दोक्लामको ज्वरो : नेपाल कसरी जोगिने

दोक्लामको ज्वरो : नेपाल कसरी जोगिने


दोक्लाम घटनामा भारतको कुनै चासो नरहेको तर्कसहित तत्काल भुटानबाट भारतीय सेना फिर्ता लान भारतलाई दिइएको चिनियाँ चेतावनीले सन् १९६२ को भारत–चीन युद्धपछि सबैभन्दा बढी तातेको छ भारतीय मिडियामा भारत–चीन विवाद । संसारको ध्यान खिच्न सफल भारत–चीनको विवादको स्थल दोक्लाम बनेको छ, जसका कारण भुटानमाथि विश्व समुदायको ध्यान उत्तिकै खिचिएको छ । सन् १९४८ देखि भारतीय छत्रछाँयामा बाँच्दै हुर्किएको मुलुक भुटान आफ्नो इच्छा कम भारतीय रणनीतिको चेपुवामा पर्दै गर्दा चिनियाँ सरकारको महत्वकांक्षी आयोजना सडक विस्तारको बाधक बन्न पुग्नु नै भारत र चीनको ज्वरो निकाल्ने कारण बन्न सफल भएको छ । विगत केही सातायता भुटान, सिक्किम र चीनको संगम बिन्दु दोक्लाम विश्वको ध्यान खिच्न सफल हुँदा यसको समाधान युद्धबाट हुन्छ कि कुटनीतिबाट भन्दै कुर्ने जमात ह्वात्तै बढेको पाइन्छ । दोक्लाम विवादले जन्माएको पहेलीभित्र लुकेको असली मकसद के हुन सक्ला ? यस्ता सवालले जन्म लिइरहेको अवस्थामा बढीरहेको तनावले दक्षिण एसियाको भविष्य बुझ्न र जान्न केही समय कुर्नुको विकल्प हाम्रोसामु उपलब्ध छैन ।

कहाँ छ दोक्लाम ?
भारतको २२ औं राज्य सिक्किम, भुटान र चीनको सीमाना हो दोक्लाम । भुटानमा दोक्ला भनिने चीनमा दोक्लाम नामले पुकारिने सिक्किमसँग १५ किलोमिटर क्षेत्रफलको त्रिदेशीय जक्सन एक विवादित भूमि वर्तमान समयमा ठुलो राजनैतिक महत्व बोकेर बसेको छ । चुम्बी भ्याली छिर्न महत्वपुर्ण मार्गहरू नाथुला र जेलेपलाले चीन र भारतीय राज्य सिक्किमसँग सामरिक नाता गाँसेर १६ मे १९७५ सम्म बसेको थियो । सन १९७५ पछि सिक्किमको भारत विलयपश्चात सिलगुडी प्रवेशको निम्ति ‘चिकेन नेक’ छिचोल्दै भारतका दक्षिणी राज्यसँग जोडिने चीनको चाहनामा केवल २०० किलोमिटर बाटो छिचोल्न एग्ंलो चीन कन्भेन्सन १८९० अनुसार चीनको पिपुल्स लिब्रेसन आर्मी बाटो निर्माण गर्दै विवादित भूमि दोक्लाम पुग्नु नै वर्तमानको विवादको कारण मान्छ भारत र भुटान । तिब्बत राजनीतिको छाँयामा सन् २००३ पछि हटाइएको सिक्किमको नक्सा फेरि एकपटक ब्युँताउँदै दोक्लामको बाटो भारतको दक्षिण छिर्ने राष्ट्रपति सीको महत्वकांक्षाले फेरि एकपटक चर्चित बन्दैछ, दोक्लाम ।

