तृष्णा र सीमान्तकृत सपनाहरू

तृष्णा र सीमान्तकृत सपनाहरू


-दीपकमणि दाजुभाइ
कुन साल हो ठ्याक्क याद भएन ।
उनका कथाहरू हामी चाख मानेर पढ्थ्यौँ । अझ उनका कथा पढिरहँदा दुई कुराले हामी खुव तानिथ्यौँ । पहिलो त उनको कथाको कालीगढी या भनौँ कथाको बुनोटले अनि दोस्रोचाहिँ कथासँगै छापिने उनको फोटोले । उनको कथाको कालीगढी सरल छ तर, सुन्दर छ । आममानिसका पक्षमा उभिएको उनको लेखनले प्रस्ट आकार लिन सकेको नै उनको कथा बुनोटमा भेटिने भिन्न शिल्पले नै हो भन्ने लाग्छ । अनि कथासँगै छापिने फोटो पनि कम सुन्दर थिएन ।
पछि उनलाई भेटेपछि हामीलाई लाग्यो फोटोभन्दा मान्छे नै खुव राम्री । र, मान्छेभन्दा त कथा कता हो कता राम्रो ।
प्रश्सङ्ग हो कथाकार तृष्णा कुँवर र उनको नयाँ कथासङ्ग्रह सेराज अहमदको । यो तृष्णाको पहिलो कथासङ्ग्रह हो । यसअघि निकै पहिले उनको एउटा उपन्यास प्रकाशित थियो । उपन्यास बजार आउँदा-नआउँदै तृष्णाले कथाको क्षेत्रमा आफ्नो राम्रो उपस्थिति देखाइसकेकी थिइन् । नेपाली महिला कथाकारहरूका माझमा उनको उपस्थिति अनिवार्य बन्दै गयो बिस्तारै । अहिले त उनी राम्रो कथाकारका रूपमा दर्ज भएकी छिन् । भन्छिन्, ‘कथा नलेखी अब बस्न सकिँदैन होला ।’ उनको कथाप्रतिको यो आशक्तिलाई उनको लेखन र कथाका विषयवस्तुले पनि खुव साथ दिएका छन् । तृष्णाको लेखनमा भेटिने प्रतिबद्धता र लेखनप्रतिको उन्मादले पनि कति ठाउँमा उनलाई अझ सशक्त बनाएको हामीले आभाष पाएका छौँ । उनी प्रस्ट छिन् लेखनप्रति र त्यत्तिकै गम्भीर पनि छिन्- प्रकाशनपछिको जिम्मेवारीप्रति ।
तृष्णाको सेराज अहमद कथाको क्षेत्रमा प्रभावशाली उपस्थितिको प्रमाण हो ।
पेसाले पत्रकार तृष्णा कथामा छुट्टै र भिन्न विषयको उठान गरि्छन् । त्यसो त पत्रकारिताकै क्रममा भोगेका, देखेका र अनुभव गरेका कुराहरू न्ौ उनले कथामा उतारेकी छिन् । तर, कथाको गरिमालाई पत्रकारिताको रंगबाट जोगाएकी छिन् । यही नै सायद उनको लेखनको सबल पक्ष पनि हो । आफू आबद्ध पत्रिकामा लेखहरू लेख्ने क्रममा अधिकारकर्मीको आभाष दिने शब्दहरू लेख्न खप्पिस उनी कथामा संवेदनशील लेखकको रूपमा उभिन्छिन् । उनी महिला हुन् त्यही भएर महिलाका पीडाहरू उनका कथामा सजीव रूपमा आउँछन् तर त्यहाँ उनले अधिकार माग्ने र पाउनुपर्ने नाममा नारा बोल्दिनन् । नारीगत पीडालाई लेख्दै पीडाबाट पार पाउने उपायहरू सोच्न पाठकलाई बाध्य बनाउँछिन् ।
तृष्णाले आफ्नो धेरै कथाहरूमा सीमान्तकृत मानिस र उनीहरूका सुखदुःखलाई उनेकी छिन् । सेराज अहमदमा त उनले मुस्लिम समुदाय र उनीहरूका पीरमर्कालाई जस्ताको तस्तै देखाएकी छिन् । तृष्णाका कथाहरू, कथाहरू कम र वास्तविकता बढी बनेका छन् । उनी कथामा अनावश्यक फुँदा र अस्वाभाविक संवाद जोड्दिनन् । त्यही भएर पनि उनका कथाहरू ज्यादा स्वाभाविक लाग्छन् ।
