राष्ट्रिय प्रतियोगिता प्रसवपीडामा सुदूरपश्चिम

राष्ट्रिय प्रतियोगिता प्रसवपीडामा सुदूरपश्चिम


-श्रीविक्रम भण्डारी
हरेक कुराबाट उपेक्षित सुदूरपश्चिमाञ्चलले भोग्नुपरेको पीडा कसैबाट छिपेको छैन । वर्षौंदेखि नकारात्मक सोचको सिकार बन्दै आएको सुदूरपश्चिमको भविष्यमाथि पुनः काला बादलहरू मडारिन थालेका छन् । सुदूरपश्चिमले काँचुली फेर्ने सपना देख्नेबित्तिकै सरकार त्यसको अवरोध बन्दै आएको कसैबाट छिपेको छैन । कर्णालीवारिको मुलुकलाई मात्र नेपाल सम्भिmने सरकारको मानसिकताले गर्दा यस्तो अवस्थाको सिर्जना भएको हो । आखिर सुदूरपश्चिमप्रति सरकारको सोच के हो ? त्यो अहिलेसम्म कसैले बुझ्न सकेको छैन । आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक दृष्टिकोणमा उत्कृष्ट पहिचान र स्थान बनाइसकेको सुदूरपश्चिमप्रति सरकार र नेताहरूले किन कर्केनजरले हेरेका होलान्, त्यो विडम्बनाको विषय बनेको छ । मुलुक हाँक्ने नेताहरूदेखि मुलुकको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रमा पुर्‍याउने खेलाडीहरू जन्माइसकेको सुदूरपश्चिमप्रति किन सरकारले विश्वासको सेतु निर्माण गर्न सकेको छैन- सोचनीय कुरो बनेको छ ।
अहिले सुदूरपश्चिमाञ्चललाई छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने शुभअवसर प्राप्त भएको छ । काठमाडौंमा सम्पन्न भएको पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनसँगै राष्ट्रिय खेलकुद परिषद्को ७२औं बोर्ड बैठकले छैटौं राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिमको धनगढीमा आयोजना गर्ने निर्णय गरेको थियो । त्यतिबेला छैटौं राष्ट्रिय प्रतियोगिताको झण्डा बोकेर निकै उत्साही बनेका सुदूरपश्चिमाञ्चलका खेलकुद पदाधिकारीहरू यतिबेला राष्ट्रिय खेलकुद परिषद्को अनुगमन टोलीसँग भिखारीझैं प्रस्तुत भइरहेका छन् । राखेपले धनगढीमा छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्ने निर्णय गरे पनि अहिलेसम्म भौतिक पूर्वाधारको निर्माण र तयारीको बारेमा कुनैै चासो देखाएको थिएन । सरकारको सहयोगबिना कल्पनासमेत गर्न नसकिने राष्ट्रिय प्रतियोगिताको आयोजनाप्रति राखेपको उदासीनताले गर्दा सुदूरपश्चिमले छैटौं राष्ट्रिय प्रतियोगिताको झण्डा बोके पनि एउटा कोठामा लगेर थन्क्याउन बाध्य भएको थियोे ।
सुदूरपश्चिमाञ्चलको मान, सम्मान र प्रतिष्ठासँग गाँसिको छैटौं राष्ट्रिय प्रतियोगिता अहिले सबैका लागि चासोको विषय बनेको छ भने सुदूरपश्चिमका लागि चुनौती । तर, विडम्बना, मुलुकको विषम राजनीतिक अवस्था र त्यस क्षेत्रका राजनीतिक पार्टीका नेताहरूको आपसी मतभेदका कारणले अहिले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामाथि प्रश्नचिह्न लागेको छ । स्मरणीय छ, नेपालगञ्जमा सम्पन्न भएको चौथो राष्ट्रिय प्रतियोगितापश्चात् पनि सुदूरपश्चिमाञ्चलले पाँचौँ राष्ट्रिय प्रतियोगितको आयोजनाको जिम्मेवारी पाएको थियो । तर, पछि विभिन्न