विश्वविख्यात एक डाक्टरले बताए क्यान्सरबारे यस्ता रोचक कुरा

विश्वविख्यात एक डाक्टरले बताए क्यान्सरबारे यस्ता रोचक कुरा


डा. अंशुमान कुमार क्यान्सरका विश्वविख्यात विज्ञ हुनहुन्छ । क्यान्सरसम्बन्धी भारतको एक विख्यात अस्पताल ‘धर्मशिला नारायण सुपरस्पेसियालिटी हस्पिटल’मा कार्यरत डा. अंशुमन यही भदौको पहिलो साता चार दिनका लागि नेपाल आउनुभएका बेला घटना र विचारले क्यान्सरमाथि केन्द्रित रही गरेको कुराकानीको अंश प्रस्तुत गरिएको छ ।

० क्यान्सरलाई सजिलो भाषामा बुझ्नुपर्दा कसरी सम्झाउनुहुन्छ ? यो कसैको भाग्यमै लेखिएर आएको हुन्छ कि व्यक्तिको कर्मका कारण निम्तिने रोग हो ?
– क्यान्सर तमाम रोगहरूजस्तै एउटा रोग हो । यसलाई कुनै गलत कार्यसँग जोडेर हेर्नु पनि आवश्यक छैन, कसैको भाग्यमा लेखिएर आउने रोग पनि यो होइन । शरीरभित्रको कुनै कठिनाइ या असहजतासँगै कोशिकाहरू वृद्धि हुँदै जाने र ट्युमरको रूप लिई मानिसको अन्तिम अवस्थासम्म बढेर जाने रोग नै क्यान्सर हो । शरीरको एक स्थानबाट अर्को स्थानतिर सर्दै फैलने यसको चरित्र हो । छोटोमा बुझ्नुपर्दा क्यान्सर यही हो । कुनै कीटाणु शरीरमा प्रवेश गरेर हुने रोग होइन हो । शरीरको आफ्नै कुनै हिस्सा बढ्ने र फैलिने उपक्रमलाई क्यान्सर भनेर बुझ्दा पनि हुन्छ ।

० क्यान्सर हुनुमा व्यक्तिको जीवनशैलीको कुनै भूमिका हुन्छ कि ? अर्थात् कस्तो जीवनशैली अपनाउने व्यक्तिलाई क्यान्सरको अधिक सम्भावना रहन्छ र कस्ता व्यक्तिलाई कम ?
– साधारण भाषामा मैले भन्नुपर्दा पौराणिक जीवनशैली अवलम्बन गर्ने व्यक्तिलाई क्यान्सरको सम्भावना कम रहन्छ । विश्वको पूर्वीय भागमा जसरी मानिस बाँचिरहेका छन्, त्यसलाई उत्तम जीवनशैली मानिन्छ । पाश्चात्य जीवनशैलीलाई हामीले अन्धाधुन्ध अपनाइरहेका छौँ । खानपिन, व्यायाम, निद्राजस्ता कुरामा पूर्वीय शैलीलाई छोडेर आधुनिक बन्ने धुनमा पश्चिमी शैली अपनाइरहेका छौँ हामी । पश्चिमी खाना पिज्जा, कोल्ड ड्रिंक्स, स्मोकिङ, अल्कोहल अवलम्बन गर्ने ट्रेन्ड आएको छ । तर, पिज्जा खान्थे त उनीहरू व्यायाम गर्छन्, साथमा ग्रिन फुड्स लिन्छन्, तर पूर्वीय क्षेत्रका मानिसले सही तरिकाले पश्चिमी सभ्यता अपनाउन जानेनन् । पिज्जा खाने, आफ्नो हरिया सागपात तिरस्कार गर्ने, संभ्रान्त र सुविधाजनक जीवन बिताउने चाहनाको वशमा परेर शारीरिक व्यायाममा अल्छीपन देखाउने, यस्तो भएपछि त्यसले नकारात्मक असर गर्ने नै भयो । आफूलाई आनन्द लाग्ने र सुविधाजनक कार्यमा मात्रै मन लगाउनु पश्चिमा शैलीको सही अनुशरण होइन । यसरी पश्चिमी शैली ठीक ढङ्गले पछ्याउन नजानेर पनि विकार उत्पन्न भएको छ । यसर्थ, आफ्नो जीवनशैलीलाई उत्तम राख्न सक्दा क्यान्सरबाट बच्न धेरै नै मद्दत पुग्दछ ।

