चिनियाँ उपप्रधानमन्त्री काठमाडौंमा

चिनियाँ उपप्रधानमन्त्री काठमाडौंमा


करिव तीन दर्जन सदस्यसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको चारदिवसीय औपचारिक भ्रमणमा सोमबार अपरान्ह नेपाल आइपुग्नुभएको छ । चिनिया विशेष विमानबाट काठमाडौं आइपुग्नुभएका चीनको राज्य परिषदका उपप्रधानमन्त्रीको टोलीमा स्टेट काउन्सिलका डेपुटी सेक्रेटरी जनरल जियाङ जेलिन, भाइस मिनिस्टर अफ नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका वाङ सियोताओ, भाइस मिनिस्टर अफ मिनिस्ट्री अफ कमर्स यु जियानहुवा, असिस्टेन्ट मिनिस्टर अफ फरेन अफेयर्स कोङ सुन्याय लगायतका औपचारिक भ्रमण टोलीका सदस्यका अलावा सञ्चारकर्मी, सुरक्षाकर्मीसहित करिव तीन दर्जन सदस्य सहभागी छन्, जसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले स्वागत गर्नुभएको थियो ।

बताइएअनुसार वाङसँग दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहितका सदस्यहरु संलग्न छन् । मन्त्री देवका साथ नेपालका लागि चिनियाँ राजदूत यु होङ, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृत र चिनियाँ दूतावासका कर्मचारीहरुले चिनियाँ पाहुनालाई स्वागत गरेका थिए । उच्च सुरक्षाका साथ चिनिया पाहुनालाई विमानस्थलबाट सोझै होटल सोल्टी पुर्याइएको थियो ।

चीनका उपप्रधानमन्त्रीको औपचारिक कार्यक्रम आज मंगलबारबाट सुरु हुँदैछ । नेपाल सरकारका वरिष्ठ उपप्रधानमन्त्री विजय गच्छदारसँग आज मध्याह्न होटल सोल्टीमै चिनियाँ उपप्रधानमन्त्रीले औपचारिक द्विपक्षीय वार्ता गर्नुहुनेछ । चीनले नेपाललाई सहयोग उपलब्ध गराउनेसम्बन्धी तीन समझदारीपत्रमा हस्ताक्षर चाहिँ भोली बुधबार मात्रै हुने कार्यक्रम तय गरिएको छ । उपप्रधानमन्त्री गच्छदारले चिनियाँ उपप्रधानमन्त्रीको सम्मानमा दिवाभोज दिनुहुनेछ । यस्तै उपप्रधानमन्त्री वाङले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग होटल सोल्टीमै भेटघाट गर्नुहुनेछ भने बुधबार बिहान कीर्तिपुरस्थित नेसनल आयुर्वेदिक रिसर्च सेन्टरको भ्रमण, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।

उपप्रधानमन्त्रीको नेपाल भ्रमणमा चीनले नेपाललाई थप आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने बताइएको छ । नेपाली उच्चाधिकारीहरुका अनुसार पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौतामा हस्ताक्षर हुनेछ । चीनले सन् २०१५ देखि २०१८ सम्मका लागि तीन अर्ब चिनियाँ आरएमबी उपलब्ध गराएको भए पनि हालसम्म एक अर्ब मात्रै उपयोग भएको भए पनि पेट्रोलियम, ग्यास र खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी समझदारीपत्रमा यसपटक हस्ताक्षर हुनेछ । मूलतः नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार अपराह्न शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । बिहीबार बिहान वाङ बेइजिङ फर्किनुहुने कार्यक्रम छ ।