लमजुङ जिल्ला अस्पतालको लापर्वाही

लमजुङ जिल्ला अस्पतालको लापर्वाही


– छविलाल बगाले

जिल्ला सामूदायिक अस्पतालमा रेफ्रिजेरेटर मर्मत नहुँदा समस्या उत्पन्न भएको छ । अस्पतालको रक्तसञ्चार केन्द्रमा रहेको रेफ्रिजेरेटर करिव दुई महिना अघिदेखि बिग्रिँदा सम्बन्धित सेवाग्राही मारमा परेका छन् ।

अस्पतालले रक्तसञ्चार जस्तो संवेदनशील विषयमा हेलचक्र्याइँ गरेको छ । २ महिनादेखि बिग्रिएर बसेको रेफ्रिजेरेटर मर्मत गर्ने कि नयाँ खरिद गर्ने भन्ने अस्पताल प्रशासनको दोधारले बिरामी मारमा परेका हुन् ।

रेफ्रिजेरेटर नभएपछि रगत सङ्कलनको कार्य हुन नसकेको अस्पतालले जनाएको छ । सङ्कलन गरेर २४ घण्टा पनि राख्न नमिल्ने भएपछि रगत सङ्कलन नभएको अस्पतालका प्रशासकीय अधिकृत युवराज देवकोटाले बताए । ‘अत्यावश्यक समयमा रगत चाहिएमा अस्पतालले तत्काल रक्तदाता खोज्दै काम चलाउँदै आएको छ’, उनले भने ।

अस्पतालको लापर्वाहीका कारण रक्तसञ्चार केन्द्रको रेफ्रजेरेटर समयमा नबनेको हो । अस्पतालमा समयमा रगत नपाउने टुङ्गो भएपछि बिरामीहरु जिल्लाबाहिर जान बाध्य भएका छन् ।