कारण देखाउँदै राखेपले उक्त प्रतियोगिता काठमाडौंमा आयोजना गरेको थियो । यसरी एकपटक पाएको अवसरलाई स्वयम् राखेपले छिनेको तीतो अनुभव हुँदाहुँदै पनि सुदूरपश्मिाञ्चलका खेलकुद पदाधिकारी र जनता किन कानमा तेल हालेर बसेका हुन्- त्यो खोजीको विषय बनेको छ । प्रतियोगिताको आयोजनामाथि तरबार तेर्सिंदा अहिले सिङ्गो सुदूरपश्चिमको प्रतिष्ठामाथि औंला उठेको छ । समयमै कुनै पहल नगर्नु र अनुगमन टोलीका समक्ष अनुयविनय गर्नुको पछाडिको अर्थ र स्वार्थ के हो ? त्यो भविष्यमा सुदूरपश्चिमका लागि घातक पनि हुन सक्छ ।
भौतिक पूर्वाधारहरूले सम्पन्न भएको काठमाडौंमा पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुँदा तत्कालीन सरकारले २५ करोड रुपैयाँ दिएको थियो । र पनि राजधानीमा आयोजना भएको पाँचौँ राष्ट्रिय प्रतियोगिता कसरी सम्पन्न भएको थियो त्यो कसैबाट छिपेको छैन । टुँडीखेलको खुल्ला चौर र धुवाँ-धुलोमा सम्पन्न भएको उक्त खेलमा राखेपले १८ करोड खर्च गरेको थियो । त्यस्तै गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको नाम मात्रको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १० लाख दिने सरकारले छैटौं राष्ट्रिय प्रतियोगिताका लागि अहिलेसम्म कति बजेट दिएको छ त्यसको लेखाजोखा राखेको छ कि छैन ? सीमित बजेटमा कति कार्य अघि बढ्न सक्छ त्यसको हेक्का राखेपलाई हुँदाहुँदै पनि अनुगमन टोली पठाएर राखेपले किन सुदूरपश्चिमको हर्ुमत लिने दुस्साहस गरेको हो- सोचनीय भएको छ । सुदूरपश्चिमाञ्चलका खेलकुद पदाधिकारीहरू माथि उल्लेखित कुराको उठान गर्दै प्रतिवाद गर्नुको साटो किन त्वम् शरणम्को रूपमा प्रस्तुत भए शङ्का गर्नु स्वाभाविकै भएको छ । आफ्नो हक र अधिकारले पाउनुपर्ने बजेट सरकारले कति उपलब्ध गरायो र त्यसमा आफू कति खरो उत्रियौँ त्यसको त्यसको विश्लेषण गर्नुको साटो अनुगमन टोलीका सामु लम्पसार परेर कायरता देखाउनुलाई कदापी शुभसङ्केत मानिँदैन ।
सुदूरपश्चिमको शानको रूपमा लिइएको राष्ट्रिय प्रतियोगितालाई सफल पार्न अहिले नौवटै जिल्लाका खेलकुद पदाधिकारीहरूले विशेष अभियान छेड्न आवश्यक भइसकेको छ । राष्ट्रिय प्रतियोगिताको सफल आयोजनाका लागि साङ्गठिक र दूरदर्शी हुनु जरुरी भइसकेको छ । जसका लागि कर्ीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले सुदूरपश्चिममा छैटौं राष्ट्रिय प्रतियोगिता आयोजना गराउन आफूले जस्तोसुकै भूमिका निभाउनुपरे पनि पछि नहट्ने बताएका छन् । विष्टले छैटौं राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिमको चुनौती मात्रै नभई समग्र खेलकुदको विकासको ढोका खोल्ने भएकोले राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिममा गराउन सबैले होस्टेमा हैंसे गर्नुपर्ने बताए । उनले एकपटक पाएको अवसर गुमिसकेको स्मरण गराउँदै अब त्यस्तो हुन नदिन सुदूरपश्चिमका नेतादेखि जनता तात्नुपर्ने खुलासा गरेका थिए । आफ्नो क्षेत्रमा खेलकुदको महत्त्वपूर्ण प्रतियोगिता आयोजना हुन लागेको र अधिराज्यभरिका खेलाडीलाई सुदूरपश्चिमको चिनारी गराउन पनि प्रतियोगिता आयोजना गर्नुपर्ने स्पष्ट पारेका थिए । विष्टले प्रतियोगितालाई सफलताको मूर्तरूप दिन सम्पूर्ण राजनीतिक दलका नेताहरूको एउटै स्वर हुनुपर्नेसमेत बताए ।
