‘डिप्रेसन’को मनोविज्ञान र रोकथाम

‘डिप्रेसन’को मनोविज्ञान र रोकथाम


मानिस प्रकृतिमा नैसर्गिक रुपले रमाउने प्राणी हो । आजभन्दा ५० वर्षअघिको जीवनशैली र आजको जीवनशैलीमा आकाश–पातालको फरक छ । अन्धाधुन्ध शहरीकरण, अराजक आधुनिकीकरण, अतिशय महत्वाकांक्षा, छिट्टै सफलता प्राप्त गर्ने होड, भित्री समृद्धि र आनन्दभन्दा बाहिरबाट सुखी भएको देखाउने अस्वस्थ प्रतियोगिता, समाजको मनोवैज्ञानिक आवश्यकता पूर्ति गर्ने कामको जिम्मा लिएका केन्द्रहरूको असफलताले गर्दा आज डिप्रेसन (अवसाद) एक ‘समसामयिक तथ्य’ भएको छ ।

आशा सकियो निराशा शुरु
अहिलेको मनुष्यको डिप्रेसनको मनोविज्ञानलाई बुझ्न उसको आशा र आकांक्षाको मनोविज्ञान बुझ्नु जरुरी हुन्छ । मानिस सदैव आशामा बाँच्ने प्राणी हो । सत्य के हो भने विगतमा मनुष्य सधैं विपन्नतामा बाँचेको छ । पुराना दिनहरूमा मनुष्यले कतै भविष्यमा, कुनै स्वर्गको सुनौलो कल्पनामा उसले आफ्ना इच्छा–आकांक्षाहरू पूरा हुने आशा समालेर राख्थ्यो । यही नै उसको आनन्दको स्रोत थियो । ठूला–ठूला राजनैतिक विचारधाराहरू जसले आध्यात्मकै शैलीमा मुक्तिको सपना देखाएका थिए, तिनीहरू पनि असफल भए । परम्परागत धर्महरूले जीवनको दुःख, वेदना र व्यथा शीघ्र दूर गर्छन् भन्ने विश्वास हट्दै गएको र असलप्रति खराब हाबी भएको अनि केही चलाख र धुर्तहरूले साधारण तथा निर्दोषहरूको शोषण गरेबाट एक थरी मानिसलाई यो जगतको हाल देखेर परमात्मा वा कसैले उसको देखभाल गर्छन् भन्ने विश्वास सकिएको अवस्था सृजना भयो । परमात्मा विश्वास गर्ने पनि चर्च, मस्जिद, मन्दिर गएर यो अन्धकार, दुःखपूर्ण स्थितिमा आफू एक्लै नपरियोस् भन्ने डरले ऊ भिडसँगै बाँच्न बाध्य छ ।

तर अब स्थिति बदलिने क्रममा छ । विकसित देशहरूले एक स्तरको विकासको लक्ष्य प्राप्ति गरिसकेका छन् । वास्तवमा लक्ष्यको यही प्राप्ति नै डिप्रेसनको कारण हो । किनभने अब कुनै आशा बाँकी रहेन । जुन भविष्यको आशाले भोलि आउने दिनहरूका लागि उत्साहको सञ्चार गथ्र्यो अब त्यो स्थिति रहेन । भविष्यमा इच्छित बाहिरी सुन्दर फलको प्राप्तिसँगै भित्री समस्याहरू पनि ठडकारो रुपमा स्वतः आउँछन् भन्ने मनुष्यलाई कुनै हेक्का थिएन । हामी जीवनमा जुन लक्ष्यका लागि अग्रसर हुन्छौँ र त्यसलाई प्राप्त गर्छौं तर त्यो सँगसँगै आसपासमा देखिएका अन्य परिणामको हामीलाई जानकारी हुँदैन । जस्तै करोड त हामी कमाउँछौँ तर त्यहाँसम्म पुग्ने सङ्घर्षमा निन्द्रा पनि गुमाउँछौँ ।

