टैगोर : शान्तिको लागि नअस्ताउने एक तारा

टैगोर : शान्तिको लागि नअस्ताउने एक तारा


– हेमन्त खतिवडा

रवीन्द्रनाथ टैगोर अत्यन्त आशावादी कवि हुन् । जीवन र जगतका विषयलाई सकारात्मक ढङ्गले सेच्ने र जीवनलाई सधैं आशा र उत्साहको रूपमा चित्रण गर्ने महान साहित्यकार टैगोर एक महान् विश्वकवि, गीतकार अनि महान् संगीतकार पनि हुन् । उनी एक यस्ता महान् गीति–कवि हुन्, जसले प्रायः डेढ लाख पंक्तिमा एक हजारभन्दा पनि अधिक कविता र दुई हजार गीत लेखेका छन् । यी गीतहरूको ताल–सुर अलग–अलग र रोमाञ्चक छन् भनिन्छ ।

उनको सम्पूर्ण समय शक्ति साहित्य र संगीतमै बित्यो । उनले मानव र प्रकृतिको नाता जोडे, मानवताप्रति उनमा यस्तो अनुपम पे्रम थियो कि उनी पटक–पटक त्यसलाई आफ्नो साहित्यमार्फत प्रकट गर्दथे ।

रवीन्द्रनाथ टैगोरको जन्म कलकत्ता (भारत)को जोडासाकूँमा सन् १८६१ मा भएको थियो । सम्पन्न परिवार, प्रशस्त जग्गा जमिन र शिक्षित परिवारमा जन्मिएका उनका हजुरबुबा द्वारकानाथलाई मानिसहरू राजकुमार भन्थे, राजसी ठाँटमा बसेका थिए । द्वारकानाथका छोरा देवेन्द्रनाथ ठाकुर अनि देवेन्द्रनाथका छोरा रविन्द्रनाथ ।

सम्पन्न तथा धनाढ्य परिवारमा जन्मे–हुर्केका रविन्द्रनाथले गरिबी र अभाव भन्ने जानेनन् । महर्षि प्रायःजसो हिमालयतिर घुम्न जान्थे, रवीन्द्र पनि सँगै जान्थे । रवीन्द्रनाथ अब स्कुल जान थाले तर उनलाई स्कुलको यो निस्यासिँदो वातावरण मन परेन ।

जब बाबुले उनलाई हिमालयको भ्रमणमा लिएर गए, रवीन्द्रनाथमा खुशीको सीमा रहेन, उनी उन्मुक्त पंक्षीझैँ नाचे अनि मृग सावक झैँ उफ्रिए खुशीले, हर्षले अनि उमंगले ।

उनीहरूको भ्रमणस्थल डलहाउसीको ठूलो पहाड थियो । सानो ठाउँ तर सात हजार फुट अग्लो । सुन्दर अनि सुन्दर भू–स्वर्गमा उनीहरू घुम्न थाले । उनीहरू अमृतसरमा एक महिना बसे । बाबुले बिहान उनलाई संस्कृत पढाउँथे अनि अंगे्रजी । उनलाई लेख्न लाउँथे उनी लेख्थे, उनलाई गाउँन लाउँथे उनी गाउँथे, उनलाई नाँच्न लाउँथे अनि उनी नाच्थे पनि ।

त्यहाँ एक महिना बसेर उनीहरू डलहाउसीको पहाडतिर लागे, सुन्दर पहाड उनी आँखा झिम्म नगरी हेर्थे, आखिर कवि हृदय न हो, उनी त्यो सुन्दरतालाई हृदयमा स्पर्श गर्थे अनि लेख्थे । लेख्नमा उनी किशोर अवस्थादेखि नै सिद्धहस्त र बेजोड भइसकेका थिए । झरनाको झर्रझर्रसँगै उनी गीत भेट्थे, खोलाको कलकलसँगै संगीत भेट्थे अनि तिनै स्पर्शहरूलाई हृदयमा रेट्थे ।

सानै हुँदा उनले आमा गुमाए, भाउजु कादम्वरीले उनलाई हुर्काइन्, गीत सिकाइन्, संगीत सिकाइन् अनि मान्छे बनाइन् ।

१४ वर्षको उमेरमा रवीन्द्रनाथले १६०० पंक्तिको ‘बनफुल’ भन्ने कविता लेखे सन् १८७८ मा उनी बेलायत हिँडे । वाइस वर्षको उमेरमा उनको मृणालीनीसँग बिहे भयो ।

सन् १८८४ मा उनकी भाउजु, कादम्वरीले आत्महत्या गरिन् । अब उनमा दुःखको पारावार रहेन । उनको हृदय रोयो, आँखा रसायो । अब उनी शहरको कोलाहल र अशान्त वातावरणबाट शािन्तको खोजीमा गाउँ गए । गाउँका मानिसको दुःख बुझे, पीडा बुझे अनि पद्मा नदीमा नौकाको घरमा बसे । उनले त्यहाँका मानिसको दुःख कष्ट र जमिन्दारहरूको शोषण र उत्पीडनलाई नजिकबाट हेरे बुझे अनि केही समय त्यही गाउँमा बसेर साहित्य रचना गरे ।

