कोही पराजित हुँदैनन् ः वरिष्ठ नेता शेरबहादुर देउवा

कोही पराजित हुँदैनन् ः वरिष्ठ नेता शेरबहादुर देउवा


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको बाह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नुभएको छ । सुदूरपश्चिमको डडेलधुरामा जन्मेका देउवाले प्रजातान्त्रिक आन्दोलनमा थुप्रैपटक जेलनेल भोग्नुभयो । नेपाली राजनीतिमा छोटो अवधिमै धेरै सफलता पाएका देउवा तीनपटक मुलुकको प्रधानमन्त्री बन्नुभयो । छलकपट नजान्ने, सोझा र स्पष्टवादी, कसैको पनि धेरै आलोचना गर्न नरुचाउने नेता देउवाको कार्यवाहक सभापति सुशील कोइरालासँग कडा प्रतिस्पर्धा हुने देखिन्छ । उहाँसँग घटना र विचारका लागि ऋषि धमलाले गर्नुभएको कुराकानी ः
० तपाईंले चुनाव जित्ने आधारहरू के-के होलान् –
– मैले चुनाव जित्ने धेरै आधार छन् । काङ्ग्रेसको बाह्रौँ महाधिवेशनमा पार्टीलाई समावेशी बनाउने सूत्रधार मै हुँ । मैले नै काङ्ग्रेसलाई समावेशी पार्टीका रूपमा अघि बढाएको हुँ । यो पार्टीमा सबैको सुरक्षा दिन पनि सक्छु र सबैलाई समेटेर लैजान सक्ने पनि मै हुँ । म काङ्ग्रेसलाई जनजाति, महिला, दलित, आदिवासी, मधेसी, अल्पसङ्ख्यक, किसान, अपाङ्गलगायत समाजका सबै तह र तप्काका सम्पूर्ण नेपालीको साझा पार्टी बनाउन चाहन्छु । त्यसैले म चुनाव जित्ने कुरामा पूर्ण विश्वस्त छु ।
० तपाईंलाई महाधिवेशन प्रतिनिधिले किन मत दिने –
ं- पहिलो त म नेपाली काङ्ग्रेसलाई एक नम्बर पार्टी बनाउन चाहन्छु । दोस्रो, गिरिजाबाबुले नेतृत्व गर्नुभएको शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र सङ्घीय लोकतान्त्रिक संविधान लेख्ने कामलाई पूर्णता दिन चाहन्छु । तेस्रो, जनतालाई भयमुक्त वातावरणमा बाँच्न पाउने र हत्या, हिंसा र आतङ्कविरुद्ध सशक्त रूपमा उत्रेर सबै काङ्ग्रेसजनलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन्छु । चौथो, जसरी अक्सिजनबिना मान्छे बाँच्न सक्दैन, त्यसैगरी युवाबिना नेपाली काङ्ग्रेसको परिकल्पना गराउन सकिँदैन । उनीहरूलाई प्रभावकारी रूपमा अघि बढाएर नेतृत्व तहमा स्थापित गर्न चाहन्छु । पाँचौँ, काङ्ग्रेसलाई समावेशी र सबै जनताको पार्टी बनाएर देखाउन सक्छु ।
० त्यसो भए तपाईंले चुनाव जित्नुहुन्छ त –
– किन नजित्ने – निश्चिन्त हुनोस्, म चुनाव जित्छु । कसैले द्विविधा नलिए हुन्छ । बाह्रौँ महाधिवेशनमा शेरबहादुर पार्टी-सभापति भयो ।
० तपाईंले जित्ने भए पराजितचाहिँ को हुने त –
– काङ्ग्रेस तीनपटक क्रान्तिको नेतृत्व गरेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सबैको विश्वास जितेको पार्टी हो । यो हाम्रो आन्तरिक चुनाव हो । हामी स्वस्थ ढङ्गले प्रजातान्त्रिक प्रक्रियाअनुसार प्रतिस्पर्धा गर्छौं । यहाँ पराजय भन्ने कुरा आउँदैन । एउटा कुरा के भने, मैले सभापति जित्छु । पराजित शब्दै म प्रयोग गर्न चाहन्न । जो-जो साथी नेतृत्वमा पुग्नुहुन्न, म सबैलाई समेटेर सामूहिक रूपमा पार्टीलाई अघि बढाउँछु ।
० संस्थापन पक्षलाई सहयोग गर्नुहुन्न भन्ने शङ्का पनि गरिएको छ नि –
– को संस्थापन पक्ष – संस्थापन पक्ष मै हुँ । गिरिजाप्रसाद कोइरालाले लिखित रूपमा भन्नुभएको छ, मपछि अब शेरबहादुर भनेर । अहिले संस्थापन र अर्को पक्ष भन्ने कुरै छैन । हामी सबै एक छौँ । मेरो उद्देश्य काङ्ग्रेसलाई सङ्गठित, एकताबद्ध र बलियो पार्टी बनाउने हो ।
० तपाईंले काङ्ग्रेस मिलाउन सक्नुहुन्न भन्ने पनि छ नि –
– शेरबहादुर देउवाको इतिहास नचिन्नेहरूले यस्तो भन्लान् । म मात्र यस्तो व्यक्ति हुँ, १० तिर मुख फर्केर बसेका पार्टीहरूलाई समेटेर संयुक्त सरकार चलाएँ । सबै दललाई मिलाउन सक्नेले एउटा पार्टीलाई मिलाएर लान नसक्ने भन्ने कुरै नगर्नोस् ।सबैलाई जिम्मेवारी दिएर काङ्ग्रेसलाई हाँक्न म सक्षम छु ।
० माओवादीलाई हेर्ने तपाईंको दृष्टिकोण के हो –
– माओवादीले हत्या, हिंसा र आतङ्क छाड्नुपर्छ । विगतमा भएका समझदारी र सम्झौता सबै कार्यान्वयन गर्नुपर्छ । सेना समायोजन गरेर शान्ति-प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन माओवादी जिम्मेवारीपूर्वक प्रस्तुत हुन सक्नुपर्छ । लोकतान्त्रिक संविधानका पक्षमा उसले व्यवहारमा उत्रन सक्नुपर्छ । सहमति, सहकार्य र एकताका साथ मुलुकलाई सम्पन्न र समृद्धशाली देशका रूपमा अघि बढाउनुपर्छ ।
० तपाईंलाई लोकतन्त्र कमजोर पार्ने नेताका रूपमा चित्रित गरिन्छ नि –
– ज्ञानेन्द्र शाहबाट सबैभन्दा सिकार भएको मान्छे मै हुँ । जसले मलाई नौ महिना थुन्यो । अदालतको आदेश नभएको भए ज्ञानेन्द्रले जीवनभर जेलमा सडाउन चाहेका थिए । मलाई त्यस्तो आरोप जसले लगाउँछ, उसले राजनीति नै बुझेको छैन । त्यसैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्नुको विकल्प छैन ।
० तपाईंकै पार्टीभित्र राजसंस्था फर्काउनुपर्छ भन्नेहरू पनि छन् भनिन्छ नि –
– त्यस्तो कुरामा म विश्वास गर्दिनँ । काङ्ग्रेसले एउटा गन्तव्यको सुरुवात गरिसकेको छ । अब पछाडि र्फकने कुरै छैन । त्यस्तो कुरा गरेर म समय खेर फाल्न चाहन्न ।