‘अटो लोन’ कर्जा अब ६५ प्रतिशतसम्म पाइने

‘अटो लोन’ कर्जा अब ६५ प्रतिशतसम्म पाइने


राष्ट्र बैंकले एकिकृत निर्देशन २०७४ जारी गरेसँगै अब निजी व्यक्तिगत सवारी सवारीको लागि कर्जा लिदा ग्राहकले बैंक तथा वित्तीय संस्थाबाट ६५ प्रतिशतसम्म कर्जा पाउने भएका छन् । तर, ५० प्रतिशतको सीमाले सवारीको बिक्रीमा प्रभाव परेको भन्दै व्यवसायीहरुले सीमा घटाउन माग गरेपछि राष्ट्र बैंकले यो सीमा बढाएर ६५ प्रतिशत पुर्याएको हो ।

बार्षिक रुपमा हुने नाडा अटो शो नजिकिदै गएपनि निर्देशन नआएको भन्दै अत्तालिएका व्यवसायीहरुलाई यसले राहत पुगेको छ । राष्ट्र बैंकले गत आवको मध्यबाट सवारी मूल्यको आधारमा कर्जा सीमा (लोन टु भ्यालु रेसियो) तोक्न थालेको थियो । सो व्यवस्था अघि सवारीको मूल्यको ७० प्रतिशतसम्म कर्जा दिइरहेका बैंकहरुलाई राष्ट्र बैंकले पहिलो पटक सीमामा ल्याएर यो कर्जामा कडाई गरेको थियो ।

व्यक्तिगत विद्युतीय सवारी साधानमा भने बैंकहरुले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाउने छन् । त्यस्तै, कम्तिमा ४० सिट भएका सार्वजनिक सवारी साधन, निर्माणमा प्रयोग हुने, पर्यटन, शिक्षा, स्वास्थ्य र ढुवानीमा प्रयोग हुने सवारीमा भने यो सीमा  नलाग्ने राष्ट्र बैंकका एक अधिकारीले बताए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको यो व्यवस्थालाई निर्देशन जारी गरेर मार्गप्रशस्त गरेको हो । मौद्रिक नीतिमा यो व्यवस्था आएपनि निर्देशन नपाएको भन्दै बैंकहरुले यसअघिको व्यवस्था अनुसार नै गाडीको मूल्यको ५० प्रतिशतसम्म कर्जा दिइरहेका थिए ।