बाढीपीडितलाई काङ्ग्रेसको ‘एक पदाधिकारी एक हजार’

बाढीपीडितलाई काङ्ग्रेसको ‘एक पदाधिकारी एक हजार’


अविरल बर्षका कारण मुलुकका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानका कारण मानवीय एवम् भौतिक नोक्सानी ब्यहोर्न विवश बनी कठिन अवस्थामा परेकालाई नेपाली काङ्ग्रेस रुपन्देहीले सहयोग गर्ने भएको छ । यसका लागि रुपन्देहीका काङ्ग्रेस जिल्ला पदाधिकारीलगायत क्रियाशील सदस्यहरूबाट रकम उठाई प्रभावित जिल्लामा राहत वितरण गर्ने भएको छ ।

नेपाली काङ्ग्रेस रुपन्देहीका सभापति एवम् संसद अब्दुल रज्जाकको सभापतित्वमा सोमबार भैरहवामा बसेको जिल्ला कार्यसमितिको बैठकले राहतका लागि जिल्लामा रहेका महाधिवेशन प्रतिनीधि, महासमिति सदस्य, जिल्ला कार्यसमिति, क्षेत्रीय पदाधिकारी, नगर पदाधिकारीबाट अनिवार्य रूपमा न्युनतम एक हजार र सबै क्रियाशील सदस्यबाट न्युनतम सय रुपैयाँ उठाउने निर्णय गरेको सचिव रामकृष्ण खाणले जानकारी दिए ।

उक्त निर्णयबारे काङ्ग्रेसले क्षेत्रीय समितिलाई पत्राचार गर्दै तत्काल आफ्नो क्षेत्रमा रहेका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि, क्षेत्रीय पदाधिकारी, नगर–पदाधिकारी र क्रियाशीलबाट यथासक्य छिटो रकम उठाउन निर्देशन समेत दिएको छ ।

एक नेपालीलाई परेको समस्या अर्को नेपालीको पनि भएको र विपतका बेला सबैले हातेमालो गरे मात्र पीडितले छिटो र बढी राहत पाउन सक्ने भएकाले पार्टीले आफ्ना सदस्यहरूबाट रकम उठाउने निर्णय गरेको सचिव खाणले बताए ।

बताइएअनुसार न्युनतम अनिवार्य हो भने सो भन्दा माथि आफ्नो इच्छा र क्षमताअनुसार रकम दिन सकिने छ । यस्तै बाढी–पहिरो र डुवानका कारण जिल्लामा भएको मानवीय एवम् भौतिक क्षतिको विवरण संकलन क्षेत्रीय सभापति सदस्य रहने गरी सचिव खाणको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । उक्त समितिले बाढीप्रभावित क्षेत्रको अनुगमन गरी राहत वितरणमा सहयोग गर्ने छ । डा. केसीको समर्थन यसैबीच नेपाली काङ्ग्रेस रुपन्देहीले गुणस्तरीय स्वास्थ्य, शिक्षा, सबै नेपालीको पहुँचमा स्वास्थ्य सेवाका माग राख्दै डा. गोविन्द केसीले गरिरहेको आमरण अनसनको समर्थन गर्दै माग पूरा गर्न सरकासँग माग गरेको छ ।

– चन्द्रकान्त खनाल