० आजको समयमा भारत र नेपालजस्ता मुलुकमा क्यान्सरको बिरामी ह्वात्तै बढेको पाइएको छ, यसको खास कारण के होला ?
– डिजिज ट्रेन्ड यस्तो पाइएको छ कि विकासशील देशमा सङ्क्रामक रोग ज्यादा हुन्छन् भने ज्यादा विकसित मुलुकमा असङ्क्रामक रोग धेरै पाइन्छन् । अर्थात्, हैजा, कलेरा, मलेरिया, डेङ्गुजस्ता सरुवा (सङ्क्रामक) रोग विकासशील या पिछडिएका मुलुकमा ज्यादा पाइएको छ भने विकसित देशमा हर्टअट्याक, हाइपर टेन्सन र क्यान्सरका बिमारी बढी भेटिन्छन् । पूर्वीय मुलुक विकासको दिशामा अग्रसर त भइरहेका छन् तर यहाँ एकातिर सरुवा रोगहरूको प्रकोप कमी हुन सकेको छैन भने अर्कोतिर नसर्ने रोगको प्रकोप पनि बढ्न थालेको छ । यसप्रकार पूर्वीय देशहरू सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेका छन् जब कि पश्चिमा देशहरू यो अवस्थाबाट उहिल्यै गुज्रिएका हुन् । यसर्थ, यहाँ आजकल क्यान्सर र मुटुसम्बन्धी बिमारीको सङ्ख्यामा भारी वृद्धि देखिएको छ । यसलाई रोक्न सकिन्छ, तर घनीभूत प्रयासको जरुरत छ ।

० क्यान्सरलाई सुरुवाती चरणमा कसरी चिन्ने, ता कि प्रारम्भकालमै चिकित्सकसम्म पुग्ने अवसर मिलोस् ?
– कुनै पनि अब्नर्मल सिम्टम्स (असामान्य लक्षण)जो व्यक्तिको पूरै चौबीस घन्टाभित्र पहिले देखिने गरेको थिएन या अनुभूत भएको थिएन, त्यस्ता लक्षण देखिन थालेमा सचेत भइहाल्नुपर्छ । जस्तो कि, अपचको समस्या तीन साताभन्दा बढी हुन थाल्यो, छालामा कुनै घाउ भयो तर तीन सातासम्म ठीक भएन, खोकी लागिरहेको छ, तर औषधि खाँदाखाँदै पनि ठीक भइरहेको छैन, शरीरको कुनै पनि भागमा गाँठागुँठी देखियो या सुन्नियो, दिसा–पिसाबमा रगत देखिन थाल्यो, महिलामा असमयमै मासिक धर्ममा हुने प्रकारको रक्तश्राव भयो भने यिनलाई असामान्य लक्षणको रूपमा लिनुपर्छ । त्यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिन चुक्नुहुँदैन । तर, यसो भन्दैमा डराउनुपर्दैन, किनकि त्यस्तो लक्षण देखिए पनि नब्बे प्रतिशतचाहिँ सामान्य अवस्था नै हुन सक्छ । १० प्रतिशत त्यो क्यान्सर नै हुन सक्छ, तर सुरुमै थाहा पाएर उपचार सुरु गरे क्यान्सर पूरै नियन्त्रणमा आउँछ । चिकित्सकीय जाँच गराउनचाहिँ लापरबाही गर्न हुँदैन ।

० धेरैजसो मानिस क्यान्सरको लक्षण देखाप¥यो भन्नेबित्तिकै आफूलाई अर्धमृत नै सम्झेर आत्तिने गर्छन्, यो स्वाभाविक हो ?
– ठीक भन्नुभयो, क्यान्सरका बिमारी रोगबारे सुन्दा आफूलाई मृत्युको मुखमा पुगेकै ठानेर आत्तिने गर्छन् । क्यान्सर भनेको मृत्युको प्रमाणपत्र भन्ने धारणा हाम्रो समाजमा छ । यो ठीक होइन । यस्तो धारणा कायम हुनु र बिमारी अत्तालिनुमा चिकित्सक पनि थोरबहुत दोषी छन् । कतिपय चिकित्सकले क्यान्सरलाई बढाइचढाई गरिदिन्छन् र बिमार व्यक्तिमा त्रास बढ्छ । म भन्छु कि क्यान्सर आमरोगजस्तै एक रोग हो, यससँग डराउनुपर्दैन । बिरामी व्यक्तिका परिवारका सदस्य, समाजका व्यक्ति एवम् उससँग सम्पर्कमा आउने सबैजनाले उसलाई सान्त्वना दिनु आवश्यक हुन्छ । आजभोलि क्यान्सर रोग पूराका पूरा ठीक हुन थालेका छन्, यो कुरा सम्बन्धित बिरामीलाई सुनाउनुपर्छ, बुझाउनुपर्छ । नैतिक सहयोग हुनुपर्छ । अत्तालिन नदिई उपचारमा लाग्नुपर्छ, ठीक हुन्छ ।

० शरीरका कुन अङ्गमा खासगरी क्यान्सर लाग्ने सम्भावना ज्यादा हुन्छ ?
– यो देश वा स्थानअनुसार फरक पाइएको छ । विकासशील मुलुकका महिलामा पाठेघरको क्यान्सर अधिक पाइएको छ । चुरोट–बिँडी बढी सेवन गर्ने स्थानका मानिसमा फोक्सोको र तम्बाखु धेरै पिउने ठाउँका मानिसमा मुखको क्यान्सरको प्रभाव बढी नै पाइन्छ । विकसित देशका मानिसमा हड्डीको क्यान्सर धेरै पाइन्छ । वृद्ध उमेरमा प्रोटेस्ट क्यान्सरले घर गर्न सक्छ । रक्तक्यान्सर पनि निकै देखिनेमा पर्छ ।

