मुम्बई बिस्फोटका दोषीलाई मृत्युदण्डको सजाय, २ लाई जन्मकैद

मुम्बई बिस्फोटका दोषीलाई मृत्युदण्डको सजाय, २ लाई जन्मकैद


सन् १९९३ को १२ मार्चमा मुम्बईमा भएको श्रृंखलाबद्ध बमकाण्डमा मुम्बईको विशेष टाडा अदालतले अबू सलेम र करीमउल्ला शेखलाई उम्र कैदको सजाय सुनाएको छ । दुवै माथि २–२ लाखको जरिवाना पनि लगाइएको छ ।

सलेमले १ सयवटा ग्रिनेड मुम्बई ल्याएको पुष्टि भएको थियो । यस मुद्दामा गत जुन १६ मा अबू सलेमसहित करीमउल्ला शेख, रियाज शेख, फिरोज अब्दुल राशिद खान, ताहिर मर्चेन्ट र मुस्तफा दौसालाई दोषी करार गरेको थियो ।

एबिपि न्युजका अनुसार यसमध्ये मुस्तफा दौसाको जुन २८ मा मृत्यु भइसकेको छ । अदालतले अब्दुल कय्युमलाई निर्दोष करार गरेको थियो । ताहिर मर्चेन्ट र फिरोज खानलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

न् १९९३ को १२ मार्चमा मुम्बाईको विभिन्न स्थानमा १२ वटा बम विस्फोट भएको थियो । घटनामा २५७ जनाको मृत्यु भएको थियो भने ७ सयभन्दा बढी घाइते भएका थिए । दाउद इब्राहिमले बाबरी मस्जिद भत्काएको बदलामा बम हमला गराएको बताइन्छ ।

सन् २००६ मा यस मुद्दामा पहिलो फैसला आएको थियो । जसमा यस मुद्दाका १२३ आरोपीमध्ये १ सय जनालाई सजाय सुनाएको थियो । २३ जनालाई रिहा गरिएको थियो ।

याकूब मेमनलाई यसै फैसलामा सजाय सुनाएपछि सन् २०१५ को जुलाई ३० मा महाराष्ट्रको यरवडा जेलमा फाँसी दिइएको थियो ।

अबू सलेम, करीमउल्ला शेख, रिजाय शेख, फिरोज अब्दुल राशिद खान, ताहिर मर्चेन्ट, अब्दुल कय्युम र मुस्तफा दौसालाई सन् २००२ पछि विदेशबाट सुपुदर्गी गरेर ल्याइएको थियो । यिनीहरुको एकै साथ सुनवाई गरिए फैसलामा ढिलाई हुने भन्दै अदालतले अलग्गै सुनवाई गरेको थियो ।