० माननीयज्यू, तपाईं राजनीतिमा किन लागेको ?
– ०४६ को जनआन्दोलनमा म बझाङको उच्च श्रेणीको स्कुल सत्यवादी माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्थेँ । त्यस आन्दोलनमा बझाङबाट प्रतिनिधित्व गर्ने नेता–साथीहरूले हामीलाई भेटेर ‘यो देश निरङ्कुश राजतन्त्रले गर्दा बर्बाद भएको छ, अब देशमा प्रजातन्त्र ल्याउनुपर्छ, जनताको शासन चाहिन्छ, जनताको शासनले मात्र देशको विकास हुन सक्छ, परिवर्तन हुन सक्छ, यहाँका अन्याय–अत्याचार, दमन–उत्पीडन सबै हट्न सक्छ’ भन्दै हामीलाई अभिप्रेरित गरे । यति सुनेपछि मलगायतका केही साथीहरू आन्दोलनको जुलुसमा हिँडियो । थप भन्नुपर्दा हामीकहाँ अत्यन्त शोषण, दमन, विभिन्न खालका प्रथा–परम्परा, जातीय छुवाछुत खालका विकृति थिए । त्यसको मार भोग्ने मान्छे म स्वयम् पनि हुँ । यस्ता सबैखाले विकृति–विसङ्गतिको अन्त्य गर्ने साधन राजनीति मात्र हो भनेर ०४६ सालको जनआन्दोलनको अगुवाइ गर्ने साथीहरूले भनेपछि ‘राजनीति नै सबै कुराको मूल नीति हो, यसले नै सबैलाई गाइड गर्छ’ भन्ने धारणाका आधारमा म राजनीतिमा लागेको हुँ ।
० तपाईं पनि पीडितमध्ये पर्नुहुन्छ ?
– नेपालको विभेदकारी जुन जातीय सामाजिक संरचना छ, यसभित्र पनि थप पीडितको रूपमा कहलिएको जातीय समुदायको मानिस हुँ म । मेरो थर ओखेडा हो, जो नेपालको संविधानले खस–आर्य, जनजाति, दलित भनेर छुट्याएको ‘क्लस्टर’मध्ये दलित वर्गमा पर्दछ । अर्थात्, स्थानीय स्तरमा मलाई दलित समुदायको व्यक्ति भनेर बुझेका छन् । दलित समुदाय अहिले पनि जातीय विभेदको मारमा परेको एउटा ‘क्लस्टर’ हो ।
० यो ओखेडा भन्ने थरचाहिँ कसरी भएछ, जानकारी होला ?
– बझाङमा बझाङ्गी राजाले राज्य गर्दा उखेडा प्रथा प्रचलनमा थियो । त्यहाँको जयपृथ्वीनगर कोटमा कटुवाल प्रथाअन्तर्गत ‘हाँको–डाको’ गर्ने (कराएर मानिसलाई कुनै कुराको जानकारी दिने या खबर गर्ने) काम हामीलाई सुम्पिएको थियो । राजाको राजस्व उठाएर राजाकहाँ पु¥याइदिने काम पनि ‘उखेडा’अन्तर्गत पर्दथ्यो । अहिले पनि मेरो घरमा ३५–३६ मुठी जाने मानो छ । त्यो मानाले वर्षेनी प्रत्येक कात्तिकमा चामल उठाउने, जेठमा गहुँ उठाउने, यसैगरी खुर्सानी, कपास, मास ३६ मुठीका दरले उठाएर राजाकहाँ कुरुवाले भरेर बुझाउने ‘उखेडा’ हौँ हामी । त्यो प्रचलनलाई ‘उखडा प्रथा’को रूपमा चिनिन्छ । पछि अपभ्रंश गर्दै उखेडाबाट ‘ओखेडा’ लेख्न थालिएको हो ।
० तपाईंको नाम अफिलाल चाहिँ कसले राखिदिएको नि ?
– यो मेरो नाम पनि बडो अप्ठ्यारो प्रकारको सुनिदोरहेछ । कतिपयले मलाई ‘मुस्लिम हो’ भनेर पनि सोधेका छन् । यो नाम गाउँकै बाहुनले जुराएका हुन् । बझाङमा अफी नाम राख्ने प्रचलन नै छ भन्दा हुन्छ । सन्तान जन्मनेबित्तिकै बाहुनकहाँ गएर समय टिपाएपछि जन्म मुहूर्त हेरेर बाहुनले नै नाम राखिदिने गर्छन् । मेरो जन्मअनुसार राशि वृष परेकाले ‘अ’बाट नाम राखिदिएका हुन् गाउँकै ब्राह्मणले । अफीमा लाल जोडिदिएको हो ।
० तपाईंको नाम अलिक असामान्य नै लाग्छ, अफिलाल ओखेडा नाम भएकै कारण तपाईंले बेग्लै परिस्थिति झेल्नुपरेको त छैन ?