विवादको जन्म :
चिनिया राष्ट्रपती ‘सि’को महत्वकाङ्क्षी योजना ओबिओआर (वान बेल्ट वान रोड) अन्तर्गत १६ जुन २०१७ मा पिपुल्स लिब्रेसन आर्मी अफ चाइनाका जवानहरू सडक निर्माण गर्दै विवादित भूमि दोक्लाम पुग्दा रोयल भुटान आर्मीको पेट्रोलिङसँग जम्काभेट हुँदा विवादले जन्म लिन पुग्यो । फलस्वरुप २० जुन २०१७ मा अफिसियली भुटान सरकारले चिनियाँ सरकारको सडक निर्माणको विरुद्ध दिल्लीस्थित चिनियाँ दुतावासमा आफ्नो विरोध दर्ता गरायो । ततपश्चात भारतीय सरकारले भुटानसँग गरेको सन्धीको हवाला दिँदै भुटानको सुरक्षा गर्ने वहानामा भारतीय सेनाको एक टुकडी दोक्लाम पठायो । भारतीय सत्ताको सो कार्यबाट तिल्मिलाएको चिनियाँ सत्ताको गतीविधिबाट भारत–चीनबीच कुटनीतिक सम्बन्धमा चिसोपना र सैन्य तनाव एकसाथ बढ्दैछ । दोक्लामलाई परीलक्षित गर्दै चिनियाँ सेनाले ठुलो समुह भारी हातहतियार र गोलाबारुदसहित तिब्बततर्फ अघिबढेको चिनियाँ जनसेनाको मुखपत्रले जनाएको छ । सोही क्षेत्रलाई मध्यनजर राख्दै सैन्य अभ्यास गरिएको समाचार दिन–प्रतिदिन बाहिर आइरहेको वर्तमान समयमा भारतीय आर्मी चिफ विपीन रावतको दोक्लाम भ्रमणपछि विपीन रावत, विदेश सचिव एस. जयशकर र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलबीच भएको विशेष मिटिङपछि दोक्लामको ज्वरो अकस्मात बढेको आभाष मिल्दैछ ।

अमेरिकी ट्रम्प प्रशासनको एसिया रणनीतिको उक्साहटमा फस्दै वर्तमान भारतलाई सन १९६२ को भारतको रूपमा नहेर्न चीनलाई धम्की दिने तागत आयातित मान्दैछ चीन । ट्रम्प प्रशासनको कुटनैतिक दाउपेचलाई विश्वास मान्दै कथम् कदाचित युद्धको निम्ति तयार हुने भारतीय राजनीतिलाई कच्चा खेल मान्ने भारतीय विद्वानहरू वर्तमान विवादलाई मोदी सत्ताको असफलतासँग हेर्दैछन् । अमेरिकाको सहयोग पाइने आशामा भुटानभित्र छिर्ने खेल भविष्यमा नयाँ समस्या लिएर आउने संकेतप्रति जानाकार भारतीय पूर्वप्रशासकहरू ट्रम्प कुटनीतिलाई मोदी प्रशासनले राम्रोसँग बुझ्न नसक्दा दोक्लाम ज्वरोको चपेटामा फस्दैछ, भारत ।

भारतमा फ्रि तिब्बतसम्बन्धी गतिविधिले चिढिएको चीन सुरक्षा परिषदमा भारतलाई रोक्न आफ्नो शक्ति पटक–पटक प्रयोगगर्न पछि परेन । अझ ब्यापारको नाममा पाकिस्तान, बाङ्ग्लादेश, श्रीलंका, माल्दिभ्समा चीनले आर्थिक सहायता बढाउँदै गएको कारण अमेरिकाको सहयोगमा चीनलाई तह लगाउने खेलको ट्रेलर दोक्लाममार्फत पोखिएको हो भन्दा असहमत हुनुपर्ने देखिँदैन ।

राष्ट्रपति ‘सी’को आक्रामक ब्यापार र विदेश नीति :
चिनिया राजनीतिमा ‘सी’को उदयसंगै चीनले विश्व ब्यापारमा नयाँ ढंगले आफ्नो आक्रामक उपस्थिति जनाउने उदघोष ओबिआर मार्फत गरेको सम्झिँदा वर्तमान चीनको गतीविधि बुझ्न सजिलो हुन्छ भन्ने पङ्क्तिकारको धारणा रही आएको छ । आफ्नो महत्वकांक्षी योजनालाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने योजना मुताविक सुरु गरिएको सडक सञ्जालमा आइलागेको बाधालाई चीन विरुद्ध चालिएको कदम मान्ने सी प्रशासन आक्रामक कुटनीति पनि एकैसाथ अगाडि बढाउँदै गरेको प्रशस्त भेटिन्छन् । सोही सिलसिलामा देखापरेको दोक्लामको विवादलाई अमेरिकी एक्सपर्ट चीनको चाल देख्न पुग्दछ । अमेरिकी बिदेश बिभागमा कार्यरत पूर्ववरिष्ठ अधिकारी अलेसा एर्जको भनाई मान्ने हो भने चीन दोक्लाम घटनामा भारतलाई युद्धको निम्ति उक्साइरहेको छ ।