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले धनगढीमा छैटौं राष्ट्रिय प्रतियोगिता गर्ने निर्णय गरेदेखि पहिलोपटक अनुगमन टोली गत साता धनगढी पुगेको थियो । प्रतियोगिता आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधार, बसोबासको प्रबन्ध र तयारीको अध्ययन गरेर टोली हालै राजधानी फर्किएको छ । अनुगमन टोलीले विभिन्न निकायसँग छलफल र भेटवार्ता गरेर सम्भावनाको ढोका बलियो भएको निष्कर्ष निकाले पनि एथलेटिक्स ट्रयाक र प्याराफिट तुरुन्तै बनाउनुपर्ने बताएको थियो । सो क्रममा छैटौं राष्ट्रिय प्रतियोगिताप्रति सुदूरपश्चिमका जनताले देखाएको प्रतिबद्धता र अपनत्व भावनाले अनुगमन टोलीको मन जित्न सफल भएको थियो । अनुगमन टोलीका संयोजक खड्गबहादुर रानाभाटले सुदूरपश्चिमका जनता साम, दाम, डण्ड, भेद चारै नीतिको अवलम्बन गरेर छैटौं राष्ट्रिय प्रतियोगिता गर्न चाहेको चर्चा गर्दै यो प्रतियोगिताको मिति चाँडै तोकिने बताएका थिए । उनले प्रतियोगिताप्रति सुदूरपश्चिमका जनताको फिलिङ आफूले बुझेको प्रस्ट पार्दै यो प्रतियोगिताका लागि शुभसङ्केत भएको खुलासा गरेका थिए ।

विदेशी खेलाडी र बुद्धिचालको रौनक
नेपालमा पहिलोपटक आयोजना भएको हिमालयन ग्रान्डमास्टर्स बुद्धिचाल प्रतियोगिता अहिले मुलुकको शान बनेको छ । दस देशका ग्रान्डमास्टरहरूले प्रतिस्पर्धा गरिरहेको यो प्रतियोगिता अहिले नेपाली खेलाडीका लागि अनुभवको पाटो बनेको छ भने विदेशी खेलाडीका लागि नयाँ गन्तव्य । लामो समयको अन्तरालमा यति धेरै विदेशी खेलाडीलाई मुलुकमा भित्र्याएर द हिमालयन चेस क्लबले खेलकुदलाई नौलो गुन लगाएको छ । आफ्नो स्थापनाको डेढ वर्षको अवधिमै ग्रान्डमास्टर्स प्रतियोगिताको आयोजना गरेर हिमालयन चेस क्लबले बुद्धिचाल खेललाई व्यावसायिकतर्फ मोड्न सफल भएको छ । बुद्धिचाल खेलको विकासमा कोसेढुङ्गाको रूपमा लिइएको यो प्रतियोगितापश्चात् नेपालको अन्तर्राष्ट्रिय चेस डबलीमा छुट्टै पहिचान हुने अध्यक्ष रामकुमार थापाले बताएका छन् । मुलुकको विषम परिस्थितिमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न निकै गाह्रो हुँदोरहेछ भन्दै अध्यक्ष थापाले जबसम्म सहयोगी हात उठ्दैनन् तबसम्म यस्ता प्रतियोगिता गर्न नसकिने बताए । स्मरण रहोस् थापा यो प्रतियोगिताका आयोजक र प्रायोजक दुवै आफैं हुन् । आफूले आँटेको कार्य गरेको र भविष्यमा यसलाई निरन्तरता दिन सबैको सहयोगको खाँचो हुने स्पष्ट पारेका छन् । थापाले यतिबेला आफ्नै मुलुकमा विदेशी खेलाडीहरूको माझमा नेपाली खेलाडीहरूले प्रदर्शन गरेको देख्न पाउँदा निकै आनन्द आइरहेको बताउँदै आफ्नो प्रयास केही हदसम्म सफल भएको बताएका थिए । एक सातासम्म चलेको हिमालयन ग्रान्डमास्टर्स बुद्धिचाल प्रतियोगिता यही मंगलबार सम्पन्न भएको थियो ।