– नामकै कारण असामान्य खालको परिस्थिति झेल्नुपरेको त छैन, तर धेरैले यो नाम बुझ्न नसकेर कसैले अखिलाल त कफीलाल लेखिदिन्छन् । कसैले ओफीलाल त कसैले ओवीलाल पनि लेखिदिएका छन् । ‘दोहो¥याएर नाम भन्नुस् त’ भन्ने त कति हुन्छन् कति ! ओखेडा भन्नेबित्तिकै कोही त ‘बखेडा ?’ पनि भन्छन् भने ‘लफडा’ भनेर जिस्क्याउने पनि भेटिएका छन् । नामचाहिँ अलिक अप्ठ्यारै खालको परेको छ मेरो ।
० त्यसो भए त नामकै कारण ‘विशिष्टता’ हासिल भएको छ भन्दा हुने रहेछ ?
– मेरो नाम एकैपटकमा याद गर्न जो पायो उसैले सकेको अनुभूति मलाई छैन । मात्र दुईजना छन् पहिलोपटकमै नाम सम्झेर सम्बोधन गर्न सक्ने, एक तपाईं पत्रकार देवप्रकाश त्रिपाठी, अर्को हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली । २०६२ सालमा पहिलोचोटि केपी ओलीज्यूकहाँ गएको थिएँ । त्यहाँ उहाँसँग आफ्नो नाम सुनाएपछि कहिल्यै दोहो¥याउनुपरेन, अफिलाल ओखडा भनेर उहाँले एकपटकमै सम्झन सक्नुभयो । आफूसँग वर्षौं काम गरेका कतिपय सहयात्री साथीहरूले पनि अहिलेसम्म मेरो नाम शुद्धसँग उच्चारण गर्न सकेका छैनन् ।
० राजनीतिक क्षेत्रमा आउनुभयो, तर कम्युनिस्ट पार्टी नै किन–कसरी रोजियो नि ? तपाईंको जिल्ला–क्षेत्रतिर त काङ्ग्रेसकै प्रभाव थियो क्यारे ?
– कम्युनिस्ट पार्टी रोज्नुको एउटा कारण छ, कम्युनिस्ट भनेको समानता ल्याउने पार्टी हो, वर्गीय विभेद नगर्ने पार्टी हो भनेर अगुवा साथीहरूले सुनाए । ०४६ को जनआन्दोलनमा हामीलाई सुरुको दिनमा नेपाली काङ्ग्रेसले चारतारे झन्डा देखाइदिएको थियो । त्यसपछि हाम्रै अहिलेको न्यायाधीश हुनुहुन्छ केशव जोशी भन्ने, उहाँ डोटीबाट जानुभो, बझाङ सदरमुकामको एउटा स्थान छ देवीथान भन्ने चौतारो, त्यहाँ सात ताराको झन्डा देखाइदिनुभयो– मलाई झल्झली सम्झना छ । कम्युनिस्ट भनेको समानता हो, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, जातीय विभेदविरुद्ध लड्ने पार्टी हो भनेर सुरुमै भनियो । यसरी सहजै कम्युनिस्ट भइयो । अर्को कारण यो पनि हो कि ०४६ को जनआन्दोलन सफल हुनेबित्तिकै हाम्रै समुदायका साथीहरूले ‘कम्युनिस्ट नै हुनुपर्छ है, काठमाडौंमा कम्युनिस्ट खुलेकै दलितहरूका लागि हो, हाम्रो उत्थान र मुक्तिको काम कम्युनिस्ट पार्टीबाट मात्र हुन सक्छ’ भनेर आग्रह गरे । त्यतिबेला एमाले थिएन, माले भन्ने थियो, अरू के–के थिए, तर हामीलाई चाहिँ कम्युनिस्ट पार्टी भन्ने मात्रै ज्ञान भयो । यसरी समानता अवलम्बन गर्ने, अन्याय–अत्याचार र शोषणविरुद्धको पार्टी भनेर कम्युनिस्टतिर लागियो ।
० अनि, तपाईंले सुरुमा सुने–बुझेकै जस्तो हो रहेछ त कम्युनिस्ट पार्टी भनेको ?
