काङ्ग्रेसले आफ्नो अपरिहार्यता सिद्ध गरोस्





होला कि नहोला भन्दाभन्दै नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशन सम्पन्न भइछाड्यो । पटकपटक तिथि सारिएकोले फेरि पनि महाधिवेशनको मिति सर्ने त होइन भन्ने आमकाङ्ग्रेसजनमा आशङ्का कायम नै थियो । ‘देर आया दुरुस्त आया’ भन्ने हिन्दीमा एउटा उखान छ, आखिर ढिलै भए पनि निकै उत्साह र भव्यताका साथ महाधिवेशन सम्पन्न भयो । मिनी महाधिवेशनका नामले पनि पुकारिने गाउँ, क्षेत्र र जिल्ला अधिवेशनमा आएको अभूतपूर्व लहरले पनि यस्तो सङ्केत गरिसकेको थियो कि यसपटकको काङ्ग्रेस महाधिवेशनमा युवा लहर आउने छ, साँच्चै त्यस्तै भयो । केन्र्दीय नेतृत्व लिन जुर्मुराएका युवाहरूको ताँतीले पनि काङ्ग्रेस जनताको आमतप्काबाट अलगथलग भइसकेको छ भनी आलोचना गर्नेहरूलाई थप्पड मारेको छ भन्दा अत्युक्ति हुँदैन । तर, पार्टीपङ्क्तिमा विगतमा पन्पिएको गुटबन्दी अझै पनि उस्तै कायम रहेको देखिनु दुःखद् छ ।
तर, यस्तो अभूतपूर्व उत्साह देखिएको माहोलमा फेरि तुषारापात हुने त होइन – विग्रहको छाया मेटाउने आश गरिएको महाधिवेशनले कतै झन् ठूलो विभाजनको रेखा कोर्ने त होइन – यस्ता नमिठा आशङ्का एउटा कोणबाट फेरि पनि पैदा गराएको छ । नेताहरूले योग्यता-क्षमतालाई स्थान दिन कुनै कञ्जुस्याइँ नगरून्, आफू पनि नसक्ने अरूलाई पनि गर्न नदिने प्रवृत्तिको सिकार बनाएर नयाँ पुस्तालाई काङ्ग्रेसबाट विमुख तुल्याउने गल्ती नगरून्, काङ्ग्रेस बलियो र देशको लागि अपरिहार्य बन्नुपर्छ, कुनै नेताविशेषका लागि पार्टी बलि चढ्नु सुहाउँदो र सैह्य कुरा हुन सक्दैन । याद रहेस्, देश अत्यन्त अप्ठ्यारो मोडमा छ र भर्खरै प्राप्त लोकतन्त्र नै धराशायी तुल्याउने खेल हुँदै छ । लोकतन्त्रलाई बचाउने र बढाउने काम केवल नेपाली काङ्ग्रेसले मात्र गर्न सक्छ भन्ने यहाँनेर मनन गर्नु आवश्यक छ । यस्तोमा अन्तरपार्टी कलहले यो पुन्यकार्य नै अधुरो हुने मात्र राष्ट्रिय अस्तित्व नै खतरामा पर्न सक्छ । नेताहरूको चेत खुलोस्, मिलेर पार्टीलाई एक ढिक्का बनाएर अघि लैजाने, युवाको आकर्षणलाई खेर जान नदिने र अन्ततः मुलुकका लागि यो पार्टी नै अपरिहार्य हो भन्ने सत्यसिद्ध गराउन उनीहरू सफल भएको सबैले देख्न पाऊन् ।
– हरिहर पराजुली, सिन्धुली, हाल ः कपन, काठमाडौं
बाबुरामजीले स्पष्ट पारिदिनुपर्यो
देशको प्रधानमन्त्री चयन गर्ने प्रक्रिया आठपटकसम्म लगातर असफल भएको छ । यसलाई विभिन्न व्यक्ति या शक्तिले विभिन्न कोणबाट व्याख्या-विश्लेषण गर्दै आएका छन्, आ-आफ्ना कोणबाट विचारहरू सार्वजनिक गरेका छन् । यसै क्रममा माओवादीका वरिष्ठ र विद्वान् नेता डा. बाबुराम भट्टर्राईले ‘लगातार आठपटक प्रधानमन्त्री चयन हुन नदिनु भनेको प्रतिगमनकारीहरूको सांस्कृतिक राजा स्थापना गर्ने चाल हो’ भनी सार्वजनिक भाषण गर्नुभयो ।
प्रधानमन्त्री चयन गर्न सांसदहरू अक्षम हुनुको अर्थ मुलुकमा ‘सांस्कृतिक राजा’ स्थापित गर्ने चाल कसरी हुनसक्छ – कुन प्रतिगमनकारीले सांसदहरूलाई आफूलाई मनलागेको व्यक्तिलाई मत दिएर प्रधानमन्त्री बनाउनबाट रोक्यो – यो बुझ्न नसकेर हामी रन्थनिएका छौँ । फेरि कुनै मौका पर्यो भने डा. भट्टर्राईले यसबारे सार्वजनिक भाषणमार्फत नै स्पष्ट पारिदिनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।
– कुमार ढकाल, कविता कार्की, हरि तामाङ र सुजन परियार

प्रतिक्रिया