माओवादी नेतासँगको सीर्टीइभीटीको गठबन्धन

माओवादी नेतासँगको सीर्टीइभीटीको गठबन्धन


सम्पादकज्यू,
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
-सीर्टीइभीटी)द्वारा सञ्चालित विभिन्न तहको परीक्षा सञ्चालनका सिलसिलामा अरू कलेजहरूलाई सम्बन्धित कलेजमा केन्द्र नदिए पनि नेसनल मल्टिपल कलेज सातदोबाटोलाई भने सेन्टर दिइयो । हामी यस अर्थले उक्त कलेजलाई होम सेन्टर दिइएको भनिरहेका छौँ कि केही महिनाअघि नेसनल मल्टिपल कलेजले आफ्नो जोड दुई अर्थात् मानविकी, व्यवस्थापन तथा विज्ञान सङ्कायका कक्षाहरू ज्ञानकुञ्ज स्कुल ताल्छिखेल ललितपुरमा सञ्चालन गर्ने भनेर उक्त स्कुल र सो मल्टिपल कलेजले संयुक्त रूपमा विभिन्न ठाउँमा ब्यानर तथा प्रचारका सामग्रीहरू वितरण गरेको थियो । सो कलेजको अघिल्तिरको रेलिङमा पनि पाँच मिटरभन्दा लामो ब्यानर परीक्षा सुरु हुनुभन्दा तीन दिनअघिसम्म राखिएको थियो । अहिले पनि सो कलेजको उल्लेखित सङ्कायको कक्षा सोही स्कुलमा भइरहेको छ । यसरी उच्चमाध्यमिक तहको कक्षा लिने स्थानमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को परीक्षाको केन्द्र हुनु होम सेन्टर हो कि होइन ? यसरी होम सेन्टर मात्र दिइएको नभई ललितपुर क्षेत्रका माओवादी नेता ठक्कर शर्मासँग मिलेर सो कलेजले सो सेन्टर राख्न सीर्टीइभीटीका हाकिमहरूलाई निकै राम्रो नजरानाको व्यवस्था गरेको चर्चा सुन्नमा आएको छ । यसरी एउटा कलेजलाई होम सेन्टर दिने र अरूलाई सौतेनी व्यवहार गर्ने सीर्टीइभीटीको प्रचलनले उक्त सरकारी संस्थाप्रति आममानिसले कत्तिको विश्वास गर्ने ? माओवादी नेतासँगको सीर्टीइभीटीको गठबन्धन किन ? फेरि नेसनल मल्टिपल कलेजका पवनमान नाम गरेका एक व्यक्ति सधैं ज्ञानकुञ्जमा आएर सो कलेजका विद्यार्थीलाई सिट प्लानदेखि अन्य कुराको पनि सुविधा दिने, सीर्टीइभीटीकै कर्मचारीले नै परीक्षालाई राम्रो गर्न खोज्दा विद्यार्थी उकासेर परीक्षाको मर्यादा घटाउन खोज्ने, अरू कलेजको विद्यार्थी भने सामान्य गल्तीमा पनि कारबाहीमा पर्ने तर नेसनल मल्टिपल कलेजका विद्यार्थी भने कारबाहीमा नपर्नुको कारण के हो ? के परीक्षा सञ्चालन गर्न कुनै शैक्षिक योग्यताको जरुरत पर्छ कि पर्दैन ? यदि पर्छ भने स्नातक पनि उत्तीर्ण नगरेका माओवादी भनेर चिनिएकै भरमा ठक्कर शर्मालाई केन्द्राध्यक्ष सीर्टीइभीटीले दिनुको अर्थ के हो ? पवनमानको सधैं ज्ञानकुञ्जको परीक्षामा उपस्थिति किन ? उनले उनको क्याम्पसको परीक्षार्थीलाई कडाइ नगर्ने तर अरूलाई गर्ने भनेर ठक्कर शर्मा तथा अरूसँग भन्दै हिँडेको विद्यार्थीबाट खासगरी हाम्रै छोराछोरीबाट गुनासो आएको हामीले सुनेका छौँ । परीक्षामा यस्तो सौतेने व्यवहार किन ?
– अभिभावक प्रतीकमान शाक्य -ग्वार्को), शोभा पराजुली -बालकुमारी) र हस्तबहादुर केसी -लगनखेल)