– यस विषयमा भन्नुपर्दा एउटा रोचक घटनाको याद आउँछ । नेताहरूले त्यस्तो कुरा बोले, तर त्यसपछि मेरै गाउँमा जेठको महिनामा गहुँ भित्र्याएर अर्को जेठसम्म रोटी खाने र कात्तिकमा धान भित्र्याएर अर्को कात्तिकसम्म भात खाने किसान र जागिर भएका अधिकांशले नेपाली काङ्ग्रेसको सदस्यता लिए । जे–जति हामी गरिबीको रेखामुनिका, शोषण, दमन, उत्पीडनमा परेका र वर्गीय समुुदायबाट पनि पिल्सिएका हामीजस्ता मानिसले चाहिँ कम्युनिस्ट पार्टीको सदस्यता लियौँ । तर, अहिले आएर यसो हेर्दा एजेण्डागत रूपले हेर्ने हो भने ‘जातीय विभेद अन्त्य गर्नुपर्छ’ भनेर कम्युनिस्टका नेताले कुनै मञ्चमा बोल्न छोडेनन् भलै व्यवहारमा त्यो कुरा कति आयो–आएन आफ्नै ठाउँमा छ । उता काङ्ग्रेसका साथीहरूचाहिँ त्यो कुरा उठान नै नगरिदिने । अझ ०४८ को चुनावताक त ‘कम्युनिस्ट भनेको डुमे पार्टी हो, ६० वर्ष कटेकालाई गोली हान्ने पार्टी हो, आमा–बहिनी, जातभात यसले मान्दैन भन्ने हल्ला चलाइदिएपछि सुदूरपश्चिमका अधिकांश दलित कम्युनिस्ट भए भने दश प्रतिशतजति या एकाध मानिस मात्र दलित समुदायबाट कङ्ग्रेसमा पसे । त्यसपछि पछिल्लो चरणमा जब माओवादीको आन्दोलन चर्किंदै गयो, अनि त अधिकांश फेरि माओवादी भए । एमालेको भन्दा पनि चर्को नारा फेरि माओवादीले दियो । माओवादीका गैरदलित साथीहरू दलितको घरमा आएर बसिदिने, खाइदिने गर्न थालेकाले ‘साँच्चै हाम्रो मुक्तिदाता त माओवादी पो रहेछ’ भन्ने लागेर दलित समुदायबाट माओवादीमा ओइरिने काम पनि भयो ।
० तपाईंलाईचाहिँ माओवादी छिर्न मन लागेन ?
– मलाई पनि निकै प्रयत्न गरिएको थियो माओवादीमा लैजान । तर, म त त्यतिबेलै स्पष्ट भएको थिएँ कि माओवादीको यो घोर उग्र वामपन्थवाद अन्ततः अराजकता पुँजीवाद हुँदै दक्षिपन्थमा पलायन हुन्छ भनेर । त्यसरी सुरुमै हामीलाई गाइड गरिएको पनि थियो । तैपनि बझाङ जिल्ला प्रशासन कार्यालयले मलाई माओवादीको आरोप लगाएर एक वर्षसम्म हरेक दुई–तीन महिनामा तारेख धाउन बाध्य तुल्यायो । त्यतिबेला १६ जनालाई माओवादीको आरोप लगाएर तारेखमा राखिएकोमा म र अर्का एकजना गरी दुईजनाबाहेक अरू सबै माओवादीमै लागेका रहेछन् । त्यतिबेला मलाई माओवादी आरोप लगाएर दुःख दिने प्रहरी अधिकारी हालै डीआईजी भएका छन् । उनीसँग बेलाबेला भेट पनि हुन्छ । हालै भेट हुँदा पनि मैले बेकार मलाई माओवादीको आरोपमा दुःख दिनुभयो भनी ठट्टा गर्दा उनले ‘मैले नियतवश दुःख दिएको होइन, साथीहरूले त्यस्तै रिपोर्ट ल्याए, तपाईंको व्यवहार पनि अलिक उग्रै किसिमको थियो, त्यसैले मेरो नजरमा पर्नुभएको हो’ भन्ने प्रस्टीकरण दिए । वास्तवमा देखाउने आवरण र आन्तरिक व्यवहार फरक भएकोले मलाई माओवादीले आकर्षित गर्न सकेन ।
० सैद्धान्तिक कुरा नगरी भन्नुपर्दा माओवादीको के कुराचाहिँ मन परेन त तपाईंलाई ?
– माओवादी त्यस रूपमा अस्तित्वमा आउनुअघि नै म नेकपा एमालेको इलाका कमिटी सदस्य भइसकेको थिएँ । यसरी पार्टीभित्र आफ्नो जिम्मेवारीअनुसारको वर्चश्व भइसकेको अवस्था थियो । अर्को कुरा माओवादी साथीहरू ०५२, ०५३, ०५४ तिर तास खेल्नेलाई तासै च्यातेर खुवाउने, गाउँमा दुःख गरेर अलिकता कमाएका साथीहरूलाई पनि ‘सामन्ती’ भन्दै जबर्जस्ती चन्दा असुल्ने, अनेक अमानवीय दुःख दिने, अलिकता रक्सी खानेलाई पनि कठोर कारबाही गर्ने, उनीहरूसँग असहमति राख्ने साथीहरूलाई कुटपिट गर्ने, अपहरण नै गर्ने गर्न थाले । कुनै कुरा राम्रै थियो होला, तर कारबाहीको तरिका ठीक थिएन । यसले माओवादीप्रति थप वितृष्ण बनाइदियो । म त सुरुदेखि नै नेपाली समाज उग्र क्रान्तिबाट सम्भव छैन र मौन शान्तिबाट पनि हुँदैन भन्ने सोच राख्ने भएकाले पनि माओवादीको उग्र व्यवहारतिर आकर्षित भइनँ । प्रस्ट भन्नुपर्दा जनताको बहुदलीय जनवादलाई त्यतिबेलै संविधान संशोधन गरेर व्यवस्था गर्न पाएको भए यत्रो रगत बग्ने थिएन कि भन्ने मलाई अहिले पनि लागिरहन्छ । त्यतिबेलाका हाम्रा महासचिव मदन भण्डारीले अघिसार्नुभएको २७ बुँदा तात्कालिक संविधानमा समेटिएको भए मुलुकमा जनयुद्ध नामको दूरावस्था आउँदैनथ्यो भन्ने मलाई लाग्छ । नेपालको राजतन्त्र अन्त्य गर्ने कार्य शान्तिपूर्ण रूपले नै सम्भव छ भन्नेमा म गाइडेड भइसकेकोले माओवादीतिर लाग्ने सोच्दै सोचिएन ।
० हिजो युद्ध गर्दा कस्तो र अहिले हेर्दा कस्तो देख्नुहुन्छ नि तपाईं माओवादीलाई ?