महत्वाकांक्षाको दुष्चक्र
आकांक्षा, अभिलाषाबाट प्रेरित लक्ष्यको प्राप्तिपछि मानिस आनिन्दत हुँदैन । किनभने प्रारम्भिक विन्दुबाट उर्जाले गति लिएर आकांक्षाप्रतिको लक्ष्यसम्म पुग्ने यात्रामा शान्ति, आनन्द, ठहरावको कला नसिकेको मन अर्को मनोविकारको शिकार हुन्छ त्यो हो– लालसा । यो आकांक्षा पूरा भएपनि अरु अधिक पाउने चाहनाको दुष्चक्रमा जीवन उर्जा फसेपछि उपलब्धि गौण भएर जान्छ र लक्ष्य कहिल्यै नभेटिने क्षितिज जस्तो हुन्छ । जस्तो जीवनभरी धन कमाउन प्रयत्न गर्ने व्यक्तिले धन कमाएपछि आरामको जीवन व्यतित गर्छु भन्छ । तर, जब उ तनावग्रस्त भई पुरा बलले भिड्छ र धनदौलत पनि कमाउँछ तर आरामले भने उ बाँच्न सक्दैन । जीवनभरी तनाव र पीडामा बाँच्न बाध्य भएको व्यक्तिलाई चिन्ताले कसरी एक्कासी आराम गर्न दिन्छ ? महत्वाकांक्षाको प्रतियोगितामा पछि पर्ने भयले उसको उपलब्धिलाई गौण बनाइदिन्छ । यो चित्तको मोहग्रस्त स्थिति हो । यसरी आकाङ्क्षाबाट शुरु भएको चित्तको यात्रा लालसाको खाल्डोमा फस्छ र मोहग्रस्त स्थितिमा परेर भ्रमित हुन्छ । यस्तो भ्रमपूर्ण स्थितिमा उसको मन नै उसको कल्याण मित्र बन्न सक्दैन । यो अरु विक्षिप्तता सृजना गर्ने एक कुशल यन्त्र बन्न जान्छ । सबै कुरा भएपनि भित्रभित्रै असन्तोष बढ्न थाल्छ । यो अवस्थामा उदासी, क्रोध, लोभ, वासना जस्ता नकारात्मक सङ्कुचित स्थितिहरू उसको मनका विषय बन्न जान्छन् र आफूले जति चाहे पनि प्रेम, सुन्दरता, आनन्द, स्वतन्त्रता जस्ता सकारात्मक सृजनात्मक गुणहरूमा उर्जा बहन सक्दैन । दाम, मुल्य भएको संसारमा अभ्यस्त भएको मन पैसा, पद र पुरस्कारहरू अर्थहीन लाग्ने अमुल्य शान्ति र प्रेमको स्थितिमा पुग्न सक्दैन । त्यसैले ओशोको एक महत्वपूर्ण उद्वरण यहाँ सान्दर्भिक लाग्छ, ‘सफतलाजति विफल कुनै वस्तु छैन ।’ तर बाहिर सफल भएर पनि आफूभित्रै असफल भएको देख्न ठूलो प्रज्ञा चाहिन्छ, जीवनको गहन अनुभव चाहिन्छ, आन्तरिक परिपक्वता चाहिन्छ ।

बाहिरी संसारलाई बदल्न जुन टेक्नोलोजी हामीले निर्माण गरेका थियौँ आज त्यही टेक्नोलोजीले हामीलाई बदल्ने सम्भावना बढ्दै गइरहेको छ । प्रकृतिको सबैभन्दा श्रेष्ठतम् विकास भएको चेतनशील मनुष्य आफैंले बनाएको मेसिन, फोन र अन्य सयौँ विद्युतीय उपकरणहरूको शिकार बनेको छ ।

समस्याको गोलो
आमाको गर्भमा हामी नौ महिना सुतेर सुत्ने कुरामा पारंगत भएको हाम्रो जीवन सफलताको शिखरमा पुगेर औषधि खाएपछि मात्र केही क्षण मात्र निदाउन सक्ने अवस्थामा पुग्छ । असन्तोषको अग्निबाट उत्पन्न यो समस्याले मानिसलाई भित्रभित्रै जलाएको संकेतका रुपमा यो अवस्था पैदा हुन्छ ।

सफलताले अनिदो बनाएझैँ त्यो सफलता हासिल गर्ने क्रममा शरीरलाई मानिसले ध्यान दिँदैन । आज औसतन एक अमेरिकी २४ घण्टामा ११ घण्टा एकै ठाउँमा बस्छ । ३५ वर्ष र त्यो भन्दा माथिका आयुका व्यक्तिको मृत्यको २० प्रतिसत कारण शारिरीक कृयाकलापको कमीले हुन्छ । शारिरीक व्यायामको कमीले लागेका रोगहरूको उपचारका लागि मात्र अमेरिकामा थप २४ अर्ब डलर स्वास्थ्य खर्च थपिएको छ ।