० तपाईंको चिकित्सकीय जीवनमा कुनै त्यस्तो चामत्कारिक या रोचक घटना छ जसले चिकित्सा विज्ञानलाई नै चुनौती मिलेको होस् ?
– त्यस्ता घटना त निकै छन् । विभिन्न घटनाका आधारमा मैले के धारणा बनाएको छु भने क्यान्सर भनेको एउटा नसुल्झिएको विज्ञान हो । क्यान्सरमाथि धेरै नै शोधहरू चलिरहेका छन् । तैपनि कतिपय चामत्कारिक अवस्था पनि देखिएको छ जसलाई विज्ञानले स्वीकार गर्न गाह्रो पर्छ । रसियाबाट एउटा साधुनी वृन्दावन आएकी रहिछन् । दुर्भाग्यले उनमा स्तनक्यान्सर देखियो । जाँच गरेर हेर्दा विशेष प्रकारको उक्त क्यान्सरमा अप्रेसनको जरुरत थियो । अर्को कुरा उनमा देखिएको क्यान्सरको प्रकृतिका आधारमा मलाई लागिरहेको थियो कि तत्काल ठीक भए पनि उनमा क्यान्सर पुनः बल्झिएर आउनेछ । अप्रेसन गरियो, किमोथेरापी पनि भयो । उनी रसिया फर्किइन् । पाँच वर्षपछि उनको फोन आयो । मलाई त उनी जीवित रहेकी होलिन् भन्ने विश्वास नै थिएन । उनी दिल्ली आइन् र पूरै जाँच गराइन् । सब ठीकठाक थियो । अब त आठ वर्ष भइसक्यो, उनी क्यान्सरमुक्त छिन् । उनका अनुसार यसो हुनुमा अध्यात्मको भूमिका छ । उनले कुनै प्रकारको हिलिङ विधि अपनाइन्, जसले उनलाई क्यान्सरबाट टाढा राखेको छ । यसबारे बेग्लै शोध चलिरहेको छ, चिकित्सा विज्ञानले नमाने पनि हुन सक्छ कि यसमा कुनै आध्यात्मिक शक्तिले नै काम गरिरहेको होस् ।

० क्यान्सर उपचारमा आजसम्म जति उपलब्धि हासिल भएका छन्, त्यो त्यति सफल मानिएको छैन भन्ने धारणा छ, खास के हो ?
– आजभन्दा तीस वर्षअघि क्यान्सरको उपचार विधि जे–जस्तो थियो, त्यसको तुलनामा आज निकै एडभान्स विधि अवलम्बन गरिएको छ र उपचारमा सफलताको परिणाम पनि अधिक प्रतिशत देखिन्छ, यस हिसाबले निकै सफलता मिलेको भन्नुपर्ने हुन्छ । फेरि पनि व्यापक शोधको आवश्यकता त छ नै, यो चलिरहन्छ । मैले भन्ने गरेको छु कि क्यान्सर एक यस्तो रोग हो जो कुनै सुपर पावरले सिर्जना गरिदिएको छ । शरीर आफैँमा आश्चर्यको विषय हो, यस्तो आश्चर्यपूर्ण शरीरभित्र क्यान्सर उत्पन्न भएर दुःख दिनु अर्को आश्चर्य या नसुल्झिएको विषय हो । यसबारे पनि शोध चलिरहेको छ, तर सफलता मिलिसकेको छैन । क्यान्सर सम्बन्धमा धेरै खोज–अनुसन्धान हुनु बाँकी नै छ, उपचारमा सफलता मिल्न बाँकी नै छ । तैपनि, तुलनात्मक रूपमा पहिलेको हिसाबले अहिले धेरै सफलता मिलेको स्वीकार गर्नैपर्छ ।

० अन्त्यमा आफ्नोबारे केही भन्न चाहनुहुन्छ कि ?
– पहिले त म एक मानिस हुँ, त्यसपछि एक डक्टर र त्यसपछि क्यान्सर स्पेसलिस्ट । व्यक्तिगत रूपमा म केही होइन । कुनै उद्देश्यले यस धर्तीमा आएँ, पक्कै केही कर्तव्य मैले निर्वाह गर्नुपर्ने होला, पूरा गरेर यस धर्तीबाट बिदा पाउँछु । यतिबेला म ओशो तपोवनमा छु, स्वामी आनन्द अरुणको साथ । स्वामीजीकोे सान्निध्यमा अद्भूत ऊर्जा प्राप्त भएको छ । म सबैसँग यो प्रार्थना गर्न चाहन्छु कि आध्यात्मिक ज्ञानलाई जीवन–व्यवहारमा उतार्नुहोस् । उम्दा अनुभव तपाईंलाई हासिल हुनेछ । बिमारी भन्ने कुरा त सामान्य हो, आध्यात्मिक व्यवहारबाट रोग त दूर रहन्छ नै अन्य उपलब्धि पनि हासिल हुन्छ ।