मृतकको संख्या एकान्नब्बे : गृहमन्त्रालय

मृतकको संख्या एकान्नब्बे : गृहमन्त्रालय


अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र दुई हजार ८४७ घर पूर्ण क्षति भएको उल्लेख गरिएको छ ।

देशका विभिन्न जिल्लामा भएका बाढीपहिरो र डुबानका घटनाबाट ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै जनजीवनसमेत प्रभावित हुन पुगेको भन्दै गृहको विज्ञप्तिमा तीन हजार ७ सय २७ पूर्वाधार संरचनाको क्षति भएको उल्लेख गरिएको छ ।

बाढीपहिरो र डुबानबाट पीडितहरुको खोज, उद्धार गरी राहत वितरण गर्ने कार्यलाई सरकारले तीव्रता दिएको र त्यस कार्यका लागि सुरक्षाकर्मीसमेत २६ हजार ७०० भन्दा बढी जनशक्ति प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको बताइएको छ । नेपाली सेनाका सात र निजी क्षेत्रका छ वटा हेलिकप्टरसहित मोटरबोट, रबरबोट लगायतका साधनहरु खोज, उद्धार र राहतमा प्रयोग भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले झापामा ७०० परिवारका लागि ८५१ त्रिपाल, ४७५ थान कम्बल, २६१ सेट भाँडाकुँडा र केही ड्राइफुड वितरण भएको छ भने सुनसरीमा ६४ क्वीन्टल चामल, १२० क्वीन्टल चिउरा, ६७ क्वीन्टल भूजा, ९१० किलो नुन, २१ हजार ४५० वटा चाउचाउ, ५० लि खानेतेल, ५० कार्टुन बिस्कुट, ६४० पोका दालमोठ र तीन क्वीन्टल दाल वितरण गरेको पनि मन्त्रालयले जनाएको छ । त्यसैगरी बाढीप्रभावित सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा पनि राहत सामग्री वितरण गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीलाई उल्लेख गर्दै राससले जनाएको छ ।