बाहिरी संसारलाई बदल्न जुन टेक्नोलोजी हामीले निर्माण गरेका थियौँ आज त्यही टेक्नोलोजीले हामीलाई बदल्ने सम्भावना बढ्दै गइरहेको छ । प्रकृतिको सबैभन्दा श्रेष्ठतम् विकास भएको चेतनशील मनुष्य आफैंले बनाएको मेसिन, फोन र अन्य सयौँ विद्युतीय उपकरणहरूको शिकार बनेको छ । विगत शताब्दीहरूमा घण्टौं लाग्ने काम आज मिनेटमा नै सम्पन्न गर्न तीव्र उपकरणहरू बनाउन सम्भव भएको मानिसलाई आफ्नो आत्यान्तिक विकासको लागि धेरै फुर्सद समय मिल्नु पर्ने हो, तर मानिस अझ व्यस्त हुँदै गइरहेको छ । यसबाट उसको गुणात्मक विकासमा बाधा परेको देखिएको छ । ओशोका अनुसार बाहिरी (सांसारिक) तथा भित्री (चेतना) दुबै आयामको विकासलागि आजको मनुष्यले जीवन आजिविकाको लागि दैनिक ३ देखि ४ घण्टा मात्र काम गरे पुग्छ । बाँकी समय उसले आफ्नो आन्तरिक रुपान्तरण जस्तै– ध्यान, साधना तथा सृजनाशील कला जस्तै– संगीत, चित्रकारिता, मूर्तिकारिता, नृत्य, साहित्य जस्ता विविध विषयमा आफुलाई समर्पित गर्नुपर्छ जुन क्षणमा मानिसको शान्ति आर्जन गरोस्, उसको हृदय आह्लाद, सन्तुष्टिले पुलकित होस् । जीवनलाई सत्यम्, शिवम्, सुन्दरम्को अभिव्यक्ति बनाउन सकोस् । तर उपभोगवादको अन्तहीन खेलमा नराम्ररी फसेको मानिस नयाँ–नयाँ फोन र ग्याजेट किन्न तथा लालसाले आक्रान्त बनेको मन अझ बाहिरी बस्तु जोड्न बिहानदेखि बेलुकासम्म काममा घिस्रन बाध्य भएको छ ।

अध्ययनले के देखाएको छ भने २० देखि ४० वर्षको जीवनको सबैभन्दा उत्पादनशील कालखण्डमा डिप्रेसन देखिन्छ । यसैले यसबाट बेलैमा सजग हुन जरुरी छ ।

डिप्रेसन हुने कारणहरू
शरीरको गतिहीनताको लामो अवस्था, तनाव र दवावको कारणले निरन्तर झेल्नुपरेका मानसिक अशान्ति, भावनात्मक असन्तुष्टि र गम्भीर उत्साहहीन स्थितिमा डिप्रेसन हुन सक्छ । डिप्रेसन हुन यी तीन कुराहरू उत्पन्न हुनुपर्छ– सोच्ने प्रक्रिया मन्द हुनु, लामो समयसम्म उत्साहहीन र निम्न मनोभाव (मुड) रहनु, र शरीरको भित्र या बाहिरी मांसपेशीहरू संकुचित भई उर्जाको नैसर्गिक प्रवाहमा बाधा परेर सधै तनावको स्थितिमा रहनु । यसको प्रतिकुल प्रभाव बहुआयामिक छ– सधैं दुःखी रहनु, थकानले उर्जाको कमी महसुस हुनु, विगतमा खुसी दिनेका कुराहरूबाट आनन्द हुन छोड्नु, मित्र र परिवारका सदस्यसँग घुलमेल गर्न मन नलाग्नु, चिडचिडोपन, रिस, र चिन्ता उठ्नु, कुनै चिजमा ध्यान केन्द्रित गर्न नसक्नु, एकैचोटि तौल बढ्नु या घट्नु, सुत्ने उठ्ने समयमा परिवर्तन भइरहनु, जीवन अर्थहीन लाग्नु, आफूलाई दोषी ठान्नु, भौतिक रुपले कुनै कारण नदेखिए पनि शरीर दुख्नु, पीडा हुनु, निराशावादी हुनु र मृत्यु या आत्महत्याका विचारहरू आउनु जस्ता नकारात्मक संवेगहरूले मन भरिनु । यस्तो व्यक्तिले स्वयम्लाई वस्तुनिष्ठ ढङ्गले मुल्याङ्कन गर्न नसक्ने भएकोले कसैको सहयोगमा रोकथामका शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक सबै उपायहरू अवलम्बन गर्नुपर्छ ।

