भुवनको अर्को रडाको -राजन घिमिरे

भुवनको अर्को रडाको -राजन घिमिरे


सिनेमा क्षेत्र अनि कलाकारहरूको कुरा पनि बुझिसक्नु छैन । भन्नेहरूले त सही नै भनेका रहेछन् कि यो विचित्रको क्षेत्र हो । त्यसमा पनि चलचित्रका त अधिकांश कुराहरू केवल हावा र हल्लामात्र हुन्छन् । यस्तो भनाइलाई अन्ततः कलाकारहरूको आचरण, शैली अनि व्यवहारले नै प्रस्ट पारिदिँदा झनै चलचित्रका कलाकारहरूमाथिको विश्वास र मान्यतामाथि नै अविश्वासका पाटाहरू बढ्न थालेका छन् । ‘नाम होस्, बद्नाम होस् तर गुमनाम नहोस्,’ भन्ने मान्यतालाई शिरोधार्य गर हिँडेका केही कलाकारहरूको आचरणका कारण अफवाहलाई छोडेर भन्ने हो भने अधिकांश कलाकारहरूमाथिको विश्वसनीयतामाथि बारम्बार प्रश्नचिह्न खडा हुने गरेको छ ।
सस्तो लोकप्रियता, चर्चा अनि नायकका लागि आफ्नो योगदान, उचाइ र क्रेजलाई नै तिलाञ्जली दिन नहिच्किचाउने केही कलाकारहरूकै कारण व्यक्तिगत रूपमा समाजमा कलाकारहरूप्रति हेर्ने दृष्टिकोण फेरिएको छैन । प्रसङ्ग हो अभिनेता एवम् निर्माता भुवन केसीको । अरू केही पनि नसोचीकन आँखा चिम्लिएर कुरा गर्ने हो भने नेपाली चलचित्र क्षेत्रमा भुवनको योगदान र निरन्तरतालाई सधैं सम्मान गर्नैपर्छ । केवल नेपाली सिनेमा नै भनेर रातदिन लागिपर्ने उनको जस्तो त्याग, निरन्तरता अनि समर्पित भावना अन्य कमै कलाकारमा छ । यस्तो वाहवाही वजन र ताली पाउने अनि पाइरहेका भुवन कहिलेकाहीँ आफ्नै घरको कुरालाई सस्तो प्रचारको खुराक बनाएर चर्चामा आउने गर्छन् । अहिले यस्तै गरेका छन् भुवनले र विषय हो भुवन र सुमिष्ताबीचको सम्बन्धविच्छेदको कुरा ।
‘हामीले सात वर्षअगाडि नै डिभोर्स गरेका हौँ, अहिले म र सुष्मिताबीच सम्बन्ध छैन’ यसै भन्न थालेका छन् भुवन आजकल । कहिले डिभोर्स त कहिले मिलापत्र भन्दै मिडियाहरूमा छाइरहने भुवनजस्ता बुझकीका लागि श्रीमतीसँगको डिभोर्सको खासै मूल्य अनि मान्यता नै छैन । मुड भएको समयमा डिभोर्स भयो भन्ने मुड नभएको समयमा डिभोर्स भएको छैन भनेर मिडियामा छाउने भुवनले यतिबेला किन यो कुरा उठाए?बुझिसक्नु छैन । भुवन यसो पनि भन्न थालेका छन्, ‘हामी एउटै घरमा बसे तापनि हामीबीच श्रीमान्-श्रीमतीको सम्बन्ध छैन । सिनेमामा त व्यावसायिक रूपमा काम मात्र सँगै गरिएको हो ।’ यसरी चर्चा पाउन भुवन जे पनि गर्छन् र बोल्छन् भन्ने उनलाई लागेको आरोप फेरि एकपटक सही रूपमा आउन लागेको छ । डिभोर्स भयो भन्ने अनि सँगै घुम्न जाने, सिनेमामा पनि निर्माण गर्ने, एउटै घरमा बस्ने तर कुन्नि के फूल फुलाउन हो डिभोर्स भएको सात वर्ष भयो भन्ने?के कुरा हो यो भुवनजी । भुवन र सुष्मिताले मिलेर हालै एउटा नयाँ सिनेमाको निर्माणकार्य सकाएका छन् साथी म त्रि्रो । कतै यही सिनेमाको निःशुल्क प्रचारप्रसार गर्न भुवनले यो जुक्ति सोचेका त होइनन्?होइनन् भन्न सकिने अवस्थामा पनि छैन । साथी म त्रि्रोको कन्सेप्ट निर्देशन सुष्मिताको लेखिएको छ । सिनेमाको छायाङ्कन अवधिभर सुष्मिताकै रेखदेख रह्यो । कथा उनकै हो तर भुवन अहिले आएर हामीबीच श्रीमान्-श्रीमतीको सम्बन्ध छैन भनेर किन भनिरहेका छन्?कुरा अलि रहस्यमयी नै छ । जब-जब भुवन आफ्नो सिनेमा रिलिज गर्नतिर लाग्छन् तब-तब उनी केही न केही रडाको मच्चाउनतिर अग्रसर हुन्छन् भन्ने आशङ्का पनि यतिबेला उब्जिएको छ । चलचित्रको प्रचारप्रसार गर्न भुवनलाई कसैले जित्दैन त्यो कुरा सही हो तर चलचित्र र परिवार नितान्त फरक कुरा हो भने घरभित्रका सबै गोप्य कुराहरूलाई बाहिर ल्याएर छताछुल्ल पार्दैमा त्यो मानिस महान् हुनै सक्दैन, अनि चलचित्र र जीवनसङ्गिनीको स्थान फरक कुरा हो । भुवनजस्ता बुझेका नायकले किन आफ्नो आङको छारो आफैं उडाएर दुनियाँलाई हँसाएका होलान् –