ब्यापारको बहानामा तिब्बत हुँदै दोक्लामको बाटो सिक्किमबाट चिकेन नेक सिलगुडी छिचोल्दै बाङ्लादेशसंग जोडिएको भारतको पश्चिमबङ्गाल, मिजोरम, मेघालय, त्रीपुरा र आसामसम्म सहज पहुँच निर्माण गर्न चाहन्छ । ततपश्चात चीनसँग जोडिएको जम्मु काश्मिर, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, सिक्किम, अरुणाचल प्रदेशसंग ब्यापारिक र सुरक्षागत सम्बन्ध विकाश गर्दै भारतीय राजनीतिबाट सुरक्षित रहने चिनियाँ चाहनालाई भारतले ओबिओआरमा हस्ताक्षर नगरी असहयोग गरिरहेको छ । अझ दोक्लामको सवालमा त भुटानलाई समेत साथ लिँदै ओबिओआरको विरुद्ध खडा भएको छ ।

भारतको व्यवहारबाट रिसाएको सी प्रशासन भारतलाई युद्धको धम्की दिनुको असली कारण अलेसा एर्जको नजरमा दक्षिण चीन सागरमा आफ्नो एक्लो उपस्थितिको निम्ति हो भन्ने देख्दछ । ताइवान, फिलिपिन्स, ब्रुनाई, मलेसिया र भियतनामको दाबीलाई पन्छाउँदै चीन दक्षिण सागरको एकलौटी उपयोग गर्ने रणनीतिअन्तर्गत भारत र अमेरिकासँग नयाँ ढङ्गले डिल गर्ने खेलसँग दोक्लामलाई हेर्दैछन् । सन् २००२ मा चिनियाँ राष्ट्रपति जियाङ जमिन र भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीबीच भएको सम्झौताले तिब्बत र सिक्किमको स्वतन्त्र अस्तित्व आफ्नो स्वार्थको खातिर एकअर्काले बिर्सिएको घटनालाई दोक्लाम काण्डपछि चीन सरकारले फेरि सिक्किमलाई स्वतन्त्र राष्ट्र देख्न सक्ने कुरा सञ्चार माध्यममार्फत चुहाउनुले सी प्रशासन ओबिओआरमा भारतको समर्थन लिन सिक्किम कार्ड खेल्दैछ भन्ने संकेत मिल्दैछ ।

भारतमा फ्रि तिब्बतसम्बन्धी गतिविधिले चिढिएको चीन सुरक्षा परिषदमा भारतलाई रोक्न आफ्नो शक्ति पटक–पटक प्रयोगगर्न पछि परेन । अझ ब्यापारको नाममा पाकिस्तान, बाङ्ग्लादेश, श्रीलंका, माल्दिभ्समा चीनले आर्थिक सहायता बढाउँदै गएको कारण अमेरिकाको सहयोगमा चीनलाई तह लगाउने खेलको ट्रेलर दोक्लाममार्फत पोखिएको हो भन्दा असहमत हुनुपर्ने देखीदैन । दोक्लाम समस्या सिमाविवाद भन्दा फरक बिषय हो भन्ने चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङको भनाईलाई भित्री रुपले बुझ्ने हो भने दोक्लामले दिन चाहेको सन्देष भारतको निम्ती धेरै कडा हुनसक्ने छ । भुटानको सिमा भित्र भारतीय सेनाको उपस्थितिलाई लिएर कडा टिप्पणीमा उत्रिएको चिनिया कुटनीतिले तेश्रो पक्षको आग्रह वा अनुरोधको आधारमा बाहिरी देशको सेनाको उपस्थिति काश्मिर वा अन्य भू–भागमा हुन गएमा भारतको निम्ति ठुलो टाउकोदुखाई हुने निश्चित छ । भारतीय सेनाको भुटान बसाईलाई चीनले भुटानको सार्बभौम सत्ता जोगाइदिने सम्मको घोषणाले भबिश्यमा दिल्ली नराम्रो बार्गेनिङको सिकारमा पर्न सक्ने बिश्लेषकहरूको धारणा वजनदार छन् भन्न सकिन्छ ।

