राणा तिर गएकालाई मूल प्रवाहमा फर्किन अपिल

राणा तिर गएकालाई मूल प्रवाहमा फर्किन अपिल


पशुपति शमशेर राणा समूहमा लागेका केन्द्रीय सदस्य तथा सांसदहरुलाई मूल प्रवाहमा फर्किन कमल थापा नेतृत्वको राप्रपाले अपिल गरेको छ ।  राप्रपाको आजदेखि हेटौडामा सुरु भएको केन्द्रीय समितिको विशेष बैठकले सो अपिल गरेको केन्द्रीय सदस्य दिलनाथ गिरीले जानकारी गराए ।

भदौ ४ गतेको लागि राणा समूहलाई निर्वाचन आयोगमा दल दर्ताको लागि सनाखत गराउन बोलाएको अवस्थामा संस्थापनले तीन गतेभित्र मूल प्रवाहमा आउन ढोका खुल्ला गरेको हो । गत २२ बजे राणाले आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद रहेको दाबी गर्दै राप्रपा प्रजातान्त्रिक गठन गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु गिरी सहित तोरण गुरुङ, धनबहादुर बुढा, दिनेश शाह , श्यामबहादुर शाहीलगायतले धारणा राखेका थिए । उनीहरुले राणाले पार्टी फुटाउने प्रयास गरेर गम्भीर भुल गरेको, संशोधनको विपक्षमा मतदान गरिनुपर्ने, पार्टीले सशक्त रुपमा आफ्ना एजेण्डालाई जनतासामु लैजानुपर्नेलगायतका धारणा राखेका थिए । बैठक भदौ ३ गतेसम्म चल्ने बताइएको छ ।

गिरीका अनुसार बैठकले देशी विदेशी शक्तिको उक्साहटमा राणाले पार्टी विभाजनको प्रयास गरेको ठहर गर्दै पार्टीको मुल प्रवाहमा फर्किन अपिल गरेको हो । राप्रपाको बैठक अविरल वर्षापछि आएको बाढीपहिरो, आगामी चुनावमा पार्टीको रणनीति, संविधान संशोधन, पार्टी फुट र अब गर्नुपर्ने पहका साथै समसामयिक र विविध गरी ७ एजेण्डामा केन्द्रीत रहेको बताइएको छ ।  तस्बिर सौजन्यः राजाराम बर्तौला