अभियानको सम्मान
राजेश हमाल र करिश्मा मानन्धरको फिल्मी जोडीलाई सफल जोडीको रूपमा लिइन्छ नेपाली सिनेमा उद्योगमा । यी दुईले एकसाथ थुपै्र सिनेमा खेले पनि र यी दुईबीचको विषयलाई लिएर चर्चा पनि नभएको होइन । लामो समयदेखि ‘हिट जोडी’को रूपमा लिइएको र हेरिएको यो जोडी एकसाथ सम्मानित र पुरस्कृत भने भएको छैन एउटै मञ्चबाट । यसपटक यस जोडीलाई एउटै मञ्चबाट सम्मानित गरेर नयाँ कार्यको सुरुवात गरेका छन् अभियान समूहका अध्यक्ष एवम् पुराना कलाकर्मी कृष्ण मल्लले ।
यसै साता राजेश र करिश्माको साथमा एक विशेष समारोहबीच निर्देशक उज्ज्वल घिमिरे, कलाकार मुकुन्द श्रेष्ठ, रंग पत्रकार डा. प्रदीप भट्टर्राई र विजयरत्न तुलाधरको साथमा शिक्षासेवी उत्तम सञ्जेललाई पनि सम्मान गर्‍यो अभियानले । वितेका २७ वर्षदेखि नेपाली चलचित्र र कलाकारिता विभिन्न फाँटमा आफ्नो निकै दह्रो उपस्थिति जनाउँदै आएको अभियानका अध्यक्ष कृष्ण मल्ल अभियान नेपाली कला, चलचित्र र यससँग सम्बन्धित विविध क्षेत्रका सक्रिय व्यक्ति एवम् व्यक्तित्वहरूप्रति समर्पित संस्था रहेको कुरा बताउँछन् ।

