उम्मेदवारी फिर्ता असंवैधानिक-रामचन्द्र पौडेल

उम्मेदवारी फिर्ता असंवैधानिक-रामचन्द्र पौडेल


काङ्ग्रेसभित्र सदैव मध्यमार्गी देखिनुभएका संसदीय दलका नेता एवम् केन्द्रीय उपसभापति रामचन्द्र पौडेल यसपटक काङ्ग्रेस महाधिवेशनमा खुलेर सुशील कोइरालाको पक्षमा लाग्नुभयो । सातौंपटकको प्रधानमन्त्री चुनावपछि एमाले र माओवादीबीच प्रचण्डको उम्मेदवारी फिर्ता लिएपछि उहाँलाई पनि प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन चर्को दबाब छ । तर, यस्तो दबाबलाई उहाँले पूर्णतः असंवैधानिक र संसदीय व्यवस्थालाई कमजोर पार्ने खेलको रूपमा लिनुभएको छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी ः
० प्रचण्डले त उम्मेदवारी फिर्ता लिए, तपाईं लिनुहुन्न –
– संसद्बाटै यसको निकास खोजिनुपर्छ । संसद्लाई माइनस गरेर लिइने कुनै पनि निर्णय मलाई स्वीकार्य छैन । संसद्बाहिर गएर लिइने निर्णय काङ्ग्रेसले स्वीकार्ने कुरा आउँदैन । हामी संसद्लाई नै बलियो बनाउने पक्षमा छौँ ।
० भनेपछि तपाईं उम्मेदवारी फिर्ता लिँदै नलिने पक्षमा उभिनुभएको हो –
– अहिले उम्मेदवारी फिर्ता लिने कुनै सम्भावना छैन । किनभने को प्रधानमन्त्री बन्ने भन्ने कुराको छिनोफानो गर्ने ठाउँ संसद् नै हो । संसद्बाहिर सहमतिका नाममा मुलुकलाई बन्धक बनाउन पाइँदैन ।
० तपाईंको उम्मेदवारी फिर्ता नलिँदा काङ्ग्रेस सहमतिको विरोधी देखिँदैन –
– काङ्ग्रेस जहिले पनि सहमतिको पक्षमा छ । मुलुकमा सहमतीय राजनीतिको सुरुवात काङ्ग्रेसले नै गरेको हो । उम्मेदवारी फिर्ताको कुरा असंवैधानिक हो । यो संसद्लाई बेकम्मा बनाउने खेल हो ।
० संविधान लेख्न र शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन सहमति चाहिँदैन र –
– शान्ति र संविधानको सुनिश्चितता र सरकारको नेतृत्वको टुङ्गो नलागेसम्म काङ्ग्रेसले उम्मेदवारी फिर्ता लिँदैन । हामी शान्तिप्रक्रियालाई
निष्कर्षमा पुर्‍याउन चाहन्छौँ । अहिले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित सहमति आवश्यक छ । सहमतिको नारा दिने मेरो पोल्टामा सहमति होस् भनेर गाँठो पारेर बस्ने ? सहमति इमानदारीपूर्वक हुनुपर्छ, देखावटी होइन ।
० प्रचण्डले सहमतिको वातावरण बनाउन उम्मेदवारी फिर्ता लिन खोज्दा काङ्ग्रेस बाधक बनिरहेजस्तो देखियो नि –
– काङ्ग्रेस सहमतिको बाधक होइन । को-को बाधक हो भन्ने इतिहासले मूल्याङ्कन गर्छ । संवैधानिक व्यवस्थाअनुसारको सहमति प्रयासका लागि समय सकिएपछि प्रचण्ड र झलनाथ खनाल दुवैले उम्मेदवारी दिएका हुन् । बहुमतका लागि उम्मेदवारी दिने र अहिले सहमतिको कुरा गर्नु हलो अड्काएर राख्नुजस्तै हो । त्यसैले उनीहरूले सहमतिका नाममा मुलुकलाई असंवैधानिक बाटोतिर हिँडाउन खोज्दै छन् ।
० १० गते पनि तपाईं प्रधानमन्त्री नबन्ने स्थिति आयो नि त –
– १० गते पनि नेपाली काङ्ग्रेस अहिलेकै प्रक्रियामा रहन्छ । यसमा तलमाथि हुँदैन । तर, १० गते मुलुकलाई निकास दिने हो भने मलाई सबैले मतदान गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्नुपर्छ । काङ्ग्रेस नेतृत्वको सरकारबाहेक तत्काल अरू विकल्प छैन ।
० माओवादी र एमालेको तीनबुँदे सहमतिलाई कसरी लिनुहुन्छ –
