सुन्दरी गायिकाको गीतजस्तै सुन्दर मन

सुन्दरी गायिकाको गीतजस्तै सुन्दर मन


सुमधुर स्वरकी धनी अन्जु पन्तलाई नचिन्ने नेपाली सङ्गीतप्रेमी सायदै कोही होलान् । दुई दशक लामो साङ्गीतिक करिअर गुजारेकी अन्जुलाई कसैले त ‘स्वर साम्राज्ञी’को विशेषणसमेत दिन थालेका छन् । हजारौँ गीत गाएकी अन्जुका अधिकांश गीत हिट छन्, श्रोताले रुचाएका छन् । धेरैजसो विरह–वेदनाका गीत गाउने अन्जुले कैयन गीत आफ्नै निम्ति गाइदिएको ठानेर श्रोता लठ्ठ पर्छन् । गम्भीर प्रकृतिका गीत धेरै गाएकी अन्जुको जीवन पनि वियोगान्त नै छ, र पनि उनलाई आनन्दमा पाउँछन् उनका फ्यानहरू । नजिकबाट जान्नेहरू अन्जु स्वयम्मा आनन्दप्रेमी, आफ्नै चाहनामा बाँच्ने र उदार दिलकी महिला भनी प्रशंसा गर्छन् ।

यसरी लाखौँ सङ्गीतप्रेमीकी धड्कन बनेकी र नेपाली चलचित्रको पाश्र्वगायनमा एकताका पर्यायझैँ बन्न पुगेकी अन्जुले आजसम्म स्टेजमा एकल गायन कार्यक्रम भने प्रस्तुत गरेकी छैनन् । दुई–चारवटा गीत गाएकै भरमा आफूलाई ठूलो गायक–गायिका ठानेर एकल प्रस्तुति दिन अघिसर्ने आत्मप्रशंसकहरूको भीड बढेको परिवेशमा अन्जुसँग सम्बन्धित यो तथ्य आफैँमा उदेकलाग्दो छ ।

आखिर दुई दशक लामो साङ्गीतिक यात्रामा किन उनले एकल प्रस्तुति दिइनन् होला ? फुर्सद नमिलेर ? प्रस्ताव नै नआएर ? या, चाहना नगरेर ?– जिज्ञासा जाग्नु स्वाभाविक छ । अन्जु भन्छिन्, ‘यस खालको परिस्थिति नै बनेन । न मैले नचाहेर यस्तो भएको हो न त चाहेर पनि एकल साङ्गीतिक कार्यक्रम आयोजना हुन नसकेको नै हो । जतिबेला जे हुनुपर्ने हो त्यो त्यतिबेला मात्र सम्भव हुन्छ भन्ने मेरो बुझाइ छ ।’

अन्जुको दार्शनिक भाव झल्किने यस प्रस्टोक्तिसँगै एउटा सुखद समाचार छ अन्जुका फ्यान रहेका सङ्गीतप्रेमीहरूलाई । यही भदौ २४ गते राजधानीमा उनको एकल साङ्गीतिक प्रस्तुति रहने ‘अन्जु पन्त सुमधुर सन्ध्या–०७४’ आयोजना हुने भएको छ । ढिलै भए पनि एकल साङ्गीतिक प्रस्तुति दिने परिस्थिति निर्माण भएकोमा प्रफुल्ल देखिएकी अन्जुले त्यसका लागि जोडतोडले तयारी गरिरहेकी छिन् ।

उनकै नाममा स्थापना भएको ‘अन्जु पन्त प्रतिष्ठान’ले सङ्गीत–सन्ध्या आयोजना गर्न लागेको हो । आफ्नो प्रस्तुति कुनै कमाइधमाइका लागि नभई दुःखी–पीडित बालबालिकाको सहयोगार्थ रहने अन्जु बताउँछिन् । टिकट बिक्रीबाट आर्जन हुने आधा रकम बालबालिकाको हितमा र आधाचाहिँ गीत–सङ्गीत क्षेत्रमा पर्दापछाडि रहेर योगदान पु¥याउने रेकर्डिस्टलगायत सङ्गीत–प्राविधिकहरूलाई सुम्पन चाहन्छिन् उनी । अन्जुको यो उदारपनको खुलेर प्रशंसा गरिएको छ । यसरी लिनभन्दा पनि दिन चाहने पात्रको रूपमा पनि चिनिन्छिन् उनी ।

साङ्गीतक कार्यक्रममा आफ्ना बहुचर्चित गीतमध्येबाट १५–१६ वटा र उपस्थित दर्शक–श्रोताका फर्माइसमा एक–दुईवटा गीत गाउने योजना बनाएकी अन्जुले उक्त अवसरमा आफू ढाका–कपडाको पहिरनमा प्रस्तुत हुने खुलासा पनि गरेकी छिन् । ढाकाको उत्पादनलाई प्रमोसन गर्न आफूले यस्तो सोच बनाएको अन्जुको प्रस्टोक्ति छ ।

‘न बिर्सेँ तिमीलाई न पाएँ … ’ भन्ने गीत गाएपछि आफ्नो जीवन दुःखदायी बन्न थालेको बताउने उनी दुखान्त गीत गाउँदै जाँदा जीवन पनि वियोगान्त बन्दै गएको खुलाउँछिन् । आफूलाई दुःख दिनेहरूलाई पनि उनी ‘धन्यवाद’ भन्छिन्, किनकि तिनले जीवन बाँच्न सिकाएको उनको बुझाइ छ । दुःखपछि सुख आउँछ भन्नेमा पूर्ण विश्वस्त अन्जु जस्तोसुकै दुःख परे पनि आत्तिन नहुने पाठ आफूले पाएको सेयर गर्न चाहन्छिन् । ‘सेयरिङ नभए केयरिङ हुँदैन’ भन्ने मान्यता राख्ने अन्जु आफ्ना कुनै दुःख लुकाउन चाहन्नन्, तिनलाई खुलस्त गरे माया पाइन्छ भन्दै खिल्खिलाउँछन् यी सुन्दरी गायिका ।

सङ्गीतकर्मी मनोजराज सिवाकोटीसँग डिभोर्स भएपछि एक छोरीको साथ ‘एकल’ जीवनमा रमिरहेकी अन्जुसँग भोलिका लागि साँच्नुपर्ने कुनै कुरा छैन । उनी भन्छिन्, ‘भोलि के हुन्छ कसलाई के थाहा ? आजको दिन जस्तो छ, त्यसमै रमाउने कोसिस गर्नुपर्छ, रम्नुपर्छ ।’