मुम्बई बम प्रकरण : अबू सलेमलाई जन्मकैदको फैसला

मुम्बई बम प्रकरण : अबू सलेमलाई जन्मकैदको फैसला


सन् १९९३ मा भारतको मुम्बईमा गरिएको बम आक्रमण मामलामा सुनुवाई गर्दै आएको ‘टाडा अदालत’ले घटनाका अभियुक्त अबू सलेम र करिमुल्लाह शेखलाई जन्मकैदको फैसला सुनाएको छ । अन्य अभियुक्तहरु ताहिर मर्चेन्ट, फिरोज अब्दुल, रशिद खानलाई मृत्युदण्ड नै दिने र रियाज सिद्दिमीलाई १० वर्षको सजाय सुनाइएको छ ।

सरकारी लयर उज्जल निकमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सम्बन्धित पात्रहरुले उल्लिखित सजाय एकसाथ भुक्तान गर्नुपर्ने छ, जेलमा हालसम्म बिताएको समयचाहिँ सजायको अवधिबाट कट्टा गरिने छ ।

हाइ प्रोफाइल अभियुक्त सलेमलाई कोर्टले आतंकवादसम्बन्धी गतिविधिमा संलग्न रहेको पुष्टि गरेको थियो । सलेममाथि लागेको हतियार तथा बमका सामग्री ओसारपसार गरेको आरोप पनि पुष्टि भएको थियो ।

वलिउड फिल्म उद्योगमा अवैध लगानी गर्ने सलेम तिनै पात्र हुन् जसले सञ्जयदत्तलाई समेत हतियार उपलब्ध गराएर समस्यामा पारेका थिए ।

१२ मार्च १९९३ मा भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सिरियल बम आक्रमण गरिएको थियो, जसको चपेटामा परेर २ सय ५७ निर्दोष नागरिकले ज्यान गुमाएका थिए । सो घटनामा परेर अन्य सयौँ घाइते भएका थिए ।

उक्त घटना कुख्यात अण्डरवल्र्ड डन दाउद इब्राहिमलगायतको षडयन्त्रअन्तर्गत घटाईको भारतीय प्रहरीले दाबी गर्दै आएको छ । दाउद हालसम्म भूमिगत भई विभिन्न गतिविधिमा संलग्न रहनुको पछिल्तिर पाकिस्तानको हात रहेको आरोप पनि भारत सरकारले लगाउँदै आएको छ ।