– यो केटाकेटी खेल हो । यस्तो खेल खेलेर मुलुकलाई अस्थिरतातिर धकेल्ने, संसदीय व्यवस्था कमजोर बनाउने, शान्ति र संविधान नचाहनेको अपरिपक्व र पूर्वाग्रही निर्णय हो । यो निर्णयको कुनै तुक छैन । यसले समस्या समाधानमा सघाउ पुर्‍याउँदैन ।
० काङ्ग्रेसको बाह्रौँ महाधिवेशन त सकियो, यसले कस्तो सन्देश दिएको छ –
– नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशनले नेता तथा कार्यकर्तामा ठूलो उत्साह र उमङ्ग छाएको छ । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काङ्ग्रेसको छवि र प्रतिष्ठा उच्च पारेको छ । स्वस्थ प्रतिस्पर्धाले पार्टीलाई अझ लोकतान्त्रिक र बलियो बनाएको छ । यसले पार्टी थप गतिशील, सुसङ्गठित र एकीकृत भएको छ ।

भारत हस्तक्षेप होइन, सहयोग बढाउन चाहन्छ -सदानन्द सिंह -भारतीय नेता)
भ्ाारतीय कंग्रेस आईका वरिष्ठ नेता सदानन्द सिंह नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा भाग लिनका लागि काठमाडौं आउनुभएको थियो । उहाँको नेतृत्वमा कंग्रेस आईले चार सदस्यीय प्रतिनिधिमण्डल महाधिवेशनमा सहभागी हुन पठाएको थियो । भारतीय राजनीतिमा राम्रो छाप बनाएका सिंह बिहार राज्यसभाका सभामुख पनि रहिसक्नुभएको छ । विभिन्न समयमा मन्त्री रहेका सिंह कंग्रेस आई अध्यक्ष सोनिया गान्धीको निकट रहेर काम गर्ने नेता हुनुहुन्छ । काठमाडौंमा रहँदा उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानीको प्रमुख अंश ः
० तपाईंले नेपाली काङ्ग्रेसको महाधिवेशनमा सहभागी हुनुभयो, कस्तो अनुभव गर्नुभयो ?
– नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा भाग लिन पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । नेपाली काङ्ग्रेसको इतिहास लामो छ । नेपाल र नेपालीलाई स्वतन्त्र बनाउन यसले ठूलो सङ्घर्ष गरेको छ । विश्वको इतिहास नियाल्ने हो भने एउटा पार्टीले तीनवटा क्रान्तिको नेतृत्व गरेको कमै देखेका छौँ । त्यसैले काङ्ग्रेसले नेपालमा राणा शासनविरुद्ध लड्ने बखत भारतमा स्वतन्त्रताका लागि समेत सहयोग पुर्‍याएको थियो । भारतीय स्वतन्त्रता सङ्ग्राममा जवाहरलाल नेहरूसँगै बीपी कोइराला पनि जेल बसेको इतिहास साक्षी छ ।
० नेपाली काङ्ग्रेसको महाधिवेशनले कस्तो सन्देश देलाजस्तो तपाईंलाई लागेको छ –
– हामीले जानेबुझेदेखि अहिलेसम्म काङ्ग्रेसले जहिले पनि जनतालाई स्वतन्त्र र अधिकारसम्पन्न गराउने काम गरेको छ । हरेक लोकतान्त्रिक आन्दोलनमा उसको भूमिका अग्रणी छ । काङ्ग्रेसले मुलुकको राजनीतिक परिस्थितिको सूक्ष्म विश्लेषण गरेर पार्टीलाई समयानुकूल र चुस्त दुरुस्त पार्न सक्नुपर्छ । मास बेस पार्टी भएकाले कार्यकर्तालाई सुरक्षाको अनुभव गराएर सङ्गठनमा ध्यान दिनुपर्छ ।
० यो महाधिवेशनले काङ्ग्रेसलाई बलियो बनाउन सक्ला –
– नेपालको मुख्य समस्या के हो र त्यसको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे काङ्ग्रेस महाधिवेशन केन्द्रित हुनुपर्छ । नेपाली जनताले शान्ति खोजेका छन् । नेपालमा शान्ति, राजनीतिक स्थायित्व र लोकतान्त्रिक संविधान समयावधिभित्रै लेखेर आर्थिक समृद्धिको फड्को मार्नुपर्‍यो ।
० नेपालमा शान्ति र संविधान समयावधिभित्रै सम्पन्न हुने आधार देख्नुभएको छ ?
