बाढीका कारण प्रधिकरणलाई दुई अर्ब बढिको क्षति

बाढीका कारण प्रधिकरणलाई दुई अर्ब बढिको क्षति


केही दिनदेखिको अविरल वर्षाका कारण देशले ठूलो क्षति ब्यहोरेको छ । यस प्राकृतिक विपत्तिका कारण नेपाल विद्युत् प्राधिकरणले मात्रै दुई अर्बको हाराहारीमा क्षति ब्यहोर्नुपरेको बताइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा एक दर्जनभन्दा बढी सबस्टेसन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको जानकारी दिइयो । प्रारम्भिक अनुमानका आधारमा भन्नुपर्दा दुई अर्बजतिको क्षति भए पनि यसको मात्रा अझै बढ्न सक्ने उनले जानकारी दिए ।

यतिबेला अविरल वर्षाका कारण पूर्वी तथा मध्य तराईको सम्पूर्ण विद्युत् सेवा कटौती हुन पुगेको छ भने भरतपुर सबस्टेसनअन्तर्गतको सेवासमेत कटौतीमा परेको छ । यसलाई प्राधिकरणले दुर्घटना कम होस् भन्नेतर्फ विशेष सावधानी अपनाएर विद्युत् लाइन कटौती गरिएको तर्क दिएको छ ।

प्राधिकरणका अनुसार यही साउन २७ गते बिहानदेखि बाढी तथा पानी जम्दा दुहवी सबस्टेसन, दमक सबस्टेसन, अनारमनी सबस्टेसन पूर्ण रुपमा डुबेर बन्द भएको छ । यस्तै, दमक गोदाक खण्डको १३२ केभी प्रसारण लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं १७ बाढीको कारण ढलेको छ । हेटौँडा सबस्टेसनअन्तर्गतको हेटौँडा सिमेन्टनजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले उक्त औद्योगिक फिडर पूर्ण रुपमा बन्द रहेको छ भने चन्द्रनिगाहापुर पथलैया १३२ केभी, ढल्केबर चपुर १३२ केभी, बालाजु त्रिशूली र रक्सौल परवानीपुर १३२ केभीको भुलहीमा बाढीले दुईवटा टावरको फेदमा समस्या पैदा गरेको छ । यस्तै, लहान सबस्टेसनअन्तर्गत रुपनी र स्थानीय फिडरबाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द रहेको छ ।

पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले मुलुकका अधिकांश आयोजना ट्रिपिङमा रहेको उल्लेख गर्दै कालीगण्डकी ‘ए’ १४४ मेगावाट क्षमतामा नै चलाउन नसकिएको बताए । उनका अनुसार अझ दुःखको कुरा त भारतबाट आयात हुने विद्युत् लगभग पूर्ण अवस्थामा बन्द हुन पुगेको छ । १४५ मेगावाट विद्युत् आयात हुने गरेको ढल्केबर– मुजफरपुरबाट हाल सात मेगावाटदेखि ३३ मेगावाट मात्रै विद्युत् आयात भइरहेको छ । यस्तै, विहार र टनकपुरबाट हुने आयात हुने विद्युत समेत बन्द भएको छ । ढल्केबरबाट आयात हुने विद्युत् लिए पनि नलिए पनि प्राधिकरणले महसुल भने तिर्नुपर्नेछ । एक दिन विद्युत् आयात रोकिँदा एक करोड २० लाखभन्दा बढी प्राधिकरणलाई घाटा हुन्छ ।