आत्मवृत्तान्तको ऐनामा पात्र टंकप्रसाद

आत्मवृत्तान्तको ऐनामा पात्र टंकप्रसाद


भारतीय सोसलिस्टहरूको सद्भाव र सहयोग अनि लोहियामार्फत महावीरशमशेर जयप्रकाशमार्फत सुवर्णशमशेरको गरेर पचास हजारको बन्दोबस्त भइसकेपछि कोलकातामा भएको सम्मेलनमा नेपाली राष्ट्रिय काङ्ग्रेसको जन्म भयो । सारा दौडधुप आफूले गरेकोले स्वाभाविक रूपमा पदको अध्यक्षको दाबेदार बीपी नै थिए, तर डिल्लीरमण रेग्मीको पनि अध्यक्ष पदमा भएको दाबीले कुरो सजिलो रहेन । यस अवस्थामा गणेशमानले जुक्ति निकाले जेलमा भएका प्रजापरिषद्का टंकप्रसाद आचार्यलाई अध्यक्ष बनाउने, यस कुरालाई भने दुवैले अस्वीकार गर्न सकेनन् । जेलमा भएका टंकप्रसादले नयाँ सङ्गठनको नेतृत्व गर्न आउन सक्ने कुरै थिएन, अनि प्रजापरिषद् छोडेर नेपाली राष्ट्रिय काङ्ग्रेसमा आउने वा प्रजापरिषद् विलय गराउने पक्कै थिएनन् । त्यसैले टंकप्रसादको नाम बीपीको अध्यक्षताको निमित्त राम्रो सिँडी थियो । छुटेर आएकै खण्डमा पनि उनलाई प्रजापरिषद् नै प्यारो हुने थियो । यता बीपीलाई भने टंकप्रसादको नामले दोहोरो फाइदा भयो । परिच्छेद १५ मा भन्छन्, ‘एउटा सद्भावनाको सङ्केत पनि हुन्छ, जेलमा पनि छन्, बरु म कार्यबाहक अध्यक्ष भइदिउँला ।’

यत्रो मान गरिएका टंकप्रसादको अरू कामको उल्लेख भने किताबमा गरिएको छैन । बरु उनले आफ्नो काममा व्यवधान गरेको उल्लेख गरेर उनी नकारात्मक थिए भन्ने स्थापित गर्न खोजिएको छ । परिच्छेद ३७ मा बीपी भन्छन्, ‘टंकप्रसादको पनि व्यवहार त्यस्तै थियो । उनी विद्यार्थीको जमातलाई लिएर हङ्गामा गर्ने । म गृहमन्त्री छँदा एकपटक टंकप्रसाद जवाहरलाल नेहरूसँग भेट गर्न गएछन् र भनेछन्– म त एउटा ठूलो संयुक्त मोर्चाको नेता हुँ । नेपालको इतिहासमा एक राम्रो नाम कमाउन सफल टंकप्रसाद किताबमा भने अलि खलनायकत्व भएको व्यक्तिको रूपमा चित्रित छन् । सम्भवतः पछि टंकप्रसाद मातृकाबाबुको मन्त्रिमण्डलमा गृहमन्त्री भएको पनि एक कारण हुन सक्छ । गणेशमान पनि त्यो मन्त्रिमण्डलमा सामेल रहे पनि बीपीप्रतिको आस्था कायम नै रह्यो, तर उनले भने आफ्नो अलग चिनारी कायम नै राखे अनि बीपीभन्दा पहिले नेपालको प्रधानमन्त्री पनि भए ।

