वाट्सप नेपाली ताराहरू पुरस्कृत

वाट्सप नेपाली ताराहरू पुरस्कृत


अनलाइन गायन प्रतियोगिता ‘वाट्सप नेपाली तारा सिजन–१’ प्रतियोगिताका विजेता कलाकारहरू पुरस्कृत भएका छन् । राजधानीमा एक समारोहको आयोजना गरी उक्त प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् वरिष्ठ गायक गणेश रसिकले प्रदान गरे ।

पुरस्कार प्रदानपश्चात बोल्दै प्रमुख अतिथि रसिकले भने, ‘नेपाली गीतसङ्गीतका क्षेत्रमा वाट्सप नेपाली ताराले एउटा इतिहास रचेको छ । विजेता गायक प्रतिभाहरूले भविष्यमा यो क्षेत्रमा प्रगति गर्ने छन् भन्ने मलाई लागेको छ ।’

कार्यक्रमका परिकल्पनाकार एवम् किराया मकाउका सचिव नवीन राईले अनलाइनमार्फत् गायन प्रतिभाको खोजी गर्ने उद्देश्यले ‘वाट्सप नेपाली तारा’ कार्यक्रम सञ्चालन गरेको बताए । प्रतियोगिताका मुख्य निर्णायक गायक तथा सङ्गीतकार मनोज साङसोनले अनलाइनमार्फत विश्वभरि छरिएर रहेका सयौँ नेपाली प्रतिभाहरूले कार्यक्रममा भाग लिएको बताए । तिनै प्रतिभा मध्येबाट कोरियामा कार्यरत भोजपुरका सुरेन बान्तवा प्रथम, भोजपुरकै विनोद बान्तवा द्धितीय र सङ्खुवासभाका अमर राईले तृतीय स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार नगद, प्रमाणपत्र र एउटा गीत रेकर्डिङको व्यवस्था रहेको भने दोस्रा र तेस्रा हुनेलाई क्रमशः २०–२० हजार नगद र प्रमाणपत्र रहेको छ ।