श्रीओमको ँप्रसङ्गवश’ सार्वजनिक
नेपाली भाषा साहित्यको क्षेत्रमा लामो योगदान पुर्‍याइसकेका अग्रज स्रष्टाहरूको अन्तर्वार्ता-सङ्ग्रह ‘प्रसङ्वश’ प्रकाशित भएको छ । रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको प्रसङ्गवशको लेखक श्रीओम श्रेष्ठ ‘रोदन’ र प्रकाशक गोविन्दप्रसाद श्रेष्ठले अनौपचारिक रूपमा संयुक्त सार्वजनिक गर्नुभयो । ‘प्रसङ्गवश’भित्र ८१ जना साहित्यकाका अन्तर्वार्ता छन् । जुन लेखक रोदनले मधर्ुपर्क साहित्यिक मासिक पत्रिकामा सम्पादन सुरु गरेपछिको स्तम्भअर्न्तर्गत लिइएका अन्तर्वार्ता हुन् । केही वार्ता भने अन्य पत्रिकामा पनि प्रकाशित छन् ।
वि.सं. २०४२ देखि वि.सं. २०६६ सम्म अन्तर्वार्ता लिएका स्रष्टाहरूमध्ये २१ जना दिवङ्गत भइसकेका छन् । पुस्तकमा रोदनले अन्तर्वार्ताका लागि प्रत्यक्ष र परोक्ष विधि अपनाएका छन् । नेपाली साहित्यका विभिन्न विधाका अग्रज स्रष्टाहरूका अतिरिक्त नेपाली भाषामा विद्यावारिधि गर्ने ब्रिटिस नागरिक डा. माइकल हट र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ग्रेटा राणाका वार्ता पनि समावेश छन् । वार्तामा समावेश प्रश्नहरू आक्रामक र अतिरञ्जनापूर्ण नरही सरल, सरस, सजग र सकारात्मक सोचका छन् । यसबाट तत्कालीन, समकालीन, वाङ्मयिक वस्तुस्थितिलाई चित्रण गर्ने प्रयास गरिएको छ । लेखक तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को यो नवौं कृति हो । यसपूर्व उनका दुई कवितासङ्ग्रह, तीन निबन्धसङ्ग्रह, दुई नियात्रासङ्ग्रह र एक लघुकथासङ्ग्रह प्रकाशित छन् ।
यसैगरी साहित्य र सञ्चार दुवैतर्फ सशक्त परिचय बनाएका युवा मणि लोहनीको चौथो पुस्तक कृति ‘परास्त प्रेम’ सार्वजनिक भएको छ । गत शनिबार आयोजित पुस्तक सार्वजनिकीकरणको एक भव्य कार्यक्रमबीच कवि तथा कथाकार मणिको उक्त कथाकृति वरिष्ठ साहित्यकर्मी डा. ध्रुवचन्द्र गौतमले लोकार्पण गर्नुभएको हो । सो समारोहमा नेपाली साहित्यकी सशक्त हस्ताक्षर भुवन ढुङ्गाना र सञ्चारकर्मी, साहित्यकार तथा अधिकारकर्मी बबिता बस्नेतले लोहनीका कथाबारे मन्तव्य दिनुभएको थियो ।

बालकथाका पाण्डुलिपिमाथि अन्तरक्रिया
बालकथाकार शौरभकिरण श्रेष्ठका ‘खैरेले भुक्दैन, बुबाले टोक्दैन’, र ‘हाम्रो गिफ्ट, राम्रो गिफ्ट’ नामक दुई बालकथाका पाण्डुलिपिमाथि अन्तरक्रिया भएको छ । विभिन्न साहित्यकार तथा समीक्षकहरूले कृतिका सबल र दर्ुबल पक्षहरूबारे कथावाचक समाजले गत शनिबार आयोजना गरेको कार्यक्रमकाबीच मन्तव्य दिएका थिए । कार्यक्रममा वरिष्ठ बालकथाकार तथा कथावाचक समाजका अध्यक्ष ध्रुव घिमिरेले कृतिका भाषिक पक्षका बारेमा बोल्नुभएको थियो । उहाँले कृतिमा बाल-किशोर उमेरका केटाकेटीको बोलीको भाषालाई कृतिले टपक्कै टिप्न सकेको बताउनुभयो भने बाल साहित्यकार तथा इतिहासकार प्रमोद प्रधानले शौरभकिरण श्रेष्ठको लेखन परिमार्जित रूपमा आएको बताउनुभयो । सुरुका दिनमा बालअधिकारका विषयमा कलम चलाएका श्रेष्ठ पछिल्ला दिनमा मनोरञ्जनात्मक कथालेखनतिर सक्रिय भएको प्रधानको कथन थियो । यसैगरी वरिष्ठ साहित्यकार भिक्टर प्रधानले पनि श्रेष्ठको लेखनमा नवीनता भएको बताउनुभयो भने वरिष्ठ कलाकार तथा नेपाल ललितकला प्रतिष्ठानका सदस्यसचिव केके कर्माचार्यले पुस्तकमा प्रयोग भएका चित्रका विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार माया ठकुरी, पुस्तकालय विशेषज्ञ भोला श्रेष्ठलगायतले बोल्नुभएको थियो । संस्थाका महासचिव तथा पुस्तकका सम्पादक कृष्णदीप सिग्देलले कथावाचन गरेर सुरु गरेको कार्यक्रममा विश्वम्भर चञ्चल, अनन्तप्रसाद वाग्ले, जनार्दन बराललगायतले पनि बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव यशु श्रेष्ठले गर्नुभएको थियो ।