बजेटले सबैलाई रुवायो
१६औँ एसियाली खेलकुद प्रतियोगिता आयोजना हुन दुई महिना मात्र बाँकी रहेको अवस्थामा पनि सरकारले बजेट उपलब्ध नगराएपछि अहिले खेलकुदमा रुवाबासी चलेको छ । कतिपय खेलाडीहरू प्रशिक्षण जान छाडेका छन् भने कतिपय विदेशमा प्रशिक्षण गर्दागर्दै स्वदेश फर्किएका छन् । सरकारले अपनाएको गैरजिम्मेवारी भूमिकाका कारण हालै दक्षिण कोरियामा प्रशिक्षण गरिरहेका तेक्वान्दोका खेलाडीहरू स्वदेश फर्किन बाध्य भएका हुन् ।
बजेट अभावको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले केही गर्न नसक्ने भनेपछि उनीहरू फिर्ता भएका हुन् । सोबारेमा जानकारी दिँदै तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणाले बजेटको टुङ्गो नलागेका कारण खेलाडीहरूलाई फिर्ता बोलाइएको स्पष्ट पारेका थिए । अध्यक्ष राणाले १२ जना खेलाडीलाई कोरियामै प्रशिक्षण गराएर उतैबाट चीनको ग्वान्झाउ पठाउने रणनीति भए पनि अहिले त्यो सम्भव नभएको बताए । सबै कुरा बजेटमै निर्भर पर्ने र बजेटबिना एक कदम पनि अगाडि बढाउने नसकिने हुँदा अहिले अवस्था निकै संवेदनशील बनेको बताए । राणाले समयमै बजेट आएन र दुई, तीन हप्ता अगाडि मात्रै आयो भने त्यसको कुनै अर्थ नहुने बताए । स्मरण रहोस्, एसियाडमा तेक्वान्दो खेलाडीहरूलेे ऐतिहासिक रजतपदक जितिसकेका छन् भने विगतको दोहा एसियाडमा पनि तीन कास्यपदक जित्न सफल भएका थिए । १६औँ एसियाडमा पनि तेक्वान्दोलाई प्रमुख पदकविजेता खेलको रूपमा राखिएको छ ।

नेत्रहीन क्रिकेट सङ्घको नयाँ कार्यसमिति
हालै नेत्रहीन क्रिकेट सङ्घको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त दोस्रो अधिवेसनले दुई महिलासहित ११ सदस्यीय केन्द्रीय कार्यसमितिको गठन गरेको छ । पवन घिमिरेको अध्यक्षमा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा विक्रमबहादुर राना, महासचिव सुगम भट्टराई, कोषाध्यक्षमा राजेन्द्र धिताल र सचिवमा उपेन्द्र श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यहरूमा रमेश पोखरेल, अमृत बराल, सुमन खनाल, विमल पौडेल, लालुमाया भुजेल र रूपा बलाल रहेका छन् । नयाँ केन्द्रीय समितिको कार्यकाल तीन वर्षको हुने महासचिव सुगम भट्टराईले बताएका छन् ।
त्यस्तै नेपाल राष्ट्रिय बहिरा तथा सुस्त श्रवण महासङ्घअर्न्तर्गतको राष्ट्रिय बहिरा महिला समितिले बहिरा महिलालाई लक्षित गरी साङ्केतिक भाषाको कार्यक्रम आयोजना गरेको छ । समितिको साङ्केतिक भाषाको माध्यमबाट स्वास्थ्यसम्बन्धी जनचेतना, आफ्नो अधिकारको सचेतता, बहिरा महिलाको अधिकार प्रजनन स्वास्थ्य, क्यान्सर र एचआईभी/एड्ससम्बन्धी जानकारी दिएको थियो । उक्त कार्यक्रममा विराटनगर, इलाम, पाँचथर, धनकुटा, झापा र सुनसरीका ५० जना बहिरा महिलाको सहभागिता रहेको थियो । -शशिबाबु पौडेल