अध्ययनले के देखाएको छ भने २० देखि ४० वर्षको जीवनको सबैभन्दा उत्पादनशील कालखण्डमा डिप्रेसन देखिन्छ । यसैले यसबाट बेलैमा सजग हुन जरुरी छ । हामीले तपोवनमा मानसिक समस्या लिएर आएका युवाहरूमा के देखेका छौँ भने सामाजिक प्रतिष्ठाका लागि बाबुआमाले छोराछोरीको रुझान नबुझी अति मिहिनेत पर्ने विषयहरू (जस्तै डाक्टर) पढ्न पठाउनाले पनि डिप्रेसन हुन्छ ।

एक रोकथाम : जीवनशैली परिवर्तन
डिप्रेसन अविवाहित भन्दा विवाहित महिलामा बढी देखिएको छ भने अविवाहित पुरुष, पारपाचुके भएका र श्रीमती गुमाएका विधुरहरूलाई बढी डिप्रेसनले पक्डिने सम्भावना रहन्छ । विवाहित महिलाले श्रीमती, आमा, भाउजु र घरको केन्द्रमा रहेर एकैचोटि बहुआयामिक भूमिका निभाउनु पर्ने बाध्यता हुन्छ । त्यसैले यसका लागि शारीरिक, मानसिक र भावनात्मक क्षमताको तयारी चाहिन्छ । एक्लोपनका कारणले आफ्ना भावनाहरू व्यक्त नगरी भित्रभित्रै गुम्स्याउने पुरुषहरू यो रोगका प्रवल दाबेदार भएकाले पुरुषले पनि मनमा कुरा खेलाएर एक्लै बस्ने अवस्था त्याग्नु पर्छ । जति मनमा कुराहरू खेल्छन् राति भएपछि मन शान्त राख्न मादक पदार्थको सेवन जरुरी हुन थाल्छ ।

जिउने तरिका र शैलीमा व्यापक परिवर्तन ल्याएर डिप्रेसनको रोकथाम गर्न सकिन्छ । खराब संवेगहरूबाट संकुचित हुनपुगेका मांसपेशीलाई समग्र नैसर्गिक अवस्थामा फर्काउन शारीरिक व्यायाम जरुरी छ । अगाडि, पछाडि, दायाँबायाँ झुक्ने तथा शरीरका भागहरू वृत्तगतिमा घुमाउनाले ढाडको गतिशीलता बढ्छ जसले शरीरका सबै अंगहरू गतिमान भई स्वस्थ रहन्छन् र हाम्रो स्नायुविक प्रणाली पनि मजबुत हुन्छ ।

मनुष्यको जीवनमा प्रेम एक अचुक औषधि हो । प्रेमको क्षमता र भावनात्मक उर्जा हामी सबैसँग हुन्छ । तर हामी जति जति ठूलो हुँदै जान्छौँ प्रेमको बीज अङ्कुरित हुन सक्दैन । आफूलाई सर्वश्रेष्ठ हुने अहम्को भावना, भय तथा प्रेमलाई वस्तु जस्तै प्राप्त गर्ने विचारले हाम्रो प्रेमको सम्भावनाको हत्या गरिदिन्छ । त्यसपछि मोहले प्रेमको सिंहासन कब्जा गरेर जीवनामा विष खोलिदिन्छ । त्यसैले सम्बन्धहरूको सङ्कटपूर्ण क्षणमा प्रतिक्रियात्मक नभई मागरहित स्थितिमा शान्त भएर त्यो क्षणमा बस्न सिकियो भने धेरै चिज बचाउन सकिन्छ । यो एक गहिरो रुपान्तरण विधि पनि हो ।

अमेरिकी डा. डिन अर्निशको नविनतम खोजबाट के पत्ता लागेको छ भने तीन महिनाको जीवनशैलीको परिवर्तनले मानिसको डिएनएमा विस्तारै परिवर्तन आउन थाल्छ । यसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, ह्दय रोग, शारीरिक विकारबाट पैदा हुने तनावमा सकृय हुने जीनहरूलाई निष्कृय गर्दछ । स्वस्थ जीवनशैलीले हाम्रो आयु निर्धारण गर्ने क्रोमोजमका टुप्पा टेलोमेरस्हरूको लम्बाई बढाउँछ ।