– मैले प्रतिनिधित्व गर्ने पार्टीले पनि झापामा त हतियार उठाएकै हो, टाउको काटेकै हो । अहिलेका केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलजस्ता नेताहरू भूमिगत कालमा अहिलेको प्रदेश नम्बर २ मा एक–एक दलितको घरमा दुई महिना–तीन महिना–६ महिनाका हिसाबले सेल्टर लिएर बसेको इतिहास छ हामीसँग । तर, त्यो त हुलमुलमा जिउ जोगाउन मात्र गरिएको रहेछ भन्ने लाग्छ अहिले आएर हेर्दा । माओवादी, एमाले र काङ्ग्रेसले जातिपाती मान्नुहुँदैन भनेर त भने, तर अहिले यी कुनै पनि दलका व्यवहार बोलीअनुसार छैनन् । गाउँगाउँमा गएर हेरौँ, कुनचाहिँ माओवादी, एमाले र काङ्ग्रेसवालाले दलितलाई आफूसरहको स्थानमा राखेर व्यवहार गरेका छन् त ? घरको ढोका कसले खुला गरिदिएका छन् त दलितका लागि ? ‘आफू त जातपात मान्दैनथेँ, तर घरका फलानाको कारण गाह्रो छ क्या !’ भन्दै बाउ, आमा या दाजुभाइ कसैलाई देखाउँदै दलितलाई अछुत व्यवहार गर्न उल्लिखित कुनै पनि दलका नेता–कार्यकर्ता पनि पछि परेका छैनन् । घरमा वृद्ध अभिभावकहरू भएसम्म मिल्दैन भन्छन्, तर छोराछोरीलाई ‘यिनलाई छुन हुन्न है’ भन्दै सिकाइरहेका हुन्छन् । यो यथार्थ हो । वर्गीय विभेद यस्तो छ भने भ्रष्टाचारका सवालमा पनि पाएपछि बजाइहाल्ने गर्छन्, माओवादीमा त अझ ठाउँ पाएपछि खाइहाल्नुपर्ने, जबर्जस्ती चन्दा असुल गर्नेजस्ता विकृति झन् बढेको छ । माओवादीबाट व्यवसायी साथीहरू प्रताडित छन् । जङ्गलबाट एकाएक सहर छिरे, सहरको चकाचौँध देखेपछि ‘यिनीहरूले लुटेरै बनेका हुन् लौ हामी पनि लुटेर यस्तै बन्नुपर्छ’ भन्ने सोचका साथ झन् बढी बेथिति गर्न थाले माओवादीहरूले । त्यसैले सैद्धान्तिक कुरा छाडौँ, व्यवहारमा पनि झन् अहिले त माओवादी साथीहरू जहाँ जे गर्न पनि तयार भई विकृत बन्न पुगेका छन् । मैले देखेको माओवादीको पहिले र अहिलेको भिन्नता यही हो ।
०६४ को पहिलो संविधानसभाका लागि समानुपातिकमा मेरो पनि नाम थियो, तर पछि म परिनँ । संविधानसभाको त्यो कार्यकाल संविधान नबनाई सकियो । जब पहिलो संविधानसभा विघटन भयो, त्यसको तीन–चार दिनपछि जिल्ला विकास समिति बझाङमा आयोजित एक कार्यक्रममा मैले यो संविवधानसभा किन विघटन भयो थाहा छ ? भनी प्रश्न गरेँ । सार्वजनिक समारोहमा मैले भनेँ कि यो मेरा लागि विघटन भएको हो । अबको संविधानसभामा म जान्छु, म गइसकेपछि संविधान पनि बन्छ भनेर ठोकुवा गरी भनिदिएँ । मेरो त्यो अभिव्यक्ति आफैँमा महावाणीजस्तो हुन पुग्यो ।
० माओवादी र काङ्ग्रेस गजबले मिलेर हिँडेका छन् नि यतिबेला, कस्तो लागिरहेछ ?
