भूइँमान्छेको अग्लो कथा

भूइँमान्छेको अग्लो कथा


– एकराज पाठक

राजधानीमा चिकित्सा माफियाको अन्त्यको लागि भन्दै अनशन बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य बिग्रिँदै गएका समाचार नेपाली अखबारहरूमा छ्याप्छ्याप्ती आइरहँदा यता भूइँमान्छे चलचित्रको चर्चा पनि राजधानीमा कम थिएन । एकपछि अर्काे गर्दै डा.केसीको अनशन र यता यस चलचित्रको कथाबस्तुलाई जोडेर सोसियल र अन्य मिडियामा समाचार आउन थालेपछि चासो बढ्यो र त्यस चलचित्र नजर गर्नुपर्ने चाहले सतायो । तर दुई घन्टा भन्दा केही बढी समय पटक्कै खेर नगएको निष्कर्ष मैले त्यतिबेला निकालेँ जतिबेला चलचित्रले नेपालका भूइँमान्छे र अग्ला मान्छेहरूको चाल र चरित्रमार्फत नेपाली समाजलाई राम्रै सन्देश दिएको महसुश गरेँ ।

चलचित्र पनि पत्रकारिताको एक बिधा हो । पत्रकारिताले नागरिकलाई सुसूचित गर्ने, शिक्षा दिने, उत्प्रेरणा दिने र मनोरञ्जन प्रदान गर्ने काम गर्छ । यी चारवटै काम चलचित्रले पनि गर्छ, त्यसैले यसलाई पत्रकारिताको एक सशक्त विधाका रुपमा लिन सकिन्छ । यो सबै काममा भूइँमान्छेको कमी छैन । यसले चलचित्रकै रुपमा नागरिकलाई मनोरञ्जन दिनु त छँदैछ, समाजलाई एक राम्रो सन्देश दिएको छ । यस सन्देशले नेपाली समाजलाई चिकित्सा क्षेत्रको पढाई, यसको क्रेज बढ्नाले अहिलेका केटाकेटीले आमाबालाई दिने गरेको मानसिक दबाब र यसका कारण समाजमा भित्रिन सक्ने बिकृति एवम् अपराधका कैयन् उदाहरणहरू छरिदिएको छ । प्रतिभाशाली भएर आफैले नाम निकाल्न सक्ने भएपनि ठूला मान्छेको ज्यादतिका कारण विक्षीप्त भएको छोराले एमबिबिएस पढ्ने अडान राखेपछि आफू बसेको घर बैंकमा राखेर ऋण लिनेसम्मको बाध्यतामा अपराधकर्म मौलाएको छ । छोरालाई भर्ना गर्नका लागि लिएको ऋण घर पुग्न नपाउदै उनको हत्या गरी लुटिँदा छोराको सारा जीवन नै नराम्रोसँग लुटिन्छ । बेघरबार भई सडकमा आएको छोराले अबको जीवन सडकबाटै निर्माण गर्छ ।

यसरी लाश चिर्ने डाक्टरको अजिव कथा छ चलचित्रमा । हाम्रो समाज मरेको लाशदेखि डराउँछ । तर तिनै लाशचिर्ने डाक्टरको दिनचर्या र बाध्यता दुवैको संगम बडो रोमाञ्चक तर भावुक रुपमा कथामा प्रस्तुत गरिएको छ । समाजलाई कुनै सन्देश नदिने कुनै पनि चलचित्र हुन सक्दैन । फेरि त्यो सन्देशले समाजलाई परिवर्तन गर्न वा समाजको कुनै निश्चित बर्गलाई असल काम र परिवर्तनका लागि प्रेरित गर्न सक्दैन भने त्यो कथा कथा नभएर यात्रा संस्मरण विधामा जान्छ । भूइँमान्छेको कथाले अग्ला मान्छेलाई राम्रो पाठ सिकाउन खोजेको छ । अनि नेपाली युवा पुस्ताले यसबाट मनग्गे शिक्षा हासिल गर्न सक्छन् । कतिपय चलचित्र यस्ता प्रेरणादायी हुन्छन् कि जसले दुई बर्ष विश्वविद्यालयमा हासिल गर्न नसकेको ज्ञान दुई घन्टामा आर्जन हुनेमात्र नभई मानिसको जीवनशैलीमा नै अदभुत परिवर्तन गर्न सक्छन् । यस मानेमा यो चलचित्रले पूर्णांक घटी प्राप्त गर्नेछैन् ।