सेराज अहमद उनको लेखनीको स्पष्ट खाका हो । सङ्ग्रहभित्रका प्रत्येक कथाहरूमा शैलीगत र शिल्पगत मात्र होइन विषय उठानका सर्न्दर्भमा पनि विशिष्टता रहेको छ । तृष्णालाई विषयको उठान कसरी गर्ने, कसरी टुङ्गोमा पुर्‍याउने र अभिव्यक्ति गर्दा कुन तरिकाले गर्ने भन्ने कुरामा प्रस्ट छिन् । त्यही भएर पनि उनका कथाहरू पढिरहँदा पाठकहरू अल्मलिनुपर्दैन । लेखकले उठाएको सर्न्दर्भ र अनुभूति बुझ्नलाई कठिन हुँदैन ।
त्ाृष्णाको विषय मानिस नै हो । मानिसका त्रासदी, मानिसका इच्छा र रहरहरू अनि मानिसका यौन जीवन, मानिसको सामाजिक हैसियत र राजनीतिलाई तृष्णाले छोडेकी छैनन् । उही र उनै विषयहरूमा रहेर पनि तृष्णाले आफ्नो कथामा नयाँ फ्लेवर दिएकी छिन् । नयाँ आभाष र सीमान्तकृत जीवनको नयाँ तस्बिर दिएकी छिन् । उनको कथामा मधेसी संस्कृति र भूगोलको सटिक विवरण पाइन्छ । मुस्लिम समुदाय, त्यहाँ रहने महिला, उनका सपना र जीवनभोगाइलाई तृष्णाले चित्रण गरेकी छिन् ।
न्ाारीगत मनोविज्ञान र सामाजिक यथार्थलाई तृष्णाले आफ्ना कथाको आधार भूमि बनाएकी छिन् । कथाहरूमा श्वेर कल्पनाभन्दा ज्यादा यथार्थ चित्रण नै छ । उनका प्रत्येक कथाले मानिसका सपना र जीवनबीचको तालमेल खोजिरहेको छ । सपनासँग भागिरहेका अनुहारहरू र सपना देख्न नसकेका आँखाहरू त्ाृष्णाका प्रत्येक पात्रहरूसँग छ । उनका पात्रहरू जीवन खोजिरहेका छन् । सहजता र आफ्नोपन खोजिरहेका छन् । तृष्णाका पात्रहरू देशसँग, माटोसँग गुनासो गर्दैनन्, मौन रूपमा आफ्नो जीवन खोजिरहन्छन् । र, त्यही जीवन खोज्ने क्रममा जानी-नजानी बाँचिरहेका पनि हुन्छन् । हामीलाई लाग्छ, तृष्णाका कथाहरू समाजका कथाहरू हुन् । मानिस र समाजसँगको उसको अन्तरसम्बन्ध प्रत्येक कथामा भेटिन्छन् ।
त्ाृष्णा यो समयकी प्रतिबद्ध कथाकार । उनी आख्यान मात्र लेख्छिन् । त्यसो त जागिरका क्रममा केही समाचारहरू लेखिन् होलिन् । साहित्यका प्रारम्भिक दिनमा केही कविताहरू लेखिन् होलिन् । अझ त्यसभन्दा अघि स्कुल या कलेज जीवनमा केही प्रेमपत्रहरू पनि लेखिन् होलिन् । तर, आख्यानमा देखिने उनको प्रतिबद्धता नै उनको लेखनको शक्ति हो । शान हो ।
सेराज अहमदभित्रका १८ वटै कथा सबल छन् । साझा प्रकाशनको सामान्य छपाइमा पनि किताब सुन्दर देखिएको छ । सुन्दर देखिनुमा तृष्णाको लेखनमा रहेको उत्कृष्टता नै प्रमुख कारण हो भन्ने हाम्रो ठम्याइ छ । सामान्य कागज र सामान्य साजसज्जा रहे तापनि सेराज अहमदले बजार पाउने कुरालाई नकार्न सकिँदैन ।
अर्को रमाइलो कुरा तृष्णा आफंै पत्रकार भएर पनि प्रचारप्रसारका लागि त्यति लोभी छैनन् । त्यसो त उनलाई के थाहा छ भने लेखक बाँच्ने पाठकको हृदयमा हो । छापाका ठूलाठूला अक्षर र काँचका रङ्गीन पर्दाहरूमा होइन । त्यही भएर उनी सामान्य लेखकसरह प्रचार-प्रसारको पछि दौडिनन् । पाठकसम्म पुग्नलाई धैर्यशील भएर नै लेखिरहिन् । हामीलाई थाहा छ, तृष्णा यो समय लेखिरहेका कथाकारहरूका माझमा आफ्नो पहिचानका साथ उभिएकी छिन् । उनको यो उभ्याइ उनकै कथाकारिताले दिएको हो ।