मुस्ताङदेखि काठमाडौंसम्म यसरी भयो ओलीको चर्चा

मुस्ताङदेखि काठमाडौंसम्म यसरी भयो ओलीको चर्चा


दुई साताअघि तिब्बत यात्रा गरी फर्किएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली मौसमको प्रतिकुलताका बाबजुद गत शनिबार विहान मुस्ताङ पुगे । जीवनसङ्गिनी राधिका शाक्यसहित एमाले केन्द्रीय सदस्य गणेश तिमिल्सेनालाई साथ लिएर मुस्ताङ पुगेका अध्यक्ष ओली हिजो सोमबार साँझ राजधानी फर्किसकेका छन् । तर, उनले यतिबेला किन मुस्ताङ यात्राको योजना बनाए भन्नेदेखि आफ्नो तीन दिनको बसाईमा ओलीले के गरे, के भने र कहाँ–कहाँ डुले भन्ने चासो भने कायम नै रहेको छ ।

सोमबार साँझ ७ बजे काठमाडौं ओर्लिएका केपी ओली मौसम प्रतिकुल भई हेलिकप्टर उड्न नसक्दा निर्धारित कार्यक्रमभन्दा दुई दिन बढी मुस्ताङ बस्नु परेको थियो । तर, यसरी जबर्जस्ती बस्नु परे पनि उनले उक्त समय भने खेर जान दिएनन् । मुस्ताङ बसाईका क्रममा कोरला, लोमान्थाङ, मुक्तिनाथ, जोमसोम, लेते, घाँसा र कोवाङको अवलोकन गर्न भ्याए उनले । यस क्रममा ओलीले कतिपय स्थानमा हिँडेरै र मोटरबाट तल्लो मुस्ताङको प्रत्यक्ष अवलोकन गरे ।

स्थानीय एमाले कार्यकर्ता भेटघाट गर्दै अध्यक्ष ओलीले राजपा नेपालले संविधान संसोधनका नाममा देशलाई अस्थिर र राजनीतिलाई पंगु बनाउन खोजेको आरोप लगाए । राजपालाई चुनावमा आएर लोकातान्त्रिक चरित्र देखाउन उनको आग्रह थियो ।‘लोकतन्त्रमा शर्तसहित नभई शर्तरहित तरिकाले चुनावमा जाने र जनताको मन जितेर राजनीति गर्नुपर्छ भन्दै ओलीले भने, ‘राजपा नेपाल शर्तरहित तरिकाले चुनावमा आउनुपर्छ, चुनाव जितेपछि आफ्नो मागलाइ पुरा गर्ने लक्ष्य लिनुपर्छ ।’ मधेशी जनताको चाहनाअनुसार राजनीति गर्ने हो भने भोट हाल्ने अधिकार राजपाले रोक्न नसक्ने उनको दाबी थियो । ‘कसैको जिद्दी र घमण्डले राजनीति चल्ने होइन, जनतालाई आफ्नो अधिकार प्रयोेग गर्न दिनु मात्र सही ढंगको राजनीति हो र यही लोकतन्त्र हो,’ ओलीले भने, २-४ जना नेताको लहडमा मधेशी जनतालाई आफ्नो अधिकारबाट वन्चित गर्न पाइँदैन ।’ एमाले जनताको एजेण्डा बोकेको पार्टी भन्दै उनले तीनवटै चुनावमा एमाले नै पहिलो हुने दाबी गर्न उनी मुस्ताङमा समेत चुकेनन् ।

त्यसैगरी, जोमसोममा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले हिमाल, पहाड र तराइका जनता जातजातिका नाममा फुट ल्याउनेहरूलाई पराजित गर्न एमालेमा आबद्ध हुने लहर नै चलेको जिकीर गरे । तराइदेखि हिमालसम्म एमाले प्रवेशको लहर चलेकोले फुट ल्याउनेलाई जनताले भोट नदिने उनले ठोकुवा गरे । ओली सहभागी कार्यक्रममा मुस्ताङका पुराना कांग्रेस नेतादेखि अन्य पार्टीका कार्यकर्तासमेत एमाले प्रवेश गरेका थिए । ०७० सालको चुनावमा काङ्ग्रेसबाट बागी उम्मेदवार बनेर रोमी गौचन थकालीसँग १२ भोटले हारेका काङ्ग्रेसका पुराना नेता प्रेम तुलाचनसमेतलाई ओलीले टीका लगाएर एमाले भित्र्याए । मुस्ताङ कांग्रेसका संस्थापक सभापति आनन्द शेरचन, नेताहरू महेन्द्र शेरचन, खगेन्द्र तुलाचन, मीनप्रसाद थकालीलगायत पात्रहरू ओली पुगेका बेला एमाले प्रवेश गरेको सन्दर्भ यतिबेला मुस्ताङमा चर्चाको विषय बनेको छ । यता राजधानीमा चाहिँ सोमबार नै नेपाल आइपुगेका चिनियाँ उपप्रधानमन्त्रीले ओलीलाई विशेष महत्व दिएर भेटघाट गर्ने चर्चा चल्न थालेको छ । कोराला पुगेर ‘यथासमयमा कोरला नाका खुल्ने दाबी ओलीले किन गरे होलान् ?’ भन्ने जिज्ञासामाथि चर्चा-परिचर्चा सुरु भएको छ ।