा आत्मसात गर्न राजस्व सचिब ढुंगानाले दिए ।

अर्थमन्त्रालयका सहसचिव तथा राजस्व व्यवस्थापन महाशाखा प्रमुख विष्णुप्रसाद नेपालले हाल कर प्रशासनमा काम गर्ने सवै कर्मचारी विषयवस्तुको ज्ञान भएका र सक्षम रहेको बताए । छलफलबाट जारी भएको घोषणापत्र र विषयगत समूहले पहिचान गरेका समस्या र तिनका सुझावहरु कार्यँन्वयन गर्न कर्मचारीहरु सक्षम रहेको समेत उनले दाबी गरे । सहसचिब नेपालले कर परीक्षण, अनुसन्धान, बजार अनुगमन र कर संकलन जस्ता कार्यलाई प्रदर्शनीय प्रभाव हुने गरी कार्य सम्पादन गर्न र करदाता शिक्षालाई करदातामुखी बनाई संचालन गर्न निर्देशन दिए । त्यसैगरी, प्रशासकीय पुनरावलोकनका लागि विभागमा दर्ता भएका निवेदनहरुलाई कार्य योजना बनाई छिटो निर्णयमा पुग्न निर्देशन दिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले गोष्ठीमा अघिल्लो आर्थिक वर्षमा विभाग तथा मातहत कार्यालयबाट भए गरेका कार्यहरु, देखिएका समस्या र समाधानको विषयमा विस्तृत र खुला रुपमा मूल्यांकन, छलफल र समीक्षा गरी सुधारका उपायहरु पहिल्याउने प्रयास गरेको बताए ।
व्यवस्थापन गोष्ठीमा विभाग तथा मातहत कार्यालयले सम्पादन गरेका कार्यहरुको प्रगति विवरण विभागीय प्रस्तुतीमा विस्तृत रुपमा प्रस्तुत गरिएको थियो । साथै, विभागका महाशाखागत रणनीति प्रस्तुती तथा अन्तर्गतका ४९ कार्यालयको कार्यालयगत प्रस्तुतीमा मूल्यांकन, छलफल र समीक्षा गरी सुधारका उपायहरु पहिल्याउने प्रयास गरिएको बताए ।

स्वेच्छिक कर सहभागिताको माध्यमबाट करदातामैत्री कर प्रशासन, पारदर्शीता र जवाफदेहितालाई कार्य सम्पादनको मूल आधार मान्दै सुशासनको माध्यमबाट राजस्व प्रशासनको प्रभावकारितामा वृद्धि गरिने समेत महानिर्देशक कार्र्कीले बताए । उनले कर्मचारीहरुलाई निर्देशन दिदै भने,‘ कर राष्ट्र बिकासको मेरुदण्ड भएकाले जबसम्म करदाता स्वयं उत्प्रेरित भई कर तिर्न आउंदैनन तब सम्म अर्थतन्त्रको आकार अनुरुपको राजस्व संकलन हुन सक्दैन ।’ उनले करदातालाई स्वयं उत्प्रेरित भई कर तिर्न आउने बातावरण तयार गर्ने एक मात्र उपाय प्रभावकारी करदाता सेवा र शिक्षा भएकाले करदाता सेवा र शिक्षा प्रभावकारी भएमा स्वतः कर संकलन पनि सकारात्मक दिशातर्फ जाने भएकाले कार्यालयबाट प्रदान गरिने सेवा यस तर्फ केन्द्रित हुन समेत निर्देशन दिए ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत शिवादेवी दाहालले आफ्नो कार्यालय विगत ३ वर्ष लगातार दोस्रो भएकोमा यस वर्ष प्रथम भएको जानकारी दिए । उनले करदाताको सहयोग र कर्मचारीको मेहनतकै कारण सो कार्यालय प्रथम भएको बताउदै विभागले हरेक समय परेका अप्ठेराहरुको समाधान गरिएको तथा मन्त्रालयबाट दिने निर्देशनलाई आफूहरुले मार्गदर्शनको रुपमा लिने गरेको बताए ।

आन्तरिक राजस्व विभागले संचालन गरेको व्यवस्थापन गोष्ठी २१ बुंदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७३/७४ मा समग्र कार्य सम्पादनमा उत्कृष्ट भएका कार्यालयहरुलाई अर्थराज्यमन्त्री उदयशमसेर राणाले प्रशंसापत्र प्रदान गरेका छन । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगर प्रथम, भरतपुर द्वितीय, दाङ तृतीय तथा लतिपुर चौथो स्थान प्राप्त गर्न सफल भएका थिए ।