निःशुल्क प्रिपेड सिम बाँड्दै टेलिकम

निःशुल्क प्रिपेड सिम बाँड्दै टेलिकम


हो, नेपाल टेलिकमले निःशुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गर्दैछ, तर यसरी निःशुल्क सिम सबैका लागि भने होइन । टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क सिम कार्ड वितरण गर्न लागेको हो ।

बताइएअनुसार कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीप्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको हो । प्रभावित जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा रु ५० को ‘टक भ्यालु’ सहितको प्रिपेड सिम वितरण भइरहेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिएकी छिन् ।

सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधासहितको सिम निःशुल्क वितरण भइरहेको उनले जनाइन् ।

यो सुविधा यही भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुने जनाउँदै जनाएको कम्पनीले बाढीप्रभावित क्षेत्रका टेलिकमका ग्राहकले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन दिए सो को सट्टा अर्को सिम कार्ड निःशुल्क उपलब्ध गराउने प्रस्ट्याएको छ ।