एमालेले सुरु गऱ्यो प्रदेश र केन्द्रको चुनाव जित्ने अभियान

एमालेले सुरु गऱ्यो प्रदेश र केन्द्रको चुनाव जित्ने अभियान


प्रदेशसभा र संघीय संसद्को भावी निर्वाचनलाई लक्ष्य गरी नेकपा (एमाले), काठमाडौं जिल्ला कमिटीले संगठन सुदृढीकरण तथा जन परिचालन अभियान शुरु गरेको छ । आगामी असोज ७ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत कार्यकर्ता र जनस्तरमा केन्द्रीय तहका नेता तथा जनसंगठनका कार्यकर्ता पुगेर विविध कार्यक्रम गरिने एमालेले जनाएको छ ।

अभियानको आरम्भ गर्दै एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई भीडमा आधारित होइन सुदृढ संगठनसहितको शक्तिमा रुपान्तरण गर्न आवश्यक रहेकामा जोड दिए । विचारमा स्पष्टता र एकरुपता नभए संगठन सृदृढ नबन्ने उनको कथन थियो ।

पार्टीभित्र कुनै विषयमा चित्त नबुझेमा विधिपूर्वक कुरा राख्न र फाँटिएको विचार बोकेर नहिँड्न आग्रह गर्दै महासचिव पोखरेलले संगठनात्मक अराजकताको सिलसिला चलेमा दुर्भाग्यपूर्ण हुने बताए । जिल्ला कमिटीको आन्तरिक विवाद आपसी हमतिमा मिलाउन समेत उनले निर्देशन दिए ।

जिल्ला अध्यक्ष कृष्ण राईका अनुसार स्थानीय तहको निर्वाचनमा जिल्लामा महानगरपालिका प्रमुखसहित करिब ६५ प्रतिशत स्थानमा विजयी हासिल गरेपछि देखिएको उत्साहलाई मनोबलमा परिणत गर्न अभियान शुरु गरिएको हो । पार्टी कमिटीमा रहेका आन्तरिक तिक्ततालाई समाधान गर्दै निर्वाचनमा पार्टीलाई हराउन लाग्नेलाई केन्द्रको निर्देशनअनुसार कारबाही र शुद्धीकरण गरिने समेत राइले बताए ।

कार्यक्रममा एमाले प्रदेश नं ३ का सहसंयोजक काशीनाथ अधिकारीले विजय हासिलसँगै पार्टीका लागि चुनौती खडा भएकाले त्यसलाई सामना गर्न अभियान सार्थक हुने अपेक्षा व्यक्त गरे भने पार्टीका पोलिटब्यूरो सदस्य तथा उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठले सत्ता पक्षका पार्टी मिलेर लड्दा पनि स्थानीय निर्वाचनमा एमाले पहिलो पार्टी बनेकाले राष्ट्रियता र समृद्धिसम्बन्धी पार्टीको नीति सही सावित भएको दाबी गरे ।

पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौँ इञ्चार्ज सावित्रा भुषाल, एमाले प्रदेश नं ३ का सदस्य योगेन्द्र संग्रौला, जिल्ला कमिटीका सचिव एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले पनि आफ्ना धारणा राखेका थिए ।