– माओवादी आफ्नो अस्तित्वरक्षाका लागि यतिबेला छटपटिइरहेको छ । यता ठूलो दल बनेर शक्तिमा रहनु मेरो पूर्वजन्मकै भाग हो, यसमा कसैले आँखै लाउन पाउँदैन भन्ने सामन्ती मानसिकताबाट ग्रसित रहेको नेपाली काङ्ग्रेस छ । एमालेको बढ्दो शक्तिका अगाडि काङ्ग्रेस डराएको छ । एमालेको अगाडि माओवादी विलय हुने अवस्था छ । एउटै जङ्गलमा दुईवटा सिंह, एउटै म्यानमा दुईटा तरबार रहँदैन भनेजस्तै एउटै राष्ट्रमा दुईवटा कम्युनिस्ट पार्टी रहँदैनन् भन्ने सोच माओवादीले हुर्काइरहेको छ । एकलाइनमा भन्नुपर्दा अस्तित्वरक्षाका लागि माओवादी काङ्ग्रेससँग टाँसिएको छ भने आफ्नो पोजिसन कायम राख्न काङ्ग्रेस माओवादीसँग लहसिएको छ ।
० कुरा जे–जे गरे पनि तीनवटै प्रमुख दलका व्यवहार–शैली उस्तै रहेको चित्रण तपाईंले गर्नुभयो, यसलाई परिवर्तन गर्न बेग्लै केही गर्नुपर्ने ठान्नुभएको छ तपाईंले ?
– तीनवटै पार्टी उस्तै हुन् भनेर त मैले भनेको होइन, जातीय छुवाछुतको प्रसङ्गलाई लिएर मात्र त्यो भनेको हुँ । राष्ट्रियता, जनजीविका, सरकार चलाउने पद्धति–प्रक्रिया त बेग्लाबेग्लै छ यी तीन दलको ।
० के फरक छ त यी तीनमा ?
– २१–२२ प्रधानमन्त्री भइसक्दा अहिलेसम्मकै सम्झनलायक या नम्बर एक ग्रेडिङ गर्न सुहाउने प्रधानमन्त्री भनेका मनमोहन अधिकारी हुन् भने दोस्रो केपी शर्मा हुन् भन्ने मान्छु म । यो यसै भनेको होइन । जनताको पक्षमा नीति निर्माण गर्ने र जनताको पक्षमा हुने खालका बजेट विनियोजन गर्ने यी दुई पात्रका सरकार देखिए । काङ्ग्रेसको सरकारको कुरा गर्नुपर्दा म के देखिरहेको छु भने पार्टीको सरकार बन्नेबित्तिकै काङ्ग्रेसका गाउँ–गाउँका कार्यकर्ता काठमाडौंमा केन्द्रित हुन पुग्छन् । बजेट त धेरै तलै जान्छ, तर उनीहरूलाई किन राजधानी आउनुपरेको हो ? माओवादीको त कुरै पनि के गर्नु र भनेजस्तो लाग्छ । बजेट विनियोजन पनि कस्तो गर्ने भने…, यो त हामीले गरेको हो नि तैँले किन चासो दिनुप¥यो भन्दै अर्को दलका कार्यकर्ता या आमनागरिकलाई हकार्ने, पारदर्शिता भन्ने ठ्याम्मै नभएको । यसर्थ काङ्ग्रेस र माओवादीभन्दा अब्बल खालको सरकार त एमालेले नै चलाउँछ । सारा जनताले बुझेको कुरा हो यो । एजेण्डावाइज कुन पार्टीले बोलिराखेको छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, जनताका जनजीविकाका कुरा, आर्थिक समृद्धिका कुरा, कर्मचारीलाई संरक्षण गर्ने, पत्रकारको सुरक्षा, नागरिकका जिउधनको सुरक्षा आदिमा ध्यान पु¥याउने कुन दल छ त भनी जनताले हेर्दा त्यो एमालेलाई नै देख्छन् । राष्ट्रिय आवश्यकताअनुसारको बजेट निर्माण गरी चुस्तदुरुस्त कार्यान्वयन गर्ने पार्टीका रूपमा काङ्ग्रेस र माओवादीभन्दा एमाले नै अग्रपङ्क्तिमा छ ।
० सन्दर्भ थोरै परिवर्तन गरौँ, तपाईंले यही उमेरमा यति चाँडै सांसद बनौँला भन्ने सोच्नुभएको थियो ?
– नेपालको परिवेशमा उमेरको यो कुरा गर्नु त स्वाभाविक होला, तर अमेरिकालाई हेरौँ त… म अहिले ४४ वर्षको भएँ, बाराक ओबामा ४४ वर्षकै उमेरमा राष्ट्रपति भएका थिए । कैयन देशमा ३५–४० का राष्ट्रपति या ठुल्ठूला ओहादा सम्हाल्न पुगेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवाहरूलाई म सम्मान गर्न चाहन्छु, इतिहास बोकेका व्यक्तिहरूलाई सम्मान दिनुपर्छ, बचाउनुपर्छ भन्छु म । नेपालको राष्ट्रिय राजनीतिक परिस्थिति हेर्दा के देखिन्छ भने नेपाली काङ्ग्रेसभित्र सत्तरीभन्दा माथिकालाई विश्वास गर्ने, एमालेको साठीमाथिकालाई विश्वास गर्ने र माओवादीको अहिले ४०–५० कालाई विश्वास गर्ने परिस्थिति देखिएको छ । जहाँसम्म एमालेको सन्दर्भ छ, समानुपातिक समावेशी प्रतिनिधित्वबिना देश सुखमय र शान्तिपूर्ण ढङ्गले अगाडि बढ्दैन भन्नुका साथै जनआन्दोलन ०६२÷६३ पछि वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक विभेदको अन्त्य गरेर राष्ट्रमा सबैको समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी नगरेसम्म देशलाई शान्त र समुन्नत भएको मान्न सकिँदैन भन्ने जुन नारा तय भयो, त्यसैको प्रतिफलस्वरूप म ४० वर्षकै उमेरमा दलित समुदायको तर्फबाट संसद्मा पुगेको हुँ ।
० यदि दलित समुदायबाट नभएको भए अहिलेको यो तहसम्म आउन सकिन्नथ्यो भन्ने लाग्छ ?
