लिवियाका गद्दाफीसँग वलिउडकी कैटरिना !

लिवियाका गद्दाफीसँग वलिउडकी कैटरिना !


लिवियाका तानाशाह कर्नल गद्दाफी मारिएको साढे पाँच वर्षअघि नै हो । २० अक्टुवर २०११ मा आफ्नै जनताका हातबाट मारिएका गद्दाफीबारे अनेक किस्सा सुनिन्छन् । आफ्नो सुरक्षा गार्डका रूपमा सुन्दरी युवतीहरूको समूह बनाएका यी तानाशाह मोजमस्तीका लागि पनि उत्तिकै कहलिएका थिए । उनलाई मनपरेकी कुनै पनि महिला उनबाट उम्कन पाउँदैनथे भनिन्छ । आफ्ना विश्वासपात्रहरूलाई स्कुल–कलेजमा पठाएर उनी छानी–छानी सुन्दरी किशोरीहरू आफ्नासामु हाजिर गराउँथे । युवतीहरू पीडाले चिच्याउँदा गद्दाफी खुशीले अट्टहास गर्थे पनि भनिन्छ ।

यस्ता कामुक र खुङ्खार तानाशाहसँग वलिउडका सुन्दरी नायिकाहरूले समेत सँगै तस्बिर खिचाएका खुलासा भएको छ । लगभग १५ वर्षपहिले लिइएको उक्त तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ । भारतीय मोडल शमिता सिंघाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा ‘फेसन शो’को एक पुरानो तस्बिर शेयर गरेपछि उक्त फोटो भाइरल बन्न पुगेको हो । सो तस्बिरमा तानाशाह गद्दाफीसँग वलिउडकी विख्यात सुन्दरी नायिका कैटरिना कैफ, नेहा धुपिया, अदिती गोवारिकर, आँचल कुमार र शमिता सिंघा देखिएका छन् । तस्बिरसँगै शमिताले लेखेकीछिन् – ‘पन्ध्र वर्षअघि जब हामी एक फेसन शोको निम्ति लिविया गएका थियौँ, त्यसबेला हामीलाई गद्दाफी भेट्ने अवसर मिलेको थियो । केटीहरू ! के तिमीहरूलाई उक्त ट्रिपको सम्झना छ ?’