योगी महाराज बनेपछि पनि भोगी बन्नुपऱ्यो जुद्धले !

योगी महाराज बनेपछि पनि भोगी बन्नुपऱ्यो जुद्धले !


वि.सं. २००२ माग १४ गते, तदअनुसार नोभेम्बर २९ ता. १९४५ ई. कै दिन पद्मशमशेरले श्री ३ जुद्धलाई आफैँले श्रीपेच ‘पगरी’ लगाइदिएर र श्री ३ महाराज कास्की लमजुङ, प्रधानमन्त्री तथा मार्सलको खिताब र पद दिएको घोषणा गरे । श्री ५ महाराजाधिराजले नै सो पगरी लगाइदिनुपर्ने आवश्यकताका साथै नेपाल अधिराज्यको सार्वभौमसत्ता हासिल गर्नाका निमित्त ‘लालमोहर’ को पनि जरुरत श्री ३ जुद्धले सम्झेनन् । वि.सं. १९१३ साउन १८ गते, तदनुसार अगस्ट १ ता. १९५६ को दिन प्रधानमन्त्री जंगबहादुरले आफ्नो प्रधानमन्त्रीको पद भाइ बमबहादुरलाई दिलाउँदा पनि श्री ५ सुरेन्द्रबाटै टीका, पगरी लगाइदिएर ‘लालमोहर’समेत दिलाएकै हो । श्री ३ जुद्धले यस विषयलाई जानी–जानी श्री ५ को कत्ति वास्तै गरेनन् । किन हो आफ्नो शासनकालको सुरुदेखि श्री ३ जुद्धले श्री ५ त्रिभुवनलाई बारम्बर अपमान, दुव्र्यवहार र लाञ्छना मात्र गरेकोका कतिपय उदाहरण पाइन्छन् ।

स्व. श्री ३ जंगले यो श्री ३ महाराजको श्रीपेच ‘पगरी’ शीघ्रातिशीघ्र तयार गर्न लगाई ‘पुरश्चरण’ को साथै ‘कोटीहोम र अनेक विधिविधान गराई श्री ५ सुरेन्द्रद्वारा सो श्रीपेच ‘पगरी’ आफूले लगाएका हुन्, कारण प्रधानमन्त्रीको श्रीपेच ‘पगरी’ बमबहादुरले लगाए । जुन श्री ३ महाराजको श्रीपेच ‘पगरी’ कसैको खुट्टामा परेको थिएन तर त्यो श्रीपेच ‘पगरी’ जुद्धशमशेरको खुट्टामा प¥यो । अब त्यो जलजलाउँदो, तेजस्वी श्रीपेच ‘पगरी’
त्यसदिनदेखि ‘रुन र उँघ्न’ थाल्यो । भनाइको तात्पर्य पद्मशमशेर खाली रोई मात्र रहन्थे भने मोहनशमशेर खाली ‘उँघी’ मात्र रहन्थे ।

जुद्धशमशेर सोही दिन आफूलाई आफैँले ‘राजर्षि महाराज’ घोषित गरी आफ्नो पद, ओहोदा र सम्पूर्ण अधिकार त्यागी जम्मा तेह्र वर्ष तीन महिनासम्म नेपाल अधिराज्यको वागडोर आफ्नो हातमा लिई ७० वर्ष ७ महिनाको उमेरमा रिडीनजिक अर्गेलीतर्फ जानु केहीअघि जुद्धशमशेर पुत्रका एक आदहरूले ‘यिनी पनि बुबाज्यूकै पुत्र हो तसर्थ यिनलाई स्वीकार गरिबक्सनुपर्छ’ भनी विनोद नामक केटोलाई जुद्धशमशेरको अगाडि उब्याई देखाए । जुद्धशमशेरले पनि जोगी बनी जाने अवसरमा केको लफडा गरिरहनु भन्ने सम्झी ‘ल यसलाई ६ लाख रुपैयाँ दिनू भनी अह्राए, औ त्यस दिनदेखि निज विनोदशमशेर हुनुको साथै जुद्धशमशेरको छोराको दर्ज गरिदिए । जुद्धशमशेर प्रधानसेनापति ‘मुख्तियार’ को पदमा रहन्ज्याल मानशमशेरलाई सबै मानबहादुर दाइ भन्दथे भने कसैकसैले ‘अडिटर दाइ’ भन्दथे । जुद्धशमशेर श्री ३ महाराज हुनुका साथै छोरामा दर्ज भई मानशमशेर भए भने अब जुद्धशमशेर श्री ३ महाराजको पद त्याग गरी काठमाडौं छोडी जान लाग्दा पनि अपरिचित विनोदलाई छोरामा दर्ज गरी विनोदशमशेर भए । यसरी जोगी भएका जुद्धशमशेरलाई काठमाडौं छोडी जाने अवसरमा पनि भोगी बन्नुपऱ्यो ।

मार्ग १४ गते, तदअनुसार नोभेम्बर २९ ता. का दिन जुद्धशमशेर सिंहदरबारबाट कालिमाटी हाल यूएसएड अफिसमा बास बस्न जाँदा छोरा बमबहादुरशमशेरलाई ‘आफ्ना भाइहरू, भतिजाहरू, भारदारहरू कसैलाई खुसी राख्न सकिनस् म नेपाल (काठमाडौं) छाडी गएपछि तेरो कुन दुर्गति हुने हो’ भने ।

पद्मशमशेर श्री ३ महाराज भएको केही दिनमै याने जुद्धशमशेर रिडीतर्फ जान लाग्दा बाटोमै हुँदा काठमाडौंमा पद्वशमशेरले जनताको सामु रोईरोई हात जोरी ‘म जनताको नोकर हुँ’ भने । पद्मशमशेरले जनतासामु बोलेको यो शब्द निरङ्कुश शासकहरूको निमित्त ठूलो प्रहारझँै थियो । जुद्धशमशेरले पनि पद्यशमशेरले बोलेको उद्गारलाई मन पराएका रहेनछन् तब त रिडीतर्फ जान भनी जुद्धशमशेर बुटबल खस्यौली आइपुगे, त्यहाँ रुद्रशमशेरसँग उनको भेट भयो । रुद्रशमशेरलाई देख्नासाथै जुद्धशमशेरले ‘काइला ! (रुद्र) कस्तो नालायकलाई मैले महाराज गराई आएछु’ भने । जवाफमा रुद्रशमशेरले हात हल्लाइहल्लाई ‘महराजबाटै छानी¬–छानी बक्सेको हो’ भने । मुखतोड जवाफ पाई जुद्धशमशेर चुप लागी त्यससम्बन्धी प्रसङ्ग नै उठाएनन् । बुटवल खस्यौलीमा जम्मा एक रात मुकाम गरी उनी रिडी अर्गेलीतर्फ लागे ।

(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)