– त्यसो पनि लाग्दैन । जिल्लामा मेरो क्रियाशीलता, व्यवहार, निष्ठा, पार्टीमा लगानी आदिका आधारमा जनताले, साथीहरूले मलाई नेताको रूपमा स्वीकार गरेका छन् ।
० त्यहाँका बाहुन–क्षेत्रीहरूले चाहिँ तपाईंलाई नेता स्वीकार गरेका छन् कि छैनन् नि ?
– स्वीकारेर नै त यहाँसम्म पुऱ्याएका हुन् नि । बझाङका लागि अफिलाल ओखेडा नभईकन हुँदैन भन्ने ठानेर नै यो जिम्मेवारी दिलाएका हुन् भन्ने मेरो बुझाइ छ ।
० बझाङको पार्टी कार्यकर्ता अफिलाल ओखेडा र सांसद अफिलाल ओखेडामा के फरक छ भन्ने ठान्नुभएको छ ?
– पार्टीको कार्यकर्ता हुनु र सांसद हुनुमा फरक मैले के अनुभूत गरेको छु भने सांसद भएकैले तपाईं पत्रकारको आँखा मप्रति प¥यो, पार्टी कार्यकर्ता मात्रै भएको भए नपर्न पनि सक्थ्यो होला । पदीय हिसाबले राज्य सञ्चालनको निकायमा म छु । नीति–निर्माण गर्ने ठाउँमा म छु । सांसद हुनु र एउटा कार्यकर्ता मात्र हुनुको भिन्नता त महसुस गरेको छु, जिम्मेवारीका हिसाबले । कार्यकर्ता मात्र रहेको भए बझाङमै हुन्थेँ हुँला, सांसद भएकाले राजधानीमा रहेर जिम्मेवारी निर्वाह गर्नुपरेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय थुप्रै साथीसँग चिनजान हुने अवसर मिलेको छ, सांसद हुनाले ।
० सांसद भएपछि आफूले के–के काम गर्न सकेँ या गर्न सजिलो भयो भन्ने लागेको छ तपाईंलाई ?
– सांसद भएपछि संविधान निर्माण प्रक्रियामा मैले अत्यन्त जिम्मेवार भूमिका निर्वाह गर्न सकेँ भन्ने लाग्छ । पार्टीले उठाएका विषयवस्तु र नीति–निर्देशनअनुसार संसद्मा बोल्नेमध्येको सांसद हुँ म ।
० संविधान बनाउँदा त तपाईंहरूको भूमिका ताली बजाइदिने मात्र रह्यो, संविधान त केही नेताहरूले न तय गरे, होइन र ?
– संसद्मा प्रस्ताव आएपछि पास गर्दा ताली बजाएको मात्र देख्यो होला देख्ने आँखाले त, तर ताली बजाउने मात्र हाम्रो भूमिका भएन । हामीले विभिन्न समिति–उपसमितिमा बसेर छलफल गरी सुझाव दिने काम गऱ्यौं । जहाँसम्म के–के काम गरियो भन्ने सवाल छ, निर्वाचनका बेला वाचा गरिएको थियो कि संविधान बनाएरै फर्कने छु ! त्यो वाचा पूरा गर्न सकियो । यसमा मैले आफूलाई गौरवान्वित महसुस गरेको छु । यहाँनेर म एउटा सन्दर्भ सम्झन चाहन्छु । ०६४ को पहिलो संविधानसभाका लागि समानुपातिकमा मेरो पनि नाम थियो, तर पछि म परिनँ । संविधानसभाको त्यो कार्यकाल संविधान नबनाई सकियो । जब पहिलो संविधानसभा विघटन भयो, त्यसको तीन–चार दिनपछि जिल्ला विकास समिति बझाङमा आयोजित एक कार्यक्रममा मैले यो संविवधानसभा किन विघटन भयो थाहा छ ? भनी प्रश्न गरेँ । सार्वजनिक समारोहमा मैले भनेँ कि यो मेरा लागि विघटन भएको हो । अबको संविधानसभामा म जान्छु, म गइसकेपछि संविधान पनि बन्छ भनेर ठोकुवा गरी भनिदिएँ । मेरो त्यो अभिव्यक्ति आफैँमा महावाणीजस्तो हुन पुग्यो । कामको कुरा गर्नुपर्दा, बझाङमा अहिले पनि विद्युत्को राष्ट्रिय प्रसारण लाइन छैन । अँध्यारो जिल्ला छ । त्यसैले ३३ केभीए