यस्ताले किन खोज्छन् नेतृत्वमा ठाउँ –
लोकप्रिय घटना र विचारको गत भदौ २३ गतेको अङ्कमा काङ्ग्रेस पार्टीको महाधिवेशन र नेतृत्वको चुनाव सम्बन्धमा विशेष प्राथमिकता दिएर समाचार प्रकाशित भएको पढ्न पाएँ । वास्तवमै पुरानो तथा प्रजातन्त्रका लागि धेरै नै बलिदान दिएको काङ्ग्रेसको इतिहास हेर्ने हो भने त्यस पार्टीको चुनाव र नेतृत्वमा पुग्न चाहने व्यक्तिहरूका सम्बन्धमा प्रसस्त समाचार लेखिनु जायज नै होला । तर, के आमनेपालीलाई त्यस पार्टीमा उम्मेदवार भएका कतिपय व्यक्तिबाट यो मुलुकको काँचुली फेर्ने कुरामा विश्वास होला ? यसतर्फ पनि तपाईंको पत्रिकाले खोजमूलक समाचार प्रकाशन गर्नुपर्ने सुझाव दिन चाहन्छु । पार्टीमा नेतृत्व र महत्त्वपूर्ण पदका दाबेदारहरूलाई एक-एक गरी नियाल्ने हो भने कसैको पनि चामत्कारिक व्यक्तित्व छैन । कोही बूढा, कोही रोगी, कोही विगतमा जिम्मेवारी वहन गर्न असफल, कोही भ्रष्टाचारमा नाम कमाएका, कोही उच्च पदमा पुगेर पनि नयाँ काम गरेर नेपाललाई समृद्ध बनाउनेतर्फ कुनै काम गर्न नसकेकाहरू मात्र अधिकांश नेतृत्वका आकाङ्क्षी देखिए । यदि यस्तै-यस्तैलाई फेरि छानेर जिम्मेवारी दिने हो भने काङ्ग्रेसको बर्ढाई-चर्ढाई समाचार लेख्नु बेकार हुन्छ । आगामी दिनमा घटना र विचारले यसतर्फ पनि विचार पुर्‍याउनुपर्ने देखिन्छ ।
एउटा सानो उदाहरण लिऊँ । कृष्णप्रसाद सिटौलाजस्ता व्यक्तिहरू पनि त्यो पार्टीको महामन्त्रीमा उठ्न दिलोज्यानले लागेका थिए । यसको मतलब के हुन्छ भने काङ्ग्रेस पार्टीमा जो पनि महामन्त्रीको उम्मेदवार हुन सक्छन् । गृहमन्त्री भएर रक्तचन्दन चोरीदेखि सुडानमा सामान पठाउने कामसम्ममा अर्बौं भ्रष्टाचार गरेका सिटौलाले कुन राम्रो योगदानका आधारमा त्यो पार्टीको त्यति महत्त्वपूर्ण पदमा उठ्ने आँट गरिरहेका थिए ? अनैतिक हिसाबले कमाएको अर्बां पैसाकै भरमा उनले त्यो पदमा उठ्ने आँट गरेका हुन् त ? यदि होइन भने नेपालमा माओवादी द्वन्द्व चर्काउनेदेखि लिएर देशकै सार्वभौमसत्ता खत्तम पार्न पछि नहट्ने इतिहास बोकेका सिटौलाजस्ता व्यक्तिमा महामन्त्रीजस्तो पदमा उठ्ने हिम्मत कसरी आयो !- आफ्नै चुनावस्थलमा हारेका असली रूपले चिन्नेजान्ने जोकोहीले पनि नाम सुन्नेबित्तिकै नाक खुम्च्याउने सिटौलाजस्ता व्यक्तिले काङ्ग्रेस पार्टीको महामन्त्री पदमा उठ्न खोज्नु भनेको मेरो विचारमा पार्टीकै लागि दुर्भाग्यपूर्ण घटना हो, धन्य त्यो टर्‍यो । अझै केन्द्रीय सदस्यमा त उनको दाबेदारी छँदै छ क्यारे !
हुन त चुनाव उठेर केन्द्रीय सदस्य जित्न कठिन हुन्छ भन्ने कुरा थाहा पाएर सिटौलाले यो धूर्त्याइँपूर्वक च्याँखे थापेका हुन् भन्ने कुरा सचेत काङ्ग्रेसजनलाई थाहा नै होला । यस्ता व्यक्तिले मञ्चन गरेका नाटकलाई नै उच्च महत्त्व लिएर समाचार छाप्नु पनि सायद गलत हुन सक्छ । हामीजस्ता नेपालीले काङ्ग्रेस पार्टीमा युवा, ऊर्जाशील र समाजमा योगदान दिएका व्यक्तिहरू यो चुनावमा अगाडि आउँछन् भन्ने आशा राखेका छौँ । आइन्दा समाचार पनि त्यस्तै व्यक्तिहरूलाई प्रोत्साहित गर्ने खालको होस् । सिटौलाजस्ताले त नेतृत्वमा पुगेर पनि के गर्छन् भन्ने त देखिसकिएकै छ नि !
– विनोद लुइँटेल -नेपाली काङ्ग्रेसको शुभचिन्तक प्रजातन्त्रवादी नेपाली), चाहबिल

यस्ता कर्मचारीले कस्तो सेवा देलान् –
सरकारी निकायहरूमा प्रवेश पाउनका लागि अनेक कसरत गर्नेहरूले यतिबेला यौनलाई समेत हतियार बनाउने गरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा हालै मात्र नियुक्ति लिएकी एक महिला सहनिर्देशकले त्यहाँका उच्च अधिकारीहरूलाई यौन प्रस्ताव राखेर आफ्नो प्रगतिको बाटो खोज्नुभएको भन्नेबारेमा टेलिकमका कर्मचारीबीच यतिबेला व्यापक चर्चा छ । समावेशीको कोटामा नियुक्त हुनुभएकी नेवार समुदायकी ती सहनिर्देशकले उच्चस्तरका कर्मचारीहरूलाई हरेक साँझ यौनप्रस्ताव राखेर हैरान तुल्याउने गरेको दाबी यौनप्रस्ताव पाउने उच्चकर्मचारीका एक कार्यालय सहयोगी -पियन)ले दाबी गरेका छन् । यसरी नयाँ नेपालमा यौन गतिविधिमार्फत पनि पदोन्नति खोज्ने परम्परा बस्नुलाई राम्रो भन्ने कि नराम्रो, पङ्क्तिकार अन्योलमा परेको छ । गत वर्ष पनि केही यस्ता घटनाहरू घटेका थिए भन्ने सुन्नमा आए पनि सामान्यतया यस्ता घटनालाई गुपचुप नै राख्ने गरिएको छ । यौनलाई माध्यम बनाएर जिम्मेवारी हत्याउने कर्मचारीले वास्तवमा राष्ट्रको कस्तो सेवा गर्छन् कुन्नि ?
-प्रनिस थपलिया, नेपालटार, काठमाडौं