विशेषतः मस्तिष्कको विकासको क्रममा हाम्रो भावनात्मक संवेग स्वस्थ्य रहने वातावरण भयो भने हामी अनेक मनोरोगबाट बच्न सक्छौँ । भौतिक समृद्धि नै सबै हो भन्ने मान्यता सतही हो, समग्रदृष्टि होइन । भौतिक मान्यता राख्ने समाजको भावनात्मक सूचक गिर्दो हुन्छ किनभने हृदय खोलेर कुरा गर्ने, शान्त भएर एकअर्काप्रति संवेदनशील हुने, भावनाहरू व्यक्त गर्ने साझा माहोल त्यो समाजमा अति न्युन हुन्छ ।

आधुनिक मनुष्यको विकारग्रस्त मनस्थितिलाई ध्यान दिएर ओशोद्वारा निर्मित सक्रिय ध्यान यसमा ठूलो सहयोग हुन सक्छ । पाँच चरणको यो डाइनामिक ध्यानले शरीरमा उर्जा जगाउँछ, दबेका मनोवेगहरूलाई रेचन गर्न मद्दत गर्छ, उर्जालाई उध्र्वगामी बनाउँछ, केही नगरी मनका विचारहरूलाई साक्षी बनेर हेर्न सिकाउँछ तथा उत्सव र अहोभाव व्यक्त गर्दै एक सन्तोष र प्रसन्नतामा बाच्न सिकाउँछ । यो ध्यान ओशो सबैभन्दा शक्तिशाली ध्यान विधि हो । युरोप र अमेरिकामा बहुआयामिक चिकित्सा विधिका रुपमा यो ध्यान विधिको प्रयोग हुन्छ ।

अमेरिकी डा. डिन अर्निशको नविनतम खोजबाट के पत्ता लागेको छ भने तीन महिनाको जीवनशैलीको परिवर्तनले मानिसको डिएनएमा विस्तारै परिवर्तन आउन थाल्छ । यसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, ह्दय रोग, शारीरिक विकारबाट पैदा हुने तनावमा सकृय हुने जीनहरूलाई निष्कृय गर्दछ । स्वस्थ जीवनशैलीले हाम्रो आयु निर्धारण गर्ने क्रोमोजमका टुप्पा टेलोमेरस्हरूको लम्बाई बढाउँछ । वास्तवमा आजको समस्या युवाहरूको लागु पदार्थको दुव्र्यसन या आतङ्ककारी घटनाहरू होइनन् आजको समस्या भनेको हामीहरू बीचको अन्तरंग भावनात्मक सम्बन्धको कमी हो । जबसम्म यो समाजले सफलताको आधार महत्वाकांक्षँलाई बनाउँछ र अहंकारलाई पुरस्कृत गरिरहन्छ तबसम्म यो समाज रुग्ण नै रहन्छ, दुःखी नै रहन्छ । यो दुर्घटना घटि नै रहनेछ ।

समाज धेरै ठूलो देखिए पनि समाजलाई खोज्दै जानुभयो भने त्यहाँ तपाईंले एक–एक व्यक्ति मात्र पाउनुहुन्छ । अरुलाई परिवर्तन गर्ने सपना राम्रै होला तर तपाईंको सबैभन्दा नजिकको व्यक्ति भनेको तपाईं नै हो । त्यसैले त्यो परिवर्तन स्वयम् आफैबाट शुरु गरौँ । कसैलाई परिवर्तन गर्न जानुअघि आफै त्यसको साधक बन्नु व्यवहारिक छ र चुनौतीपूर्ण छ । स्वयमको रुपान्तरणको चुनौती सबैभन्दा ठूलो चुनौती हो । मानव चोलामा त्यो चुनौती स्वीकार गर्नु मनुष्य हुनुको गौरव पनि हो, आफैले आफैलाई सृजन गर्ने सम्भावना पनि हो । एउटा रोमाञ्चक क्षण छ : जुनसुकै बेला म आफ्नै लागि मौजुद छु । मलाई मबाट कसैले च्युत गर्न सक्दैन । मनका सबै रणनीति र कवचलाई छोडेर आफै भित्र आउँ । प्रसन्न चित्तको पृष्ठभूमिमा ‘म’ को लेनदेनको आयामबाट हटेर केवल अक्रियामा उपस्थिति हुने आयाममा प्रवेशको कोशिश गरौँ । यो सबै बुद्धहरूले भनेको चित्तशुद्धीको उपाय हो । बाहिर पाउने आशा कहिल्यै पूरा हुँदैन । पूरा नहुनु यो संसारको स्वभाव हो । यही अपुरोपनमा सबै चिज छोडेर जानुपर्छ । तर आफूभित्रको निस्तब्धताको यो पलमा केही अधुरो छैन । जब ध्यान धन बन्छ, त्यो क्षणमा डिप्रेसन कहाँ ?