खुडफे–चैनपुर प्रसारण लाइन बझाङ पुऱ्याउँछु, हामीलाई जिताउनुहोस् भनेर आह्वान गरेको थिएँ । यहाँ आइसकेपछि, २७ करोड त्यो विद्युत् आयोजनाको लागत लाग्छ राज्यले चाहिँ एक करोड बजेट विनियोजन गर्छ ! त्यसरी जेठमा टेन्डर गर्ने असारमा फेज फाल्ने पद्धतिलाई तोडेर बहुवर्षीय ठेक्का हुनुपर्छ भनीकन संसद्मा, मन्त्रालय र विभागमा बोलेर, कुदेर अहिले बहुवर्षीय ठेक्का गराउन हामी सफल भएका छौँ । अब छिट्टै यो आयोजना सम्पन्न हुन गइरहेको छ ।
यसैगरी, बझाङको सिरानमा मानसरोवर पर्छ, ताक्लाकोटमा । त्यहाँ भारतीय पर्यटकहरूले तातोपानी हुँदै त्यहाँ पुग्न करिब २२ सय किलोमिटर यात्रा गर्नुपर्छ, दिल्लीदेखि । यदि दिल्लीबाट त्यो बाटो दिल्ली–धनगढी–चैनपुर–ताक्लाकोट बनाउन सक्दा जम्मा सात सय किमि मात्र हुन आउँछ । त्यो बाटोका लागि सरकारले जम्मा एक करोड विनियोजन गथ्र्यो, त्यो कहाँ–कता पुग्थ्यो, सधैँ त्यत्तिकै रहने । हामी आइसकेपछि अर्थात् मैले पनि विशेष भूमिका खेलेर अहिले एक अर्ब तीस करोड बजेट विनियोजन गराएका छौँ । अब छिट्टै त्यो मार्ग निर्माण हुन्छ, त्यसपछि सिङ्गै सुदूरपश्चिमको कायापलट हुनेछ । बझाङ्गी त यति धनी हुनेवाला छन् कि भनिसाध्यै छैन । यो कामका लागि म आफैँलाई गर्व महसुस गर्छु । बझाङलाई यातायात सञ्जालको जिल्ला बनाउँछु भनेर म लागेको छु । सडक, खानेपानीलगायतका योजनामा पनि त्यसरी नै बढोत्तरी आएको छ । यो नेपाल भनेको जसले धायो त्यसले खायो भन्न मिल्ने देश रहेछ हेर्नुस् । खाने भनेको नकारात्मक रूपमा नलिइयोस्, यदि दुःख गर्ने, लागिपर्ने, धाउने हो भने काम गरेर देखाउन सकिन्छ भन्न खोजेको । धाउन सके नहुने काम पनि यहाँ केही छैन, अनि हुने काम पनि हुँदैन फेरि यहाँ लागिनपरे । यस्तो मुलुक हो यो । अर्को कुरा बझाङमा बादी र दलित समुदाय भनेका घरवारविहीन हुन् । मैले जनता आवास कार्यक्रम लागू गराएर घरवासविहीनलाई छानो दिने काम सुरु गराएको छु । चैनपुर अत्यन्त जोखिममा रहेको सदरमुकाम भएकाले चैनपुर बचाउ अभियानअन्तर्गत प्रत्येक वर्ष नौ–दश करोड बजेट विनियोजन गराउन हामी सफल भएका छौैँ । जसले गर्दा सेती नदी तटबन्ध कार्य भएको छ । यस्ता धेरै काम गरे पनि गर्न बाँकी फेरि थुप्रै छन् ।
माओवादी, एमाले र काङ्ग्रेसले जातिपाती मान्नुहुँदैन भनेर त भने, तर अहिले यी कुनै पनि दलका व्यवहार बोलीअनुसार छैनन् । गाउँगाउँमा गएर हेरौँ, कुनचाहिँ माओवादी, एमाले र काङ्ग्रेसवालाले दलितलाई आफूसरहको स्थानमा राखेर व्यवहार गरेका छन् त ? घरको ढोका कसले खुला गरिदिएका छन् त दलितका लागि ? ‘आफू त जातपात मान्दैनथेँ, तर घरका फलानाको कारण गाह्रो छ क्या !’ भन्दै बाउ, आमा या दाजुभाइ कसैलाई देखाउँदै दलितलाई अछुत व्यवहार गर्न उल्लिखित कुनै पनि दलका नेता–कार्यकर्ता पनि पछि परेका छैनन् ।
० जिल्लामा विकासका काम त धेरै गर्नुभएछ, गर्न खोज्दै पनि हुनुहुँदोरहेछ, तर आजभोलि त विकास गरेको भरमा चुनाव जितिँदैन भनिन्छ नि ?