मातृकाबाबु प्रधानमन्त्रीबाट हटिसकेपछि संयुक्त मोर्चा बनाइएको एक प्रसङ्ग परिच्छेद ४० मा छ । यहाँ टंकप्रसादको उल्लेख अत्यन्त हलुका किसिमले भएको छ । संयुक्त मोर्चा भए पनि केवल नाम मात्र साथ भएको अनि कुनै किसिमको महत्व नभएको कुरा यसरी उल्लेख गरेका छन्, ‘के हुन्थ्यो भने यिनीहरूसँग न मान्छे हुन्, न केही हुन्, केही थिएन । हामीहरूले नै यिनीहरूको झन्डा पनि बनाइदिनुपर्ने, हामीहरूकै भोलन्टियरहरूबाट बोल्न पनि लगाउनुपर्ने । मैले सँगै टुर जाउँ भन्दा गएनन् ।’ यसले सोच्न बाध्य बनाउँछ कि के यो संयुक्त मोर्चा नै थियो त ? यस्तो मोर्चा राख्न नेपाली काङ्ग्रेस र बीपीलाई के आवश्यकता थियो ? अनि यस्तो मोर्चाबाट टंकप्रसादलाई के उपलब्धि भयो ? शायद यसले अभियानमा नेपाली काङ्ग्रेस एक्लो छैन भन्ने जनाउ मात्र दियो होला । त्यसैले नेपाली काङ्ग्रेसलाई केही न केही फाइदा भयो नै होला, काङ्ग्रेसले मोर्चाको नेतृत्व गरेको भान पार्नलाई ।

त्यही परिच्छेदमा टंकप्रसाद प्रधानमन्त्री भएको पनि उल्लेख छ । त्यसबेला उनले बीपीलाई रातिको खानामा बोलाएर ‘विश्वेश्वर बाबु, मलाई मद्दत गर्नुप¥यो । राजाले भनेका छन् कि सकेसम्म बढी सहयोग लिईकन सरकार बनाऊ । तपार्इंलाई दुईवटा सिट दिन्छौँ, तपाईं आउनुप¥यो, तपाईंले कसैलाई पठाउनुप¥यो’ भने । तर, बीपीले सीधै ‘तपार्इंहरूलाई हामी सहयोग गर्न सत्तैmनौँ’ भनिदिए । यो स्वाभाविक पनि थियो किनभने त्यसबेला बीपीले सरकार हाम्रो हुनुपर्छ भन्ने माग गरेका थिए । त्यसैले उनले चुनाव छिटो गराउने माग मात्र गरे, सरकारमा सामेल हुन अस्वीकार गरिदिए । सरकारको विपक्षीको रूपमा आफूलाई उभ्याउनु त्यसबेला आवश्यक नै थियो । सम्भवतः टंकप्रसाद पनि नेपाली काङ्ग्रेसलाई सरकारमा लिन इच्छुक थिएनन्, त्यसैले दुई सिट मात्र दिने प्रस्ताव गरे नत्र संयुक्त रूपमा सरकार चलाउन आग्रह गर्ने थिए ।

टंकप्रसादको प्रधानमन्त्रीत्व कालमा नै चीनसँग सम्बन्घ स्थापित भयो । छिमेकीमा भारतको मात्र भर पर्नु नपर्ने नीति नेपालले लियो । चीनले दलाई लामा अपदस्त गरेको कुरामा नेपालले एक चीन नीति अवलम्बन ग¥यो । टंकप्रसादले यसमा पनि बीपीको सल्लाह र सम्मती मागे । बीपी भन्छन्, ‘एक त म समाजवादी विचारको मान्छे, तिब्बतको स्वतन्त्रतामा हामीहरूको समर्थन थियो र चीनले गरेको हामीलाई लाग्थ्यो आक्रमण हो ।’ तर, बीपीले यो कुरा टंकप्रसादलाई अर्कै रूपमा भने । उनले भने, ‘अहिले किन त्यसमा हतार गर्ने ? अहिले हाम्रो हात माथि छ । पछि त्यस्तो कुनै जरुरत पर्ला नेपाललाई चीनसँग, त्यसबेलामा एउटा कुरा छोड्छौँ, त्यसको साटो अर्को कुरा मिलाउन सकिन्छ ।’

बीपीको सोचविपरीत चीनसँगको सम्बन्ध विस्तारले नेपाललाई कहिल्यै पनि पछुताउनुपर्ने अवस्था भने परेन । त्यही टंकप्रसादको कामले पछि बीपी प्रभानमन्त्री भएर चीन जाँदा जे माग्यो त्यही ल्याएको कुरा पनि यही पुस्तकमा नै उल्लेख छ । भारतसँगको निर्भरता कम गरेको कारणले बीपीले टंकप्रसादलाई किताबमा उचित स्थान दिएनन् भन्नु अलि अन्यायपूर्ण हुन्छ, तैपनि यस पुस्तकले अवहेलना गरेकै पात्रको रूपमा टंकप्रसाद रहेका छन् ।