बाढीले विवाद चर्काएपछि राजदूतले दिए बेग्लै तर्क

बाढीले विवाद चर्काएपछि राजदूतले दिए बेग्लै तर्क


लगातारको वर्षाले मुलुक जलमग्न भएको बेला सोमबार राजधानीमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा दलका नेताहरुबीच बाढीको प्रकोप र छिमेकी भारतसँगको सम्बन्धलाई लिएर रोचक वादविवाद चल्यो । नेपालका लागि भारतका राजदूत मन्जीवसिंह पुरी समेत उपस्थित सो कार्यक्रममा एमाले नेता भीम रावल, कांग्रेस नेता डा. प्रकाशशरण महत, नेकपा माओवादी केन्द्रका टोपबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा, राजपाका नेता हृदयश त्रिपाठीलगायत सहभागी थिए ।

७० औँ भारतीय स्वतन्त्रता दिवसका अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले भारतले सीमावर्ती क्षेत्रमा बाँध बनाएका कारण प्रत्येक वर्ष तराईका धेरै जिल्ला डुबान हुने गरेको भन्दै नेपाल–भारतबीच उच्चस्तरमा छलफल गरेर समस्या समाधान गर्नुपर्ने तर्क गरे ।

उनले नेपालको करिब १ सय ५० नदी भारततर्फ भएर जाने गरेको र धेरै राजनीतिक विश्लेषकले समेत भारतले सीमावर्ती क्षेत्रमा बाँध बनाएका कारण डुबान हुने गरेको भनिरहेको हुँदा यसको समाधानका लागि दुई देशबीच उच्चस्तरमा छलफल गर्नुपर्ने तर्क गरेर उनले आफ्नो अभिव्यक्तिमा लचकतासहित थोरै कुटनीतिक जलप लगाउने प्रयास गरे । तराईमा डुबानका कारण धेरैको मृत्यु भएको र कैयौँ घरबारविहीन भएका हुँदा तत्काल उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै उनले मन्तव्य टुंग्याए ।

यसरी रावलले भारतले सीमावर्ती क्षेत्रमाा बाँध, ड्याम्म बनाएका कारण प्रत्येक वर्ष नेपालमा डुबान हुने गरेको किटेरै अभिव्यक्ति दिएपछि बोल्ने पालो थियो कांग्रेस नेता महतको । कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री डा. महतले तराईमा भएको डुबानप्रति दुवै देशले गम्भीर भएर सोच्नुपर्ने तर्क गर्दै आफ्नो भनाई अघि बढाए । अभिव्यक्तिका क्रममा उनले नेपाल–भारतको सम्बन्धको बारेमा सडकमा राजनीति गर्नुको कुनै अर्थ नहुने तर्क गरे । उनको भनाई नेता रावलको अभिव्यक्तिको जवाफमा आएजस्तो सुनिन्थ्यो ।

‘नेपाल र भारतबीचको सम्बन्ध नौले नभएको भन्दै उनले थपे, ‘परापूर्वकालदेखिको सम्बन्धमा कुनै पनि बाधा सिर्जना हुनुहुँदैन, निर्वाध रूपमा व्यापार, आवत जावत गर्न पाउनुपर्छ, भूपरिवेष्ठित मुलकले उपभोग गर्न पाउने अधिकारको सुनिश्चिता हुनुपर्छ, बाहिर सडकमा गएर भारतविरूद्ध नारा नगाएर समस्या समाधान हुँदैन, के गर्नुपर्ने हो टेबलमा बसेर गर्नुपर्छ । बाहिर भारतको विरोध गरेजस्तो गर्ने भित्र गएर सम्झौता गर्ने राजनीतिक दलका नेताहरूको प्रवृत्ति अन्त्य हुनुपर्छ ।’

यसैगरी, नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले नेपाल–भारतको सम्बन्धलाई बलियो बनाउनका लागि दुई देशका सन्धि सम्झौताको पुनरावलोकन गर्नु जरुरी भएको उल्लेख गर्दै तराईको डुबान समस्या दीर्घकालीन रुपमा समाधान खोज्नुपर्ने बताए भने हृदयेश त्रिपाठी र पशुपति शम्शेर राणाले नेपाल भारतबीच ऐतिहासिक सम्बन्ध रहेको र दुई देशबीचमा देखिएको समस्यालाई छलफलबाट निष्कर्ष निकाल्नुपर्ने जस्ता सामान्य अभिव्यक्ति राखेर पन्छिए ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले चाहिँ दुई देशका समस्याका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेलामा पनि उच्चस्तरमा छलफल हुने विश्वास व्यक्त गर्दै नेपालको विकासका लागि भारत सक्दो सहयोग गर्न तयार रहेको बताए । नेपाल र भारतको सम्बन्ध कसैले बनाएको नभई भगवानको चाहनाबाट बनेको उनको भनाई थियो ।