– हो । सामन्तवादी चिन्तनको जालो नेपालबाट अहिले पनि छुटेको छैन । सामन्तवाद होइन कि सामन्तवादी चिन्तन । चार प्रकारका सामन्तवादी चिन्तन अहिले पनि हाबी छन्, एउटा– जातीय सामन्तवादी चिन्तन, म दलितभित्र पनि विक समुदायमा पर्छु । दमाईंलाई सार्कीले नमान्ने, सार्कीलाई कामी (विक)ले नमान्ने, अझ तल दमाईंलाई बादीले नमान्ने, यस्तो छ । बाहुनभित्र हेर्ने हो भने हामीकहाँ एउटा उपाध्याय बाहुन भन्छ, अर्को झरेको बाहुन– जैसी, जोशी भन्छ । ठकुरीभित्र हेर्दा एउटा हमाल भन्ने छ, अर्को ठकुरी भन्छ । क्षेत्री छ– एउटा झर्रा क्षेत्री (उपल्लो क्षेत्री) भन्छ अर्को खस क्षेत्री भन्छ । अर्थात्, यस्तो जातीय सामन्तवादी चिन्तन छ । अर्को– लैङ्गिक सामन्तवादी चिन्तन छ । महिलालाई गन्दैनगन्ने । अर्को– वर्गीय सामन्तवादी चिन्तन, गरिबलाई धनीले पुछ्दैनपुछ्ने ! अनि अर्को सामन्तवादी चिन्तनचाहिँ ‘एज’ (उमेर)को सामन्तवादी चिन्तन । म चालीसको छु भने मैले जति नै राम्रो कुरा गरे पनि साठी वर्षको मानिसले नपत्याउने, २० वर्षको मानिसलाई मैले नपत्याउने ! अब मत (भोट)को कुरा गर्नुपर्दा नेपालको राजनीतिक पद्धति बडो अप्ठ्यारो प्रकारको छ । कुलीन राजनीतिक पद्धति या प्रक्रियाबाट अहिले पनि मत कलेक्सन भइरहेको छ । मेरो बाउले एमालेमा भोट हालेकाले म एमाले हुँ भन्छन् मेरा सन्तान । अस्तिताक एउटासँग भोट मागेको, ‘हामी त बाजेको पालादेखिको काङ्ग्रेस हौँ’ भनेर ओठ लेप्राइदियो मलाई । मैले बुझेअनुसार नेपालमा चार प्रकारका मतदाता छन्, एउटा– नेता मतदाता (जम्माजम्मी पाँच प्रतिशतजति), अर्को– कार्यकर्ता मतदाता छन् (त्यो जम्माजम्मी २० प्रतिशत), अर्को– २० प्रतिशत जति मुद्दा हेरी (इस्युबेसिस) मतदान गर्ने प्रकारका, अर्को २०–२५ प्रतिशतजति कुलीन मतदाता (बाउबाजे जे थिए त्यसैमा लाग्ने) र ३५–४० प्रतिशतजति चाहिँ फ्लेग्जिबल (ढुलमुले) भोटर छन् । यस्ता ढुलमुले मतदातालाई खरिद–बिक्री गर्ने क्रम अहिले पनि जारी छ । राति–राति जाने, कतै राँगा, कतै बोका दिउँला भन्ने, कतै सुरा, कतै पैसा, कतै प्रलोभन दिने । एउटा जागिरको कोटा छ भने पचासजनालाई बाँडेर भोट फकाउन खोज्ने । यो ठूलो समस्या र विकृति हो । बुझेकै आधारमा मतदान गर्ने प्रक्रिया आरम्भ नभएसम्म तपाईं–हामीले नेपालको राजनीतिमा स्थायित्व र राम्रो परिणाम देख्न अत्यन्तै गाह्रो छ भन्ने मैले अनुभूति गरेको छु ।
० खासगरी माओवादीको उदयपछि यो समस्या झन् बढ्दै गएको, चुनावहरू झन् जटिल र महँगो हुँदै गएको, उम्मेदवार बन्न पनि नेतासँग टिकट किन्नुपर्ने अनि भोट पाउन पनि जनतासँग किन्नैपर्ने अवस्था आएको भन्ने मान्नुहुन्छ भने तपाईंले बझाङमा टिकट पाउनुभयो भने पनि अब कसरी विजयी बन्नुहोला त ?
– बझाङमा त राम्रो काम गरेकै कारण जनताले साथ दिन्छन् भन्ने लाग्छ । टिकट पाएँ भने मेरो हकमा त मलाई गाह्रो छैन । एमालेका त छँदै छन्, अरू पार्टीका पनि फ्लेग्जिबल भोट मलाई आउँछ । यसलाई प्रतिनिधि बनाएर पठाए जनताका काम हुन्छ भन्ने विश्वास जगाउन सकेको छु मैले भन्ने लाग्छ । पैसा, प्रलोभनमा होइन मलाई त जनतामा विश्वास छ, मेरो काममा विश्वास छ ।
प्रतिक्रिया