रवीन्द्रनाथ बेलुका संगीतका धूनहरू निर्माण गर्थे र गीत गाउँथे । उनका बाबु देवेन्द्रनाथले बोलपुरमा शान्ति निकेतन आश्रम खोलेका थिए । चालिस वर्षको उमेरमा रवीन्द्रनाथले त्यहाँ विद्यालय चलाए । पछि यसले विश्वविद्यालयको रुप लियो । खुला स्वचछ निलो आकाश, पराकिलो ठूलो मैदान, अग्लो–होचो जमिन अनि रुख विरुवाको हरियाली आनन्दमय ठाउँ रमाइलो गाउँ । आकाशमा उड्दै गरेको पंक्षी, किनारामा पानीको कल–कल । आहा ! यस्तो सुन्दरता र प्रकृतिको धपक्क बलेको सौन्दर्य बीचमा उनले विद्यालय चलाए अनि पछि यसले विश्वविद्यालयको रुप लियो ।

कविको जीवनमा अब दुःखमय अध्यायको प्रारम्भ हुन्छ । १९०२ मा उनकी पत्नी मरिन्, घोर निराशाको क्षण आयो उनको जीवनमा ! नौ महिनापछि छोरी मरिन् । सन् १९०५ मा बाबु बिते, उनका पिता आदर्श अनि गुरु ! फेरि एक वर्षपछि उनका छोरा हिँडे ।

मृत्युको यो निरन्तर प्रवाहले गर्दा कविको आत्माले क्रन्दन गर्न थाल्यो । दुःखैदुःखको पहाडबीच पनि उनी मुस्कुराउँथे, मनको पिर हँसिलो चेहराले छोप्थे । मान्छेहरू भन्थे रवीन्द्रनाथ नक्कली मुस्कानमा हिँड्छ । हुन पनि उनले हाँस्न छोडेनन्, गाउँन छोडेनन् । लेख्न त उनी प्रभातदेखि गोधुलीसम्म अभ्यस्त हुन्थे । कागजको मान्छे, कागजबाट पर कहाँ हट्थ्यो र । लेखन ! लेखन ! लेखन ! उनको एक मात्र चाह, लक्ष्य अनि समर्पण ।

सन् १९१० मा उनले गीताञ्जली लेखे । १९१३ मा नोवेल पुरस्कार पाए । अनि उनी भए विश्वकवि रवीन्द्रनाथ ! अब उनले एउटा राष्ट्रको पर्खाल नाघे, अनि उनी अन्तर्राष्ट्रिय व्यक्तित्वमा संसारभरि पुजिए । एक अमर स्रष्टाका रुपमा रवीन्द्रनाथको यश फैलियो । धेरै पर–परसम्म अनि उनी भए विश्वकवि ।

तर उनलाई यो ख्याति र प्रसिद्धिको कुनै लोभ थिएन, लालच थिएन । सेतै फुलेको दाह्री लिएर हिँड्थे, महान् वेज्ञानिक अल्वर्ट आइन्स्टाइन उनको धपक्क बलेको चेहरा र रुप रंगको प्रशंसा गर्थे । अनि भन्थे इतिहासमा यस्ता विलक्षण प्रतिभा कमै जन्मिन्छन् ।

मोहनदास करम चन्द्र गान्धीलाई महात्मा गान्धी भन्ने यिनै हुन्, रवीन्द्रनाथ । अनि धेरै भाषाका ज्ञाता पनि यिनै । धेरै देशको राष्ट्रगानका रचनाकार पनि यिनै रवीन्द्रनाथ ।

रवीन्द्रनाथले कविता लेखे, गीत लेखे, नाटक लेखे, अनगिन्ती कथा लेखे । उनी उपन्यासकार, संगीतकार अनि चित्रकार पनि थिए । ज्ञानका सजिव मूर्ति थिए, आफ्नो असाधारण प्रतिभा देखाए अनि सधैं विश्व मानवताको बन्दना गरे । पीडित मानवको वेदनालाई भाषा प्रदान गरे । देश र जातिको संकिर्ण बन्धन त्यागेर समस्त मानवतालाई आफ्नो हृदयमा धारण गरे ।

उनको कृति संसारभरि फैलियो, संसारका धेरै वटा भाषाहरूमा उनका कृतिको अनुवाद भयो । उनले सयौँ संगीत रचना गरे ।

अब उनी ८० वर्षको उमेरमा प्रवेश गरे । बुढा भए मान–सम्मान सबै पाए अनि सम्पूर्ण संसारभरिका मानवजातिको शुभकामना पोल्टाभरी थापेर उनी अविदितको यात्रामा हिँडे ।

सुन्दर, सुकुमार शब्दका धनी रवीन्द्रनाथ यसरी चम्किन्छन् आकाशमा तारा चम्किए झैं टल–टल…!! अनि यो तारा कहिल्यै नअस्ताउने तारा जो संसार झिलमिलाई रहन्छ ।

जगत यही तारा हेरेर रोमाञ्चित हुन्छन् अनि छक्क पर्दछन् । अनि भन्छन्, हाम्रा रवीन्द्रनाथ कति अमर र अजर रहेछन्… उनी त युगानुयुग बाँचिरहन्छन्, बाँचिरहने छन् ।