– मलाई लाग्छ, नेपालका राजनीतिक दलहरू समय र परिस्थितिअनुरूप आफ्नो निर्णय लिन सक्षम छन् । दलहरूसँग हाम्रो यति मात्र आग्रह छ- दलहरूले राष्ट्रिय सहमति गरेर मुलुकका प्रमुख एजेन्डा पहिचान गरी समस्या समाधानमा लाग्नोस् । काङ्ग्रेस महाधिवेशन समारोहमा जुन किसिमको उपस्थिति देखियो । त्यो एउटा शुभसङ्केत हो । त्यसैले नेपालमा लोकतन्त्र संस्थागत हुने मैले विश्वास लिएको छु ।
० शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन भारतको कस्तो सहयोग रहन्छ –
– नेपाल हाम्रो नजिकको घनिष्ट मित्र हो । नेपालमा शान्ति-प्रक्रिया निष्कर्षमा पुगेको हेर्न हामी आतुर छौँ । त्यसका लागि भारत सरकार या कंग्रेस आईबाट कस्तो किसिमको सहयोग गर्नुपर्छ, त्यसका लागि हृदयदेखि तयार छौँ । अर्को कुरा नेपालमा परिवर्तनपछि लोकतान्त्रिक संविधान बन्नुपर्ने हुन्छ, त्यसका लागि भारत जस्तोसुकै सहयोग गर्न तयार छ । तर, कस्तो संविधान बनाउने भन्ने कुरा नेपालकै दलहरू र संविधानसभाले तय गर्ने हो । मलाई विश्वास छ, बाँकी अवधिमा नेपाल प्रमुख दुई एजेन्डा पूरा गरेर लोकतन्त्रलाई बलियो बनाउन सक्षम हुने छ ।
० नेपालमा तीन महिनादेखि सरकार बन्न सकेको छैन । कंग्रेस आईले नेपालमा कस्तो सरकारको अपेक्षा गरेको छ –
– हामी नेपालको आन्तरिक मामिलामा केही बोल्न चाहँदैनौँ । कस्तो सरकार बनाउने, कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा नेपालकै दलहरूले तय गर्नुपर्छ ।
० नेपाल सरकारविहीन हुँदा भारतले आफ्नो अनुकूल प्रधानमन्त्री बनाउन चाहेको चर्चा गरिन्छ नि –
– हामी यति मात्र भन्न सक्छौँ, नेपालमा लामो समयसम्म सरकारविहीन अवस्था रहनुहुँदैन । छिटोभन्दा छिटो लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार सरकार बन्नुपर्छ । त्यस्तो सरकार नै दिगो र स्थायी हुन्छ ।
० माओवादीलाई सरकारमा जान रोकेर भारतले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको आरोप पनि छ नि –
– कसले के भन्छ, त्यसबारे हामी प्रतिक्रिया दिएर हिँड्दैनौँ । त्यसबारे मलाई त्यति धेरै थाहा पनि छैन । र, कंग्रेस आईको स्पष्ट दृष्टिकोण छ, नेपालको आन्तरिक मामलामा कुनै हस्तक्षेप गर्न चाहन्नौँ । एउटा छिमेकीको नाताले नेपालका बारेमा जानकारी राख्नु र कुनै बेला प्रतिक्रिया जनाउनुलाई हस्तक्षेप भन्न मिल्दैन ।
० भारत नेपालमा बहुमतीय या सहमतीय सरकार चाहन्छ –
– सरकार शीघ्र बनाउनुपर्ने कुरा यहाँ शीर्ष नेताहरूले महसुस गरिसक्नुभएको छ । हामी बहुमतीय या सहमतीय सरकार भन्दैनौँ । तर, राष्ट्रिय सहमति बन्न सक्यो भने नेपालमा राम्रो सुरुवात हुनेछ । त्यसबाट नै नेपालको भावी यात्रा सुखद हुनेछ ।
० नेपालका माओवादीसँग कंग्रेस आईको सम्बन्ध सुधार भएको हो –
– लोकतन्त्रमा विश्वास राख्ने सबै दलसँग हामी समान सम्बन्ध राख्न चाहन्छौँ । माओवादीसँग हाम्रो आग्रह, पूर्वाग्रह छैन । माओवादीले लोकतन्त्रलाई पूर्ण स्वीकार गरेको खण्डमा कंग्रेस आई सम्बन्ध स्थापित गरेर अघि बढ्न तयार छ । तर, ऊ हतियार र लडाकुविहीन पार्टी बन्नुपर्‍यो । पार्टीगत रूपमा सम्बन्ध नराम्रो छैन ।
० नेपाल र भारतबीचको सम्बन्ध कस्तो देख्नुभएको छ ?
– नेपाल र भारतबीच राम्रो सम्बन्ध छ । म बिहारको सभामुख भएर काम गरेको छु । दुई देशको सम्बन्ध सिमानामा गएर हर्ेर्नुपर्छ । एसियामा हाम्रो सबैभन्दा राम्रो सम्बन्ध भएको मुलुक नै नेपाल हो । दुई देशबीच भौगोलिक, सांस्कृतिक, आर्थिक, सामाजिक सम्बन्ध जनस्तरसम्म फैलिएको छ ।