मालबाहक कन्टेनर ट्रक भारतमा रोकिए

मालबाहक कन्टेनर ट्रक भारतमा रोकिए


बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै सडक अबरुद्ध गरेका कार(ा नेपाल आउन लागेको मालबाहक कन्टेनर र ट्रक भारतको जोगबनी क्षेत्रका रोकिएका छन् । भारतीय बजार जोगबनीका स्थानीय बासिन्दाले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् । हडतालका कारण जोगबनी बजार पूर्णतः बन्द छ ।

सडकमा प्रदर्शनकारीले टायर बालेर नाराबाजी गरिरहेका छन् । उनीहरूले सडकमा साइकलबाहेक कुनै सवारीसाधन चल्न दिएका छैनन् । स्थानीय बासिन्दा नरेश यादवका अनुसार बाढीबाट जोगबनी क्षेत्रमा मात्र १४ जनाको मृत्यु भएको छ र १० हजार घरपरिवार विस्थापित भएका छन् । उनका अनुसार सरकारले कुनै राहत सामग्री उपलब्ध नगराएका कारण स्थानीयवासी स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका हुन् ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले नाकातर्फ आइरहेका मालबाहक गाडी सीमापारि ५०० कोे संख्यामा थन्किएर बसेको जानकारी दिनुभयो । यसबाट नेपालका आयातकर्ताले विलम्ब शुल्क तिर्नुपर्ने भएको छ । एक कन्टेनरले एक दिनको भारु पाँचहजार देखि छ हजार र मालबाहक ट्रकले भारु दुई हजारदेखि २५ सयसम्म विलम्ब शुल्क तिर्नुपर्ने अध्यक्ष परासरको भनाइ छ ।

साउन २८ गते शनिबारदेखि मालबाहक गाडी सीमापारि रोकिएका हुन् । बाढी र त्यसपछिको हडतालका कारण मालसामान भित्रन नपाएपछि विराटनगर भन्सारबाट हुने राजस्व संकलनमा असर पुगेको छ । दैनिक साढे सात करोड रुपैयाँको हाराहारीमा राजस्व संकलन गरिरहेको कार्यालयले बिहीबार बेलुकासम्म ७५ लाख रुपैयाँ मात्र असुल गरेको छ।

कार्यालयले साउन २८ गते चार लाख, साउन २९ गते एक लाख ८७ हजार, ३० गते ३९ लाख र ३१ गते ५३ लाख, भदौ १ मा ७४ लाख रुपैयाँ संकलन गरेको थियो । “यो राजस्व पनि पहिलेदेखि नै आएर थन्किएका मालसामान जाँचपास गरेर संकलन गरिएको हो”, भन्सार अधिकृत हेमन्त न्यौपानेले भन्नुभयो । उहाँका अनुसार साउन २८ गतेयता केही भित्रिएको छैन । विराटनगर भन्सारले चालु आर्थिक वर्षमा ३१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत दिलीप केसीको भनाइ छ । रासस