सन १९६२ को भूत जाग्दैछ :
सन १९५९ को तिब्बत विद्रोहबाट भागेका तिब्बती धार्मिक नेता दलाई लामालाई भारतले शरण दिएको बदलास्वरुप म्याकमोहन नक्सालाई अस्वीकार गर्दै चाउएन लाइद्वारा लादिएको चीनयुद्ध भारतीय राजनीतिमा नमिठो याद लिएर बसिरहेको कारण हालको विवादले उनीहरू फेरि एकपटक त्रसित बन्न बाध्य भएका छन् । दलाई लामाको भारत पलायनपछि म्याकमोहन रेखालाई अस्वीकार गर्दै आफ्नै मातहत तयार गरिएको नक्सा अनुसार तिब्बत स्वायत्त क्षेत्रको भू(भागको दाबी तात्कालीन चिनियाँ प्रधानमन्त्री चाउएनलाई मार्फत गरियो । जसअनुसार भारतको अरुणाचल प्रदेशलाई चीनले दक्षिण तिब्बत मान्दै आफ्नो जमिन बतायो । पुर्वी भुटान र बर्मा (हालको म्यान्मार )को बीचमा पर्ने भारतको अरुणाचल राज्यको सीमानामा सन् १९६२ मा भारतले म्याकमोहन रेखालाई आधार मान्दै सीमा चौकी स्थापना गर्ने कार्य नै भारत–चीन युद्धको कारण थियो । २० अक्टोबर १९६२ मा चीनबाट गरिएको भिषण आक्रमण पछी सो विवादित क्षेत्रको केही भाग भारतले सदा सदाको निम्ती गुमाउन बाध्य भयो । अप्रत्यासित रुपमा चीनसंग पराजीत हुनपुग्दा तात्कालिन भारतीय प्रधानमन्त्री जबाहरलाल नेहरूको कटु आलोचना हुन पुग्यो भने रक्षामन्त्री कृष्ण मेननले आफ्नो पद नै गुमाउन बाध्य भए । जसको कारण भबिष्यमा आइपर्ने युद्धलाई परिलक्षित गर्दै भारतीय सेनामा ब्यापक परिवर्तन गर्दै सिमा सुरक्षाको नयाँ रणनीति लिन भारत बाध्य भयो । चिसो मौसममा बेहोरेको अकल्पनिय युद्धको घाउ बल्झिदै गरेको बर्तमान भारत चीन द्वन्दले सन ६२ को भूत फेरी बेहोर्न बाध्य पारिने भय फैलिँदैछ ।

दोक्लाम ज्वरो कसरी सर्दैछ नेपाल ?
भनिन्छ, ज्वरो आफैमा रोग हैन तर रोगको लक्षण भने अवश्य हो । चीन भारतबीच सिर्जना गरिएको दोक्लामको ज्वरो सरुवा रोग जस्तै मान्नेहरू दिन–प्रतिदिन बढ्दैछन्, नेपालमा । नेपाल दुई ठुला देश भारत र चीनबीच सामरिक महत्व राख्दै विराजमान छ भन्ने कसैबाट छिपेको छैन । राजनैतिक रुपमा भारतवेष्टित मुलुक नेपाल भारतबाट तीनतिर घेरिएको र एकतिर चीनसँग सीमा जोडिएको भू– राजनीति दिल्ली र बेइजिङको तनाबमा नचाहाँदा नचाहाँदै घसेटिने कारण नेपाल भारतसँगको खुला सिमाना संगै गोर्खा रेजिमेण्ट हुनेछ भन्ने दह्रो आधार छन् ।

भारतीय सेनामा संलग्न गोर्खा सैनिकको प्रयोग सम्भावित भारत–चीन युद्धमा प्रयोग हुन गएमा नेपाली सेनाको भौतिक क्षति हुन जानेछ । जसको कारण नेपाली सेनाको परिवारमाथि कालो बादल मडारिने छ । भौतिक क्षतिपछि विभाजित नेपाली मन जान अन्जानमै भारत–चीनको पक्ष–विपक्षमा लाग्दा नेपालले आफ्नो भूगोल समेत गुमाउने कारण बन्न सक्नेछ । अर्कोतर्फ हेर्दा भारत र चीनसँग ब्यापारमार्फत जोडिएको ठुलो हिस्सा ठुलो आर्थिक नोक्सानी बेहोर्न बाध्य हुनजाँदा नेपाली अर्थतन्त्र नै कोल्याप्स हुने खतरा पैदा हुन जानेछ । आयात निर्यातमा हुनजाने असन्तुलनको मारले सम्पुर्ण जनता अकल्पनीय भूमरीमा फस्न पुग्ने आँकलन गर्न सकिन्छ । त्यसैले नेपाल जस्तो देशले आफ्नो आकार, प्रकार भू–बनोट, भू–अवस्थिति, भू–राजनीति र हैसियतलाई सही ढंगले पहिचान गर्दै ठुला मुलुकको आन्तरिक स्वार्थबाट जोगिनु नै उत्तम मार्ग हुनेछ भन्न सकिन्छ ।