पछिल्लो क्रममा हेर्ने हो भने नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको छ । हरेक हप्ता प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्रले राम्रो व्यापार गर्नु नेपाली चलचित्र क्षेत्रको लागि शुभ संकेत हो । यस परीक्षामा भूइँमान्छे पनि उत्रिसकेको छ भन्ने तथ्य पछिल्लो हप्ता काठमाडौँमा यसको चर्चा, सिनेमा घरहरूमा खचाखच उपस्थित दर्शकले देखाउँदछ । यस्तै कथा भरिएका चलचित्रहरूको बाहुल्यता समाजमा रहने हो भने समाजलाई सकारात्मक दिशातर्फ सहजै उन्मुख गराउन सक्थयो । तर त्यस्तो लगाव अधिकांश लगानीकर्ता वा निर्मातामा कमै मात्र देखिने गर्दछ ।

शैली इन्टरटेन्मेट एण्ड मुभिज प्रा.लि. र शैली थिएटरको प्रस्तुतीमा यहि भाद्र २ गतेबाट नेपालभर प्रदर्शनमा भैरहेको चलचित्र भुइँमान्छेले प्रारम्भिक चरणमा विशिष्ट व्यक्ति, पत्रकार, बुद्धिजिवी, वरिष्ठ कलाकार, लेखक, विश्लेषकको मन भने जितिसकेको छ । अस्पतालमा पोष्टमार्टम गर्ने मानिसको मनोबिज्ञानलाई केन्द्रबिन्दु बनाएर कथालाई प्रस्तुत गरिएको चलचित्रमा चलचित्र अवधिभर दर्शकलाई चलचित्रमा बाँधेर राख्न सफल देखिन्छ ।

एउटा व्यक्ति डाक्टर बन्ने सपना बोकेर अगाडी हिँड्दै गर्दा उसको जिवनमा आइपर्ने समाजिक, राजनितिक, आर्थिक समस्याले उसको सपना पुरा नभएपछि त्यो व्यक्तिको जिवनशैलिमा आउने परिवर्तन, आफुलाई पुरुषभन्दा कम नठान्ने महिला जो पुरुष सरह हर काम आफै गर्ने युवती जो आफ्नो भव्य घरमा एक्लै बस्दै आएकी हुन्छिन । यसरी चलचित्र हेरि सकेपछि चलचित्रको बारेमा बरिष्ठ कलाकार हरिहर शर्मा आफुलाई मन परेको चलचित्रको कथा बस्तु तथा कलाकारहरूको जिवन्त अभिनयले चलचित्र राम्रो बनेको बताए । पृथक कथा बस्तु र चलचित्रले दिन खोजेको सन्देश राम्र्रो भएकोले हर नेपाली चलचित्र प्रेमिले भुइँमान्छे हेर्नु पर्ने बताए ।

नेपाल प्रहरीका पुर्व एआईजी राजेन्द्रबहादुर सिंहले आफुले हेरेको चलचित्रमा यो चलचित्रले मन छोएको बताउँदै आफु पनि नेपाल प्रहरी रहँदा पोष्टमार्टमसँग नजिक रहेर काम गर्नुपर्ने भएकोले चलचित्र हेरिसकेपछि थप यो विषयबस्तुले आफ्नो ध्यानकर्षण गरेको बताए । चलचित्रले उठाएको कथा बस्तु ,प्रस्तुतीकरण र कलाकारहरूको राम्रो अभिनयको कारण चलचित्र राम्रो लागेको चलचित्र हेर्न आएका दर्शकहरूको भनाई थियो ।

रमेश बुढाथोकी, सिपोरा गुरूङ, सहिन प्रजापति, बादल भट्ट, रोहिणी भट्टराई, रामबाबु रुेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव आदि कलाकारको सो चलचित्रमा अभिनय छ । नवराज बुढाथोकी निर्देशक रहेको यो चलचित्रका प्रमुख निर्माता